जातीय र धार्मिक सद्‍भावविरुद्ध बोल्ने विवादित पात्रलाई चौधरी ग्रुपको आतिथ्य

विनोद चौधरीका छोरा वरुणको निमन्त्रणामा ‘हनुमन्त कथा’ वाचनका लागि आउन लागेका धीरेन्द्रकृष्ण शास्त्री भारतमा धार्मिक तथा जातीय विद्वेष बढाउने अभिव्यक्ति दिएर विवादित बनेका 'बाबा' हुन्।

तस्वीर सौजन्य: न्यूज १८

काठमाडौँ- प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीका छोरा वरुणको निमन्त्रणामा भारतको मध्यप्रदेशस्थित बागेश्वरधामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्री शुक्रबार नेपाल आउँदै छन्। ‘बागेश्वरधाम सरकार’ र ‘बागेश्वर बाबा’ को नामबाट पनि चिनिने शास्त्री शुक्रबार नै पशुपतिनाथको दर्शन गरेर शनिबार नवलपरासी पूर्वको दुम्कौलीस्थित शाश्वतधाम पुग्नेछन्।

शाश्वतधाम विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले बनाएको हो। उनका कान्छा छोरा वरुण चौधरी ग्रुपअन्तर्गतको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक हुन्। शाश्वतधाम चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित उद्योगग्राम परिसरमा छ।

शास्त्रीले शाश्वतधाममा ‘हनुमन्त कथा’ वाचन गर्नेछन्। त्यहाँ शनिबारदेखि मंगलबारसम्म कथा वाचन चल्नेछ। कथा वाचन गर्ने शास्त्रीको समूहमा ५० देखि ६० जना हुने शाश्वतधामका व्यवस्थापक अशोक घर्तीले बताए।

त्यहाँ पण्डाल लगाएर कथा वाचनस्थल तयार गरिएको छ। घर्तीका अनुसार करिब ११ हजार जनाले एकैपटक कथा सुन्ने गरी बस्ने ठाउँको व्यवस्थापन गरिएको छ। प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत सुन्ने व्यवस्था मिलाइएको छ।

साम्प्रदायिक अभिव्यक्तिबाट विवादित ‘बाबा’ले निम्त्याएको विवाद
धीरेन्द्रकृष्ण शास्त्री आफ्नो 'चामत्कारिक गतिविधि'का कारण भारतमा जति चर्चामा छन्, त्यसबाट जति धेरै अनुयायी बनाएका छन्, त्यति नै साम्प्रदायिक र जातीय भेदभाव जनिने क्रियाकलापका कारण विवादित पनि छन्। बागेश्वरधाममा कथा वाचन गरिरहेको बेला उनको खुट्टा ढोग्न जाने एक व्यक्तिलाई उनले ‘मलाई नछोऊ’ भन्दै जातीय विभेद हुने अभिव्यक्ति दिएर पन्छाएका थिए। तर ढोग्न जाने अर्का व्यक्तिलाई भने आफ्नो खुट्टामा दुईपटक टाउकोले छुन लगाएका थिए। 

उनी बागेश्वरधाममा भूतप्रेतलाई मान्छेको शरीरबाट भगाउने धामीझाँक्रीको भूमिकामा पनि देखिने गरेका छन्। जहाँ उनले 'पट्को इस्को, ओर जोड्से पट्का मारो, गर्दन पकड्के फेको इस्को' जस्ता शब्दहरू प्रयोग गरेर समस्या लिएर आएका मान्छेलाई सहयोगीहरूको सहयोगमा भुईंमा पछार्न लगाएको देखिन्छ।

तस्वीर सौजन्य: मिडियम डटकम

शास्त्रीमाथि धार्मिक सद्‍भाव भड्काउने गरी अभिव्यक्ति दिने गरेको आरोप पनि छ। सबै सनातनीलाई एकत्रित भएर ‘धर्म रक्षाका लागि हतियार उठाउन’ उनले सार्वजनिक अपिल नै गरेका छन्। त्यस्तै, रामनवमीमा निकालिएको यात्रामा ढुंगा हान्नेको घरमा बुल्डोजर चलाउनुपर्ने अभिव्यक्तिसमेत उनले दिएका थिए। भारतमा उनीमाथि धार्मिक सद्‍भाव बिथोल्ने प्रयास गरेको आरोप छ। उनले भारतलाई ‘हिन्दू राष्ट्र’ घोषणा गर्नुपर्ने पनि बताउने गरेका छन्।

पत्रकार रजत शर्माले आफ्नो शो ‘आपकी अदालत’मा उनलाई 'भड्काउ भाषण र हिंसात्मक अभिव्यक्ति किन दिँदै हिँडेको' भनेर सोधेका थिए। जवाफमा उनले आफूले त्यस्तो कुनै भाषण नदिएको, बरू ‘रामको यात्रामा कसैले ढुंगा फाल्छ भने उसको घर भत्काउन आफूले बुल्डोजर किन्ने’ बताएका थिए। “यदि, यसमा कसैलाई आपत्ति छ भने उसले क्रेन किने हुन्छ। मैले कसैलाई रोकेको छैन,” शास्त्रीको जवाफ थियो, “यो कुनै गलत होइन, हाम्रो परम्परा हो। रामको बेला तीरधनुष थियो भने, अहिले हामी आत्मरक्षाको लागि प्रविधिअनुसार बुल्डोजर राख्छौँ।”

त्यस्तै, शास्त्रीले आफ्नो दरबारमा क्यान्सरका रोगीहरूलाई पनि अवधि तोकेरै निश्चित समयमा निको हुने बताउने गरेको देखिन्छ। उनको यूट्यूब च्यानल ‘बागेश्वरधाम सरकार’मा राखिएको भिडियोमा एक व्यक्तिलाई उनले दोस्रो स्टेजको क्यान्सर भएको र चाँडै ठीक हुने दाबी गरेको सुनिन्छ।

'शान्ति सुरक्षा भंग गर्ने काम गराउनु हुँदैन'
शास्त्रीलाई नेपाल ल्याउने चर्चा शुरु भएसँगै सामाजिक सञ्जालमा शुरु भएको आलोचना र वाद–प्रतिवाद सेलाएको छैन। यसको कारण शास्त्रीको यही विवादित छबि बनेको देखिन्छ। यस्तो विवादित छबि भएका र साम्प्रदायिक सद्‍भाव भड्काउने अभिव्यक्ति दिइरहने शास्त्रीलाई नेपाल ल्याउनु उचित नहुने आवाज अहिले पनि उठिरहेको छ। समाजशास्त्री पिताम्बर शर्मा उनीजस्ता विवादित पात्रलाई बोलाउँदा नेपालको सामाजिक सद्‍भावमा प्रत्यक्ष असर पर्ने हुनाले मुलुकको हित नहुने बताउँछन्।

“हिन्दुत्वको वकालत गर्ने बाबाहरू नेपाल आउनुलाई चानचुने कुरा भनेर बेवास्ता गर्नु हुँदैन। हामी धर्मनिरपेक्ष मुलुकमा छौँ,” शर्मा भन्छन्, “फेरि उनलाई त कांग्रेसका एक जना सांसदले ल्याउँदैछन्। यहाँ राजनीतिक स्वार्थ पनि हुनसक्छ। उसको अजेन्डा पनि स्पष्ट हुन्छ। यसमा राज्य गम्भीर हुन आवश्यक छ।”

अर्का समाजशास्त्री मधुसूदन पन्त शास्त्रीका कारण क्षति पुग्ने अवस्था आए त्यसको जिम्मा आयोजकले लिनुपर्ने बताउँछन्। “बाबा आउनु वा ल्याउनु फरक कुरा भयो। तर आएपछि यहाँको शान्तिसुरक्षा भंग हुन्छ वा अरू समुदायको चित्त दुख्छ भने त्यो स्वीकार्य हुँदैन। आफू असल हुन अरूलाई गाली गर्नुपर्दैन,” पन्त भन्छन्।

शास्त्रीलाई आयोजक समूहले नेपाली समाजको प्रकृति बुझाएर मात्रै भाषण गर्न दिनुपर्ने पन्त बताउँछन्।

सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीलाई उकालोले ‘के कारणले विवादित बाबालाई ल्याउन खोज्नुभएको हो’ भनेर सोधेको थियो। वरुणले आफू ‘व्यस्त रहेको’ भन्दै थप कुरा गर्न चाहेनन्। केही समयपछि वरुणका तर्फबाट भन्दै सञ्चारकर्मी दिनेश डीसीले उकालोसँग सम्पर्क गरेका थिए। वरुणलाई सोधेको प्रश्नको जवाफमा डीसीले भने, “आलोचना गर्नेले अब के सोचेर गरिरहेका छन्, त्यो उनीहरू नै जानून्। तर उहाँका समर्थक नेपालमा धेरै भएकै कारण वरूण चौधरीजीले नेपाल आउन निम्तो गरेको हुनसक्छ।” 

शास्त्रीका लाखौँ 'फलोअर्स' भएको डीसीको दाबी छ। उनले आफू उक्त 'इभेन्ट'को प्रमुख भएको पनि बताए।

शास्त्री एयर इन्डियाको उडानबाट शुक्रबार ९ बजे काठमाडौँ उत्रिनेछन्। शुक्रबार साँझ ५ बजे पशुपतिमा आरतीमा पुगेपछि फर्किएर होटल भिभान्तामा रात बिताउनेछन्। नवलपुरमा उनी चौधरी ग्रुपकै रिसोर्ट मिरायामा बस्नेछन्।

को हुन् धीरेन्द्रकृष्ण?
शास्त्री भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको गढा गाउँका हुन्। उनी अहिले २६ वर्षका भए। आफू गरिब ब्राह्मण परिवारको भएको र ८ वर्षको उमेरसम्म भिख मागेर खाएको उनी आफैँले विभिन्न कथा वाचनहरूमा सुनाउने गरेका छन्।

“म जब ९ वर्षको थिएँ, मलाई वृन्दावन पढ्न जानु थियो। तर मसँग १ रुपैयाँ पनि थिएन। मेरो बुवाको केही काम थिएन। पूजापाठ गराउन छोडिसक्नुभएको थियो। हाम्रो परिवार भिखबाटै चल्थ्यो,” उनले भनेका छन्, “हामीलाई कोही कर्जा पनि यसकारण दिन चाहँदैन थिए कि, उनीहरूको पैसा फिर्ता दिन सक्ने अवस्थामा थिएनौँ।”

आफू धैरै धनी नभए पनि ‘हनुमानजीको आशिर्वाद प्राप्त गरेपछि अहिले लाखौँको मनमा बस्न सफल भएको’ उनले बताउने गरेका छन्।

शास्त्रीका हजुरबुवा घरनजिकै रहेको बालाजी (हनुमान) मन्दिरका पूजारी थिए। उनीकहाँ ठूला 'अफिसर'देखि राजनेतासम्म 'अध्यात्मको सुख प्राप्त गर्न' आउने गरेको शास्त्रीले भारतीय च्यानल ‘जी न्यूज’को एक अन्तर्वार्तामा बताएका छन्। हजुरबुवाले आफूसँग भेट्न आउनेको भूत, वर्तमान र भविष्य बताइदिने गरेको पनि शास्त्रीको दाबी छ। 

“हजुरबुवाको चामत्कारिक पक्ष आफैँले देखेपछि र सारा गाउँलेहरूले भनेपछि मैले एक दिन उहाँलाई हाम्रो परिवारबारे सोधेको थिएँ। हाम्रो परिवार त भिख मागेरै खानुपरेको थियो," शास्त्रीले अन्तर्वार्तामा भनेका छन्, “हजुरबुवाले मलाई त्यो रात (बालाजी) मन्दिरमा बोलाउनुभयो। म गएपछि मन्दिरमा दिव्य ज्योतिजस्तो बल्यो र मैले यस्तो सिद्धि प्राप्त गरेँ, जसबाट म सबैको बारेमा सारा कुरा बताउन सक्ने भएँ।”

शास्त्री पहिलोपटक ‘संस्कार’ नामक भारतीय च्यानलमा देखिएका थिए, जहाँ उनले भागवत कथा वाचन गर्थे। पछि उनले सोही च्यानलमार्फत मान्छेहरूको भूत, वर्तमान र भविष्यबारे बताउन शुरू गरेपछि एकाएक चर्चामा आए। अहिले उनले बागेश्वरधाममा अर्जी (प्रार्थना) गर्नेहरूको सारा समस्या बताइदिने गरेको देखिन्छ। त्यहाँ उनले समस्याको समाधान पनि बताइदिन्छन्।

अर्जी लगाउनेहरूबारे उनलाई पहिला नै थाहा हुने गरेको देखिन्छ। ‍भेट्न आउने मान्छेबारे उनले पहिला नै लेखेर राखेको विभिन्न मिडियाहरूले प्रसारण गरेको भिडियोमा देख्न सकिन्छ। “म भगवान होइन, यो चमत्कार मैलै गरेको पनि होइन। यहाँ अर्जी चढाउनेहरूबारे मलाई हनुमानजीबाट प्राप्त सूचनामार्फत भन्न सक्ने अवस्थामा छु,” उनले कथा वाचन गर्ने क्रममा भनेका छन्, “यो शक्ति मेरो नभएर हनुमानजीको हो। म त केवल उनको सेवक हुँ।”