अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले ३ लाख २० हजार रुपैयाँ शुल्क तिर्छन्। शुल्कवृद्धिसँगै ७ लाख ७५ हजार ४२० रुपैयाँ हुने विद्यार्थी नेताहरूको भनाइ छ।
काठमाडाैँ- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शैक्षिक शुल्क बढाएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन्। इन्जिनियरिङ अध्ययन संस्थानले करिब १४३ प्रतिशतले शुल्क बढाएका कारण आफूहरू आन्दोलित भएको विद्यार्थी नेताहरूको भनाइ छ।
इन्जिनियरिङ अध्ययन संस्थानको ललितपुर पुल्चोकस्थित क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र संस्थानका पदाधिकारीहरूबीच मंगलबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। वार्ताको क्रममा आफूहरूले कुनै पनि प्रकारको शुल्कवृद्धि नस्वीकार्ने धारणा राखेको स्ववियु सभापति विराज अर्यालले बताए।
वार्ता चलिरहँदा अनेरास्ववियु (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरूले डिनको कार्यालय र क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सडकमा निस्केर पनि नाराबाजी गरे। २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाएको हो।
नेपाल विद्यार्थी संघकाे पुल्चोकस्थित क्याम्पसका इकाई सभापति सुलभ चापागाईंले भने शुल्कवृद्धि विरुद्ध आमरण अनशन शुरू गरेका छन्। संस्थानका डिन र पदाधिकारीले आफूहरूलाई झुक्याएको भन्दै उनले शुल्कवृद्धि फिर्ता नगरेसम्म आमरण अनशन जारी रहने बताए।
“संस्थानका डिन र पदाधिकारीहरूले अहिले प्रस्तावित शुल्कवृद्धि छलफलको लागि मात्र ल्याएको बताए पनि पछि हठात् लागू गरेर झुक्याएका छन्,” उनले भने।
इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धिले निजी इन्जिनियरिङ कलेजहरूलाई आफ्नो शुल्क अझै बढाउन बाटो तयार हुने अनशनरत चापागाईंले बताए। “स्वदेशमा इन्जिनियरिङ शिक्षालाई सुलभ बनाउन आवश्यक रहेकोमा यो कदमले इन्जिनियरिङ अध्ययनलाई अझ मँहगो बनाउने देखिन्छ,” उनले भने, “पढाइ महँगो हुँदा विद्यार्थीहरू विदेश भाग्ने वातावरण बन्ने भएकोले सरकार यसमा गम्भीर हुनुपर्ने देखिन्छ।”
अनेरास्ववियु (क्रान्तिकारी) पुल्चोक क्याम्पसका इकाई अध्यक्ष अविनाश विकले निजी क्याम्पसहरूको महँगो शुल्कलाई समर्थन गर्ने गरी उनीहरूसँगको साँठगाठमा संस्थानले शैक्षिक शुल्क बढाएको आरोप लगाए। शुल्कवृद्धि फिर्ता नलिए आफूहरू थप आन्दोलन गर्ने र त्रिभुवन विश्वविद्यालय तथा सरकारकैविरुद्ध उत्रिने बताए।
आर्थिक अध्ययन प्रतिवेदन नबनाई र आयव्यय विवरणमाथि पारदर्शी रूपमा छलफल नगरी गरिएको शुल्कवद्धि इन्जिनियरिङ अध्ययन/अध्यापनको माफियाकरण भएको आन्दोलनरत विद्यार्थीहरूको भनाइ छ। संस्थानका डिन प्राडा शशिधरराम जोशीले स्ववियुसँगको छलफलमा खर्च धान्न मुस्किल भएपछि अध्ययन/अध्यापन बन्द गर्नभन्दा शुल्क बढाएर व्यवस्थापन गर्ने बाध्यता रहेको स्ववियुसँगको छलफलमा बताएको विद्यार्थी नेताहरूको भनाइ छ। त्रिभुवन विश्वविद्यालयले स्थायी दरबन्दीमा रहेका प्राध्यापक तथा कर्मचारीलाई दिने तलबबाहेक अन्य खर्च उपलब्ध गराउन छाडेको उनको भनाइ छ। उनका अनुसार संस्थानभित्र एक वर्षदेखि शुल्कवृद्धिको विषयमा छलफल हुँदै आएको हो।
इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली क्याम्पस, धरानको पूर्वाञ्चल क्याम्पस, पोखराको पश्चिमाञ्चल क्याम्पस र रामपुर चितवन इन्जिनियरिङ क्पाम्पस गरि पाँचवटा आंगिक क्याम्पसहरू सञ्चालनमा छन्।
संस्थानले २७ वर्षसम्म नबढाएको शुल्क एकैपटक बढाउँदा बढी देखिएको भनिरहँदा विद्यार्थी संगठनहरूले साढे २ दशकभन्दा लामो समयदेखिको आर्थिक भार एकैपटक विद्यार्थीमाथि लाद्न खोजेको भन्दै आपत्ति जनाएका छन्।
अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले तीन लाख २० हजार रुपैयाँ शुल्क बुझाउँदै आएकोमा शुल्कवृद्धिसँगै ७ लाख ७५ हजार ४२० रुपैयाँ तिर्नुपर्ने विद्यार्थी नेताहरू बताउँछन्। यस्तै, नियमित शिक्षण शुल्क ३४ हजार रुपैयाँ बुझाउँदै आएकोमा अब ८३ हजार ४२० रुपैयाँ तिर्नुपर्ने गरी शुल्क बढाउन लागिएको उनीहरूको भनाइ छ।
संस्थानले तोकेको नयाँ शुल्क विदेशमा पढ्न लाग्ने शुल्कको हाराहारीमा भएकोले नेपालका धेरै विद्यार्थीहरू पलायन हुनसक्ने अवस्था बनाउन थालिएको विद्यार्थी अगुवाहरूको आरोप छ।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
