जलवायु परिवर्तनका असरहरू एकीकृत छन्। कतै बाढी आएको छ, कतै पानीको कमी छ, कतै डढेलो लागिरहेको छ। यसको निरूपण पनि एकीकृत र व्यापक रूपमा हुनुपर्छ।
पछिल्लो समय युरोपमा ‘रेकर्ड हाई’ तापक्रम बढेको खबर आएको छ। तर युरोपमा मात्र नभएर एशिया र अमेरिकामा पनि तापक्रम बढेकै छ। तापक्रम बढेका कारण अन्टार्टिकामा ‘ग्लेसियर’ चर्कँदै र पग्लँदै छन्। यी सबै घटनाक्रमले सिंगो पृथ्वीकै तापक्रम बढिरहेको बुझिन्छ। सीमाभन्दा बढी ‘ग्रिनहाउस ग्यास’ वायुमण्डलमा जम्मा भएका कारण विश्वव्यापी रूपमा तापक्रम बढको हो।
तापक्रम बढ्नुमा एन्थ्रोपोजेनिक कज (मानवजनित कारण) पनि छ। उहिले जनसंख्या कम भएका कारण पूर्वाधारहरू एकदमै कम थिए, रुखबिरुवा धेरै। पानीका मूल पनि प्रशस्त थिए। त्यतिबेला पनि तापक्रम त बढेकै थियो, तर उति महसुस हुने स्तरमा नबढेका कारण हाम्रा अघिल्ला पुस्ता र पुर्खाले त्यसलाई धेरै चासो दिएको थिएन। तापक्रम बढ्नुका असर पनि कम थिए।
यसलाई अझ गहिरो रूपमा व्याख्या गरौँ; मान्छेको उपभोग गर्ने दर, जीवाश्म (पेट्रोल, डिजेल मटितेल, ग्यास र कोइलालगायत) इन्धनको अत्यधिक प्रयोगका कारण पनि वायुमण्डलमा कार्बन धेरै बचत/सञ्चय भयो र त्यसले तापक्रम बढायो। उद्योग, रेल, हवाईजहाज तथा धेरैजसो सवारीसाधन जीवाश्म इन्धनमै भर पर्छन्। ती साधनमार्फत मानव आवतजावत दर बढ्दै गएका कारण पनि जीवाश्म इन्धनको प्रयोगमा तीव्र दरमा बढोत्तरी भयो।
कतिपय मान्छेहरू 'गृष्मयाममा त यसै पनि तापक्रम बढ्ने नै हो, त्यसो हुँदा पृथ्वीको ताप बढ्दैमा किन चिन्ता?' भन्नेजस्ता प्रश्न पनि गर्छन्। सन् १८९६ को दशकभन्दा अघिको कुरा गर्ने हो भने, प्रागैतिहासिक काल अथवा 'आइस एज' (हिमयुग)ताका पृथ्वीको तापक्रम बढ्ने कुरालाई राम्रै ठानिन्थ्यो। तापक्रम बढ्दै जाँदा पृथ्वीमा मानव बस्तीहरू विस्तार हुने क्रम बढ्यो। पहिलेको अति चिसो पृथ्वी मानव जातिको बसोबासका लागि अत्यन्तै कठिन थियो।
बस्ती बनिसकेपछि पनि पृथ्वी र वायुमण्डलको तापक्रम बढिरहेकै थियो, समग्र पर्यावरणलाई नै असर पार्ने स्तरको वृद्धि भने थिएन त्यो। ०.०१ डिग्री र ०.०२ ले तापक्रम वृद्धि हुँदा समग्र जीव–प्रकृतिको अस्तित्वलाई त्यसले असर पारेको थिएन। खासगरी तीव्र रूपमा तापक्रम वृद्धि सन् २००० यता भएको हो।
हामीले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी निकाय आईपीसीसीको अघिल्लो वर्षको प्रतिवेदनसम्म पनि ०.०६ ले मात्र पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ भनिँदै थियो। वैज्ञानिकहरू उतिखेर त्यस कुराले आत्तिएका थिए। अब त १. ५ डिग्री सेन्टिग्रेडले तापक्रम बढ्दै छ भनिँदै छ। यो त साह्रै खतरापूर्ण भयो। योभन्दा माथिको सीमामा हामी जानै सक्दैनौँ। त्यो स्तरको तापक्रम वृद्धिका प्रभावहरू एकदमै भयावह हुनेछन्। जबकि, हामीले कार्बन उत्सर्जनलाई नै रोक्न सके पनि अबको दुई/चार वर्षचाहिँ तापक्रम वृद्धि अति उच्च दरमा जान सक्छ, १.५ डिग्रीसम्म जान सक्छ भनेर वैज्ञानिकहरूले पूर्वानुमान गरेका छन्।
तापक्रम वृद्धि हुँदा हामी किन डराइरहेका छौँ? किनभने पछिल्लो पटक घना जंगलमा ठूलो स्तरमा आगलागी भइरहेका छन्। पहिले पनि बाढी आउँथ्यो, तर अहिले त बाढीपहिरोका प्रकोप पहिलेभन्दा सघन भइरहेका छन्। तापक्रम बढ्दै जाँदा मानव तथा अन्य जीव–वनस्पतिसमेत बाँच्न नसक्ने खतरा हुन्छ। तापक्रम ४५ डिग्री सेन्टिग्रेडभन्दा माथि जानेबित्तिकै मानव तथा अन्य प्राणीको 'हिट स्ट्रोक'लगायतका समस्या निम्तेर 'इन्टेरियर अर्ग्यान' नै 'फेलियर' हुने सम्भावना हुन्छ। त्यसलगायत मौसमको परिवर्तनका कारण अनेकौँ भाइरसजन्य अकल्पनीय प्रकोप सिर्जना हुनसक्छ। यस्ता कुराले गर्दा विश्वव्यापी तापमान वृद्धिबाट डराउनुपर्छ।
हिउँ पग्लने र समुद्री सतह बढ्ने
वायुमण्डलको तापक्रम बढ्नेबित्तिकै त्यसले जमेर बसेको हिउँ पग्लने भयो। त्यसमाथि प्रदूषण बढेका कारण बरफ पग्लने दर झनै बढेको छ। हिउँमाथि वायुमण्डलका प्रदूषणसमेत सञ्चित हुन थालेपछि त्यसले सूर्यको ताप अझ धेरै सोस्न थाल्यो। प्रदूषणजन्य धुलोको तह कालो हुने भएकाले त्यसले ताप र प्रकाश सोसेको हो। पहिले सेतो र चम्किलो हिउँ हुँदा प्रकाश र तापलाई उल्टै परावर्तन गरेर फर्काउँथ्यो, तर हिउँमाथि थुप्रेको प्रदूषणका ताप बढ्यो र हिउँ पग्लने दर पनि बढ्न गयो। हामीले मिडियामार्फत अन्टार्टिकादेखि हाम्रै हिमालय क्षेत्रमा तीव्र दरमा हिउँ पग्लेका भिडियोहरू देखेका छौँ।
हाम्रो पृथ्वीको स्रोत र साधन त एउटै छ। पग्लेको हिउँ समुद्रमा जान नै भयो। पृथ्वीको हरेक संसाधन सीमित छ। समुन्द्रको क्षेत्र पनि सीमित छ, त्यो बढ्न सक्ने भएन। त्यसो हुँदा हिउँ पग्लेर बगेर आएको पानीले समुद्रको सतह बढ्ने नै भयो। त्यसो भएपछि समुद्री सतहमा भएका जमिनहरू डुबानमा पर्न थाले। अहिले त कतिपय देश नै डुबानमा परिरहेका छन्।
विश्व समुदायको चिन्ता, समुदायको चिन्ता
जलवायु परिवर्तन र त्यसका असर कम गर्न एउटा देश, कुनै समुदाय र व्यक्ति मात्रै लागेर हुँदैन। नीति मात्र बनाएर पनि हुँदैन। यो विश्वव्यापी समस्या हो। कुनै खास देश र समुदायले जलवायु परिवर्तनलाई कम गर्न सम्पूर्ण रूपमा क्रियाशील भए पनि वायु त पृथ्वीभर 'सर्कुलेट' भई नै रहेको हुन्छ। हुरी, आँधी, तातो चिसो त सर्वत्र प्रसार भइरहेको हुन्छ। नेपाल भूपरिवेष्टित देश हुँदाहुँदै पनि सामुद्रिक आँधीका असरले नेपालमा खडेरी देखिएको दृष्टान्त छ हामीसँग।
पृथ्वीको कुनै एउटा कुनामा भएको क्रियाकलापको असर अन्यत्र पनि पर्छ, धेरै थोरैको कुरा मात्र हो। हातका औँलामा घाउ हुँदा सिंगो शरीरमै ज्वरो आएजस्तै हो यो कुरा। अर्को कुरा, जलवायु परिवर्तनका असरहरू एकीकृत छन्। कतै बाढी आएको छ, कतै पानीको कमी छ, कतै डढेलो लागिरहेको छ। यसको उपचार जनता या एउटा समुदायको स्तरबाट मात्रै सम्भव छैन। यसको निरूपण पनि एकीकृत र व्यापक रूपमा हुनुपर्छ। अमेरिका, युरोप, नेपाल, चीन, भारत, मध्यपूर्व सबै यसविरुद्ध जुट्नुपर्छ। अहिले अन्तर्राष्ट्रियस्तरमा केही प्रयास गरिएको छ, तर ती पर्याप्त छैनन्। पहिलेभन्दा झनै ठूला–ठूला प्रभावहरू देखिइरहेका छन्। वैज्ञानिक जगत् आत्तिएको छ। अतः अझै बृहत् र एकीकृत रूपमा यसविरुद्ध जुट्नु आवश्यक छ।
बैठकहरूमा 'हामीले जलवायु परिवर्तनका असर कम गर्न काम गरेका छौँ' भन्न नछुटाए पनि देशका रूपमा हामीले जलवायु परिवर्तनविरुद्ध क्रियाशील भएर काम गरेका छैनौँ। यो मामला जति गम्भीर हो, त्यस मात्रामा हाम्रो सरकारले यस विषयलाई ध्यान दिइरहेको छैन।
गरिब देश, गरिब र जलवायु परिवर्तन
जलवायु परिवर्तनमा एक देश मात्र जिम्मेवार नभई विश्वव्यापी समस्या हो। चीन र अमेरिकाजस्ता देशहरूको योगदान जलवायु परिवर्तनमा बढी छ। युरोपले पहिलेभन्दा अहिले जलवायु परिवर्तनमा आफ्नो योगदान घटाएको छ। नेपालले त थोरै मात्र कार्बन उत्सर्जन गर्छ। भन्नुको मतलब जलवायु परिवर्तनमा हाम्रो भूमिका कम छ। अन्य विकासशील देशहरूको जलवायु परिवर्तनमा उति ठूलो हात छैन। तर दुःखको कुरो, जलवायु परिवर्तनको सबैभन्दा धेरै मार हामीजस्ता देशलाई नै ज्यादा परेको छ। अग्ला हिमाल हाम्रैमा छन् र तिनका हिउँ पग्लिरहेका छन्। त्यसका कारण अहिले नै कतिपय ठाउँमा पानीको मूल सुक्ने समस्या देखिन थालेको छ। भोलिका दिनमा यस्ता समस्याहरू झनै बढ्नेछन्।
यो 'एटमोस्फेयरिक सर्कुलेसन'को विषय भएकाले 'यो मेरो देशको नाका हो, म ढोका लगाइदिन्छु, तिमीहरू जतिसुकै प्रदूषण गर, म यहाँ छिर्न दिन्नँ' भन्न मिल्दैन। संसारका सबैले गरेको पृथ्वीको दोहन र अत्याचारको मार सबैले भोग्नु नै पर्छ। गरिब र गरिब देशले चाहिँ अझै धेरै मार भोग्नुपर्छ। त्यसो हुँदा गरिब देश/व्यक्ति होस् या धनी देश/व्यक्ति होस्, सबैले यो प्रकोपबारे जुझ्नेबारे सोच्नै पर्छ। काम गर्नुपर्छ।
नेपालको जंगलले कार्बन सोस्ने काम गरेको छ। त्यसबापत विकासोन्मुख देशहरूमार्फत 'फन्ड'समेत पाउने व्यवस्था छ। तर त्यो लिन हामीले केही अनिवार्य प्रक्रिया र वैज्ञानिक अध्ययन पूरा गर्नुपर्छ। त्यो गर्न नसकेर नै हामीले जति पाउनु पर्ने हो, त्यति रकम लिन सकेका छैनौँ। हाम्रा सरकारी निकायले 'जलवायु परिवर्तनका कारण हामीले यो मर्का झेलेका छौँ' भन्दै, त्यसलाई प्रमाणित गर्ने वैज्ञानिक अध्ययनका प्रतिवेदनहरू देखाएर त्यस्तो फन्डको ताकेता गर्नुपर्छ। त्यसरी प्राप्त सहायता रकमबाट हामीले जलवायु सिर्जित बाढी पैरो रोक्न अझै धरै रूख रोप्ने हो या अन्य खालका पूर्वाधार निर्माण गर्ने हो, त्यसमा काम गर्नुपर्छ।
काफ्ले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
