भरतपुर महानगरपालिका–१० मा अवस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या एक हजार ६०० भन्दा बढी छ। धेरै विद्यार्थी चितवनसहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका छन्।
चितवन– चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ। यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन्।
हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या एक हजार ६०० भन्दा बढी छ। जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन्। कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ। क्याम्पस प्रमुख भोजराज न्यौपानेका अनुसार क्याम्पसमा चितवनसहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै पढ्न आउने गरेका छन्।
देशका २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले जानकारी दिए। विगतका वर्षमा क्याम्पसका प्राध्यापक, कर्मचारी ती जिल्लामा प्रचारात्मक अभियानका लागि पुग्ने गरेका थिए।
पछिल्ला वर्षहरूमा क्याम्पसको गुणस्तर, क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए), भौतिक पूर्वाधार, पठनपाठनमा प्रयोग हुने प्रविधि, छात्रवृत्तिलगायतका कारण विद्यार्थी खोज्नुपर्ने बाध्यता हटेर गएको उनले बताए। “अहिले हाम्रो क्याम्पसमा छिरेको विद्यार्थी भर्ना गरेर मात्र बाहिरिन्छन्,” उनले भने।
क्याम्पसमा स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत छ। स्नातकको नतिजा पनि उत्कृष्ट छ। क्याम्पसले दुई वर्षअघि शैक्षिक गुणस्तर सुनिश्चितता तथा क्यूएए प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। यस वर्ष कक्षा ११ मा २१० विद्यार्थी भर्ना भइसकेका छन्।
विद्यार्थी भर्ना हुने क्रम जारी छ। गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई २९२ विद्यार्थी भर्ना भएका थिए। क्याम्पसमा ठाउँ अभावका कारण कक्षा ११ मा चाहे जति विद्यार्थी पढाउन सक्ने अवस्था छैन। जसका कारण चाहेर पनि सबै छात्राले कन्या क्याम्पस पढ्न पाउने अवस्था नभएको उनी बताउँछन्।
‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ नाराका साथ क्याम्पस स्थापना भएको हो। समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका–१० मा १२ कट्ठा जमिन खरिद गरी भौतिक संरचना निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो। हाल श्रेष्ठको निधन भइसकेको छ। २०५४ असोज १६ मा स्थापना भएको यस क्याम्पसमा शुरूआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्थे। हाल स्नातक र स्नातकोत्तरमा शिक्षा र व्यवस्थापन संकायको पढाइ हुँदै आएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेल विगतका वर्षमा ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झन्छन्। पौडेल क्याम्पसको अध्यक्ष भएसँगै भएका परिवर्तनले पनि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढाउन सकेको हो।
“आमा मैयादेवीको सपना पूरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ट बनाउन लागिरहेका छौँ,” उनले भने। क्याम्पसमा प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा थप सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्यूएए’का कारण आकर्षण बढेको पौडेलको भनाइ छ। समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई यो क्याम्पसमा आकर्षित गरेको उनको भनाइ छ।
गुणस्तरीय शिक्षाले गर्दा विगतमा झैँ विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको पौडेलले बताए। अन्यत्रजस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्छन्। यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ।
जिल्ला र बाहिरका अभिभावकलाई आफ्ना छोरी कन्या क्याम्पसमा पढाउँदा थप सुरक्षित महसुस गर्ने भएकाले अभिभावकको रोजाइ कन्या क्याम्पस पर्ने गरेको छ।
राजमार्गको कोलाहालबाट केही पर तर हिँडेर सहजै पुग्ने भएकाले विद्यार्थीका लागि क्याम्पस सहज बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
