राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

 

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

बोर्डले गत वैशाख २६ गतेदेखि शुरू भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गरेको हो। यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थीले ‘ग्रेडसिट’ प्राप्त गरेको बोर्डले जानकारी दिएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार ९२६ परीक्षार्थी 'एनजी' भएका छन्।

बोर्डले यो वर्षको नतिजामा सुधार आएको जनाएको छ। गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए। प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ‘ग्रेडसिट’ प्राप्त गर्ने व्यवस्था गरिएको छ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा 'एनजी' हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ।

यो वर्ष देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए। 

Caption