सिसीमा चार वर्ष बगेको चिठी जब न्युजर्सीमा भेटियो

मैले यो बोतल समुन्द्रमा फालेकी छु। सायद भोलि नै यसलाई कसैले भेटाउँछ होला, या त लामो दुरी पार गर्दै अफ्रिकाको कुनै समुन्द्री तटमा पनि पुग्न सक्छ।

झट्ट सुन्दा यो कुनै चलचित्रकाे स्क्रीप्ट जस्तै लाग्न सक्छ। तर यो कुनै स्क्रीप्ट नभएर यथार्थ घटना हो। 

सन् २०१९ को गृष्म ऋतु। आयरल्यान्डकी एक महिलाको दिमागमा अनौठो विचार पलायो। उनले एउटा चिठी लेखेर सानो सिसीभित्र प्याक गरिन् र त्यसलाई आन्ध्र महासागरमा बगाइदिइन्। त्यो चिठी बग्दैबग्दै युरोपको आयरल्यान्डबाट अमेरिकाको न्युजर्सी आइपुग्यो। समुन्द्रका छालले कहाँ/कहाँ हुत्याएर यहाँसम्म ल्यायाे भन्ने त कसैलाई थाहा छैन। तर गत हप्ता अमेरिकाको न्युजर्सीमा पर्ने समुन्द्रीतटमा त्यहाँका एक व्यक्तिले त्यो सीसी फेला पारे। 

वाइल्डवूडका फ्र्यांक बल्जर आफ्नी श्रीमती र नातिनीसँग मिलेर समुन्द्री किनारा सफा गरिरहेका थिए। त्यहीबेला उनले सानो सीसी भेटाए। त्योभित्र कागज बेरेर राखिएको थियो। बिर्को खोलेर हेरे, त्यो कागजको टुक्रा त चिठी पो रहेछ। 

बल्जर

उनी अचम्मित त तब भए, जब चिठी निकालेर पढ्न थाले। किनकी त्यो चिठी आयरल्यान्डबाट लेखिएको थियो र २०१९ जुलाई १७ को मिति उल्लेख थियो। अर्थात् चार वर्ष एक महिना पहिले लेखिएको। 

१५०० दिन र ३००० माइल दुरी पार गरेर आयरल्यान्डबाट न्युजर्सी पुगेको त्यो चिठीमा यस्ताे लेखिएको थियो : 

"आयरल्यान्डबाट शुभकामना। मैले यो बोतल समुन्द्रमा फालेकी छु। सायद भोलि नै यसलाई कसैले भेटाउँछ होला। या त लामो दुरी पार गर्दै अफ्रिकाको कुनै समुन्द्री तटमा पनि पुग्न सक्छ, या आइसल्यान्डतिर जानसक्छ। कसैले यसलाई भेटाउँछ, भेटाउँदैन मलाई थाहा छैन। तर कसैले भेटाउनेछ भन्ने मलाई आशा लागेको छ।’ चिठीको तल लेख्नेको नाम थियो ‘आइयोफ’।

नक्सामा आयरल्यान्डदेखि न्युजर्सी

बल्जरले त्यो चठीलाई सामाजिक संजालमा शेयर गरे। केही दिनमै त्यो चिठी भाइरल भयो। आयरल्यान्डकी आइयोफ बायर्नका बुवा टिभी हेरिरहेका थिए। टिभीमा त्यही चिठीको खबर आयो। आफ्नी छोरीको नाम लेखिएको चिठी देखेर चिच्याउँदै पल्लो कोठामा रहेकी छोरीलाई बोलाए। 

बायर्नले भनेकी छिन्, ‘टिभीमा त्यो खबर देखेर म अचम्म परेँ’ 

बल्जरले सामाजिक संजालमा शेयर गरेको चिठीसँगै आफ्नो इमेल ठेगाना पनि राखेका थिए। त्यसपछि बायर्नले बल्जरलाई ईमेल लेखिन्। बल्जरले पत्यायनन्। उनले इमेलको रिप्लाई दिँदै, लेखको अरु स्याम्पल र फोटोहरू पठाउन आग्रह गरे। उनी विश्वस्त हुन चाहन्थे।

आफ्ना बुवासँग बायर्न

त्यो चिठी लेख्ने महिला तिनै हुन् भनेर आफू विश्वस्त भएपछि उनीहरूबीच गएको शुक्रबार भिडियो संवाद भयो। भडियो संवादमा बायर्नले आफ्नो चिठी त्यति टाढा फेला परेको खबर सुनेर उत्साहित भएकाे बताइन्।

"मलाई अचम्म लाग्याे, झन्डै ३००० माइल टाढा पुगेछ त्याे चिठी," उनले भनिन्, "ममा पागलपन छ, बोतलहरूमा सन्देश लेख्नमा मलाई रुचि छ।"