प्रदीप गिरिको स्मृतिमा काठमाडौँ–काशी यात्रा

प्रदीप गिरिको पहिलो स्मृति दिवसमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ नाम दिएर काठमाडौँदेखि काशीसम्मको चारदिने यात्रा गर्न लागिएको छ।

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृतिमा काठमाडौँदेखि काशीसम्मको यात्रा कार्यक्रम गर्न लागिएको छ।

'प्रदीप गिरि पावन स्मृति आयोजक समिति'ले बिहीबार गिरिको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौँदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो। ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा: काठमाडौँदेखि काशीसम्म’ भनेर गर्न लागिएको यात्रा भदौ २ मा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरबाट शुरू हुनेछ।

“प्रदीप गिरिज्यूको पहिलो वार्षिकीको अवसर पारेर हामी भदौ २ गते शनिबारदेखि भदौ ५ गते मंगलबारसम्म प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा: काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्दै छौँ,” आयोजक समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चार दिवसीय कार्यक्रमअन्तर्गत भदौ २ गते बिहान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरबाट नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ–काशी यात्राको समुद्घाटन र यात्रीहरूको बिदाइ गर्नुहुनेछ।”

घाँटीको क्यान्सरबाट पीडित गिरिको २०७९ भदौ ३ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। पहिलो स्मृति दिवसमा गर्न लागिएको चार दिवसीय कार्यक्रमअन्तर्गत उनको अस्तुलाई काठमाडौँदेखि भारतको वाराणसी, काशीसम्म पुर्‍याउन सडक यात्रा गर्न लागिएको हो।

प्रदीप गिरि पावन स्मृति आयोजक समितिका अनुसार यात्रा शुरू हुनुअगाडि पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धाञ्जलीसभासँगै उनको व्यक्तित्वमाथि चर्चा गरिनेछ। यात्राका क्रममा पहिलो दिन हेटौँडामा र दोस्रो दिन भदौ ३ मा वीरगन्जमा पनि श्रद्धाञ्जलीसभा गर्न लागिएको बताइएको छ। त्यसै दिन वीरगन्जमा प्रदीप गिरि र मधेश सम्बन्धबारे चर्चापछि यात्रा काशीका लागि भारततर्फ लाग्नेछ। अर्को दिन गंगा नदीमा गिरिको अस्तु विसर्जन र बनारस विश्वविद्यालयमा उनका बारेमा चर्चा कार्यक्रम राखिएको छ।