ब्रह्माण्ड चियाउने सम्भावनायुक्त आँखा त्यही 'स्क्रिन'मा प्रक्षेपित 'मिराज'लाई सत्य ठानेर लठ्ठ छ। एक कुनामा लुकेर त्यसरी रमाउने एक्लोपनका लागि त यति फराकिलो संसार नै किन चाहिन्थ्यो र?
हालैको एक दिन मैले अनलाइनमार्फत खाजा अर्डर गरेँ, एकै छिनमा आइपुग्यो। त्यसको प्याकेट खोल्दै गर्दा साथीले भनी- आजभोलि कति सजिलो है! हातमा पैसा हुनुपर्छ, संसारभर एक्लै घुम्न रमाउन र डुल्नसमेत सकिने।
मैले सोधें- कसरी?
साथीको जवाफ अहिलेको प्रविधिजस्तै सरल थियो- हातमा स्मार्ट फोन छ, हरेक कुरा अनलाइनमा छ। 'गुगल' गर्नासाथ तुरुन्तै चाहिए जति जानकारी पाइन्छ। खानादेखि घरायसी सरसामान र कपडासम्म घरमै बसीबसी किन्न पाइन्छ। धेरै समस्याका हलसमेत भेटाइन्छ। के छैन इन्टरनेटमा? अनि किन चाहियो र अरू? एक्लै रमाउन काफी छ अहिलेको दुनियाँ र प्रविधि।
मचाहिँ पूरै सहमत हुन सकिनँ र भने- तर परिवार त चाहिन्छ होला नि, होइन र? फेरि पनि उसले हाँस्दै आफ्नै अडान दोहोर्याई- इन्टरनेटको जमाना हो साथी, आफूलाई जिउन र रमाउन चाहिने जति सबै नै पाइने भएपछि आफन्तको साथ नहुँदासमेत जीवन अपूरो नै चाहिँ हुन्न। पहिलेको समयमा जुन सम्भव थिएन। सबै कुराको सुविधा हातमै छ।
उसको कुरा सुन्दै गर्दा मनमनै प्रश्न गरेँ-आधुनिकता र विकासले हामीलाई एक्लै बाँच्न सिकाएकै हो त? आफूलाई चाहिने सम्पत्तिको मात्र जोहो गरेर बसेपछि खाँचो परेका बेला त्यसबाट जुटाउन सकिने 'सुविधा' ले नै संसार चलाउँछ या बजारमा नपाइने, तर बचाएर राख्न सकिने संस्कार, अभ्यास र मूल्यहरू पनि जरुरत पर्छ?
परिवर्तन प्रकृति र समाजको अनिवार्य नियम हो। समाजले आवश्यक ठानेका वस्तुको सान्दर्भिकता समयसापेक्ष परिवर्तन हुन्छन् र फेरि नयाँ बन्छन्। यही परिवर्तनको चक्र घुम्दै जाँदा आधुनिक समाजसमेत उत्तरआधुनिकतातर्फ लम्कँदैछ। त्यसपछिको युगलाई कतिले 'मेटा-आधुनिक युग' या 'पोस्ट शहश्राव्दी'समेत भनेका छन्।
आजको विकाससँगै जोडिएर आउने आयाम हो इन्टरनेट। इन्टरनेट र यसमार्फत पाइने सूचनाको महासागरलाई बिर्सेर यो जमानाको विकास पूर्ण हुँदैन। 'डिजिटल नेपाल: २०२३' ले गरेको एउटा ताजा सर्वेक्षण अनुसार नेपालको कुल जनसंख्यामध्ये इन्टरनेट प्रयोगकर्ताको बहुमत पुगिसक्यो। तथ्यांकले भन्छ, यति बेला ५१.६० प्रतिशत मानिस इन्टरनेटको प्रयोग गर्छन् र यो संख्या वार्षिक १.२ प्रतिशतले बढिरहेको छ।
यति मात्र सन्दर्भ जोडेर के भन्न सकिन्छ भने 'अनलाइन' नामको विश्व संस्कृतिले नेपालका अधिकांश आँगन पिँढी, चोटाकोठा, चुलाचौका र मझेरीहरूलाई आफ्नो मुकाम बनाइसक्यो। इन्टरनेटको स्वाद नपस्किने भान्साले घरघरमा पाकेका आफ्ना परम्परागत परिकारलाई पनि खल्लो बनाइदिन थालिसक्यो। यसमा एउटै उदाहरण काफी छ- पाहुनाको स्वागतमा चियापानी या सर्बतको 'तातो-चिसो' 'मेनु'को सट्टा पासवर्ड पस्कनु पर्ने अवस्था आएको छ।
अबका केही वर्षमा अपवादबाहेक हिमाल, पहाड, तराई सबै भूगोलका हर घरमा इन्टरनेटको पहुँच विस्तार भइसक्नेछ। यसले लामो समय लाग्ने कामलाई थप छिटो र सजिलो बनाइदिनेछ। इन्टरनेटमार्फत हुने व्यापार व्यवसायका कारण आम उपभोक्तालाई सरसामान खरिद गर्न निकै सहज भएको छ। दैनिक जीवनका कतिपय व्यवहारजन्य समस्या हल गर्नसमेत 'नेट' सहायक छ।
फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरलगायतका सामाजिक सञ्जाल तथा सामूहिक सञ्चारका माध्यमको प्रयोगले सानाठूला सबै खाले व्यापार व्यवसायको बजार विस्तार भइरहेको छ। उपभोक्ताले घरमै बसीबसी रोजेर सामान खरिद गर्ने सुविधा पाएका छन्।
ई-कमर्स र ई-बैंकिङका सुविधादेखि लिएर अनलाइन डेलिभरी सेवाले उपभोक्तालाई व्यापारीसँगको भौतिक दूरी मेटाइदिएको छ। मानिसहरू अनलाइनमार्फत आफ्नो 'फेसन सेन्स' परिवर्तन गरिरहेका हुन्छन्। अनलाइनकै कारण विश्व संस्कृतिको अवैयक्तिक पहिचान एउटा पराकाष्ठामा पुगेको छ।
मूल्य र मान्यता
त्यति हुँदाहुँदै पनि मानव उद्विकासको लामो इतिहासले निर्माण गरेका परम्परागत सम्पत्तिहरू पनि छन्। मानवीय मूल्यमान्यता, शिल्प, शैली र विश्वासका साथै तिनका उपजको रूपमा लोक स्थापित वस्तुहरूमा पनि उपयोगिताको मात्रा अत्यधिक छ।
उदाहरणका लागि कतिपय ग्रामीण भेगमा खाजाका रूपमा खाइने सातु पानी, आलु, तरुल, पिँडालु इत्यादिमा शारीरिक, मानसिक तथा निश्चय नै आर्थिक स्वास्थ्यलाई समेत दिगो राख्ने मौलिक गुणहरू थिए। पाहुनालाई कोशेलीका रूपमा लगिने रोटी-कुरौनीको आफ्नै आत्मीयतापन र मिठास थियो।
हिमाल र पहाड होस् या तराई; सामान्यतया ग्रामीण परिवेशमा हुर्केर अहिले कम्तीमा ३० काटिसकेको र त्योभन्दा पाको पुस्तालाई 'नोस्टाल्जिक' बनाउने तमाम सांस्कृतिक सम्झना आधुनिक विकास, प्रविधि, परिवर्तन र सुविधाको मूल्यमा लोपोन्मुख अवस्थामा पुगेका छन्।
चकटी या गुन्द्रीमा बसेर मही-मकै, सातु र सक्खर खाँदै हुर्किएको पुस्ता आज जाम दलेको पाउरोटी चपाएर आफ्नो समय र स्वादलाई स्मृतिमा उग्राउन विवश छ। परम्परादेखि खेती किसानी गर्दै आएको परिवारलाई समेत आफ्नै खेतबारीको अनाजबाट अगेनामा पाकेका रोटी, आँटो र ढिँडोको साटो रेस्टुरेन्ट तथा अनलाइनमा मगाइएका मम-चाउमिन र 'बहुराष्ट्रिय झोल'मा अभ्यस्त हुने बानी परिसकेको छ। त्यसले स्थानीय अर्थतन्त्र र जनस्वास्थ्यमा पारेको असरबारे राम्रोसँग अध्ययन भएकै छैन।
खानपानमा विश्व संस्कृतिको जसरी प्रभाव देखिँदैछ, त्यसरी नै भाषामा पनि हामी आफ्नो विरासततर्फ फर्किनै नसक्ने गरी 'परनिर्भर' भइसकेका छौँ। आफ्ना मातृभाषा बिर्सिएर अङ्ग्रेजी भाषा बोल्नु नै सभ्य हुनु हो भन्ने मानसिकताले पाको पुस्ताका अभिभावकलाई समेत दिग्भ्रमित बनाइसकेको छ। उसो त अंग्रेजी जान्नु कोठामा बसेर विश्व सयर गर्दै एक्लै रमाउने 'न्यूनतम पूर्वाधार' हो। कुनै समय विश्वभर साम्राज्य फैलाएको अंग्रेज साम्राज्यको समेत त्यसमा हात छ।
अहिलेको नवोदित पुस्तालाई त अझै परिवार, आफन्त र समाजभन्दा पनि आफूलाई मात्र नियाल्ने र सबैबाट अलग्याएर आफू एक्लै रमाउने एकांगीपनको शिकार बनाएको छ। आफ्नै अर्को ताजा अनुभव सम्झिन पुगेँ।
एक साँझ म पनि फोनमा घोप्टिएर उही एकलकाँटे दुनियाँको घोप्टे भ्रमणमा सामेल थिएँ। एउटी परिचित साथीले फेसबुकमा लेखेको स्ट्याटसमा आँखा गयो, जसमा 'फिलिङ अलोन' उल्लेख गर्दै त्यसकै 'इमोजी'मुनि लेखिएको थियो- ब्रेकअप भयो। म सोचमग्न भएँ, किनकि ऊ सबैको आँखामा असाध्यै राम्री थिई। आफूलाई औधी मन पराउने र आफूले पनि आँखा चिम्लेर मन पराएको केटासँग हिजो समाज र आफन्त सबैसँग विद्रोह गरेर त्यो पनि आफूलाई स्वतन्त्र निर्णय गर्न सक्ने सुशिक्षित र सशक्त नारीको उदाहरण दिँदै 'लिभिङ टुगेदर' मा बसेकी थिई।
मलाई लाग्यो, 'लिभिङ टुगेदर'मा बस्नुपूर्व परिवार, साथी र सरसंगतको सल्लाह र सुझाव लिएको भए ब्रेकअपमै पुग्नुपर्दैनथ्यो कि! उसले स्वतन्त्र निर्णय लिनुअघि परिवार र समाज आफूसँगै चाहिन्छ है, यो ठिक होइन भनेर बारम्बार सम्झाउने म लगभग एक्लो थिएँ। सम्झौता गर्न सिकाउने हाम्रो सामाजिक अभ्यासको अनुसरण गरेको भए प्रेमीसँगको सम्बन्ध दिगो हुन्थ्यो कि?' उनीहरूबीचको गुह्य कुरा थाहा नभएका कारण केबल एउटा अनुमान गर्न सकियो।
आजभोलि समाजमा यस्ता घटना यति बढेका छन् कि आफ्नै सर्कलमा मात्र थाहा पाएकाको पनि गन्ती नै नहुने भइसक्यो। यस्ता नतिजाको पछाडि धेरै हदसम्म आफ्नो खुशीयालीपूर्ण यात्रामा परिवार र समाजको भूमिका कत्ति पनि खोज्न जरुरी छैन भनेर पूरै नकार्ने मानसिकता जिम्मेवार हुन्छ।
'पपुलर कल्चर' र इन्टरनेट संस्कृतिको दुष्प्रभाव नाप्न एक साँझ आफ्नै घरभित्रको परिवेश राम्ररी नियालेँ। एकै छानोमुनि बसेर उही भान्सामा जे पाक्छ, त्यो बाँडिचुँडी खाएर पनि परिवारका सबैमा कुनै उत्साह देखिँदैन। सँगै बसेर परस्पर रमाइला कुराकानी नभएको त युग नै बितिसकेछन्। दिनभरका काममा ककसले के के अनुभव गरे त्यस्ता कुराको आदानप्रदान र चर्चा शून्य छ।
मेरो ममी मोबाइलको स्क्रिनमा निहुरिएर सामाजिक सञ्जालमा लादिएका देश दुनियाँका अनेक वृत्तान्त सुन्दै र हेर्दै हुनुहुन्थ्यो। उहाँलाई सोधिहालेँ- तपाईं खुशी हुनुहुन्छ यो मोबाइल हेरेर? मेरो आशयअनुसारकै जवाफ आयो- केको खुशी हुनु ! सँगै भएर पनि तिमीहरू कोही बोल्दैनौ अनि म एक्लै के गर्नु त? धन्न यही मोबाइल साथी छ र दिन काट्ने निहुँ भएको छ।
ममीको जवाफले म एकै छिन घोत्लिन पुगेँ। आमा बनिसकेका आफ्नै समकालीनहरू सम्झिएँ। घरमा ससाना छोराछोरीलाई मोबाइल खेल्न दिएर उनीहरूमध्ये कतिपय अफिस गएका हुन्छन्। कामको चाप कम हुने अफिसमा त्यही मोबाइल र सोसल मिडिया नै उनीहरूको पनि समय कटाउने साथी बनेको पाउँछु। त्यति मात्र होइन, कति त यस्ता पनि देखेको छु जो घरमा छोराछोरीलाई फोन गर्न भ्याउँदैनन् वा याद गर्ने फुर्सद नै पाउँदैनन्। तर त्यस्तो बेफुर्सदको समय इन्स्टाग्राम, एक्स, फेसबुक, टिकटकमा पोस्टहरू थप्न र आफ्ना 'फ्रेन्ड', 'फलोअर्स', 'लाइक', 'कमेन्ट', 'सेयर' आदि गन्दै मख्ख परेर बिताउँछन्, त्यो पनि उही 'भर्चुअल' दुनियाँमा देखावटी आत्मीयता साट्ने अपरिचितहरूसँग।
म आफैँतिर फर्किएँ। सचेत छु भन्दाभन्दै पनि आफ्नो अमूल्य समयलाई कैयौँ पटक त्यसरी नै बर्बादी गरेको छु।
टाढा बसेका छोराछोरीको बाआमा भएर आफैलाई हेरेँ। कहिलेकाहीँ सन्तानले फोनबाट आफ्ना प्रगतिहरू सुनाउँछन्। त्यसमा मक्ख परिन्छ, बाँकी आफ्ना वेदना आफैसँग छ, बस्। उता छोराछोरीको आँखाबाट हेर्दा लाग्दो रहेछ- बाआमाले गरिखाएकै छन्, दुःख पर्दा साथ दिने त हामी छँदै छौँ नि !
ओहो, बाआमालाई सन्तानको सानिध्यता दुःख परेको दिन मात्र चाहिने हो त? उहाँहरूलाई बुढेसकालमा झन् छोराछोरी आफ्ना आँखा अगाडि नै भइदिऊन्, के खान, कहाँ जान मन छ सोधून्, आफ्ना दुःखसुखका कथा सुनून् भन्ने सपना पो हुन्छ त! हातखुट्टा नै बसिसकेपछि बाआमाको अगाडि हाजिर हुनुको के अर्थ हुन्छ र?
अझ धेरै बाआमाहरू त छोराछोरीको लागि विगतमा दु:खकष्ट गरेकै कारण सुगर, प्रेसर, दम आदि रोगका बिरामी भएर पूरा आयु नगुजार्दै मृत्यु शैयामा पुगिरहेका छन्। प्राय: विदेश गएर आफ्नो उन्नतिको यात्रा गरिरहेका छोराछोरीमध्ये कतिपयले बाबुआमाका लागि फर्किने समय त्यही क्षणलाई ठानेका हुन्छन्। कतिले ज्युँदा आमाबाबु फेला पार्छन्, कति चाहिँ मुर्दा भएपछि अन्त्येष्टि गर्न आइपुग्छन्। सुखद् भविष्य कल्पिँदै हुर्काइबढाई गरेका सन्तान भेट्न उनीहरूले मृत्यु शैयामै लड्नुपर्ने हो त?
यस्ता ताजा परिवेशहरूले के देखाउँछन् भने सामाजिकता मानिसको स्वभाव भएर पनि अहिले त्यो लखेटिँदै गएर आफ्नै बन्द कोठाभित्र गुम्सिएको छ। निस्फिक्री विचरणका लागि प्राप्त संसारको फराकिलो क्षितिज मोबाइल फोन या यस्तै कुनै 'गजेट'को स्क्रिनमा आएर टाक्सिएको छ। ब्रह्माण्ड चियाउने सम्भावनायुक्त आँखा त्यही 'स्क्रिन'मा प्रक्षेपित 'मिराज'लाई सत्य ठानेर लठ्ठ छ। एक कुनामा लुकेर त्यसरी रमाउने एक्लोपनका लागि त यति फराकिलो संसार नै किन चाहिन्थ्यो र?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
