भारतका विभिन्न ठाउँका 'टोले' प्रतियोगिताका लागि पैसाको लोभमा कतिपय रेफ्री तथा खेलाडी त्यता पुगिरहेका छन्। तर गुणस्तरहीन मैदान, रफ खेल र झगडाको सम्भावनाले जोखिम हुने खेलाडी नै बताउँछन्।
काठमाडौँ– फ्रेन्ड्स क्लबबाट गत सिजन ‘ए’ डिभिजन लिग खेलेका रुपेश केसी दक्षिण सिक्किमको मेलीमा स्थानीय प्रतियोगिता खेलिरहेका छन्। उनी त्यहाँको स्थानीय क्लबसँग औपचारिक आबद्ध नभई प्रतियोगिता खेलिरहेका हुन्। 'नकआउट' शैलीका यस्ता प्रतियोगितामा प्रतिखेल पैसा लिने सहमति हुन्छ। टिममा नभएका खेलाडीसमेत राखेर खेलाउने यस्तो शैलीलाई 'खेप' भनिन्छ।
खेप शब्द भारतका स्थानीय क्लब फुटबलमा चर्चित छ। यस्ता क्लबले 'सेट'मा नभएका छयासमिसे खेलाडी खेलाउँछन्। मैदान गुणस्तरीय हुँदैन। त्यसैले खेलाडी घाइते हुने सम्भावना पनि धेरै हुन्छ।
नेपालमा व्यवसायिक फुटबल निरन्तर नहुँदा र नियमित प्रतियोगिता नगरिँदा कतिपय खेलाडी भारतमा खेप शैलीमा यस्ता असुरक्षित प्रतियोगिता खेलिरहेका छन्। खासगरी पूर्वका झापा, इलाम, सुनसरी र मोरङका खेलाडी खेपकै भरमा गुजारा चलाउँछन्। उनीहरू कोलकत्ता, आसाम, पश्चिम बंगाल, कालिङपोङ, दार्जिलिङ र सिक्किममा खेप खेल्दै आएका छन्।
नेपाली क्लबबाट एक सिजन लिग खेल्दा पाउनेभन्दा भारतमा गएर एक प्रतियोगिता खेल्दा दोब्बरसम्म आम्दानी हुने भएपछि खेलाडी लोभिएका एन्फाका एक पदाधिकारीको भनाइ छ। मंगलबार एएफसी कपअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीसँग खेलेको मछिन्द्र क्लबका फरवार्ड मेसुके ओलोमउ सिक्किममा खेप खेलिरहेका छन्। त्यहीकारण उनी पारोविरुद्ध खेल्न नेपाल आएनन्। उनले त्यहाँ प्रतिखेल २० देखि ३५ हजार भारू लिइरहेको उनी निकट स्रोत बताउँछ।
“भारतका सीमावर्ती जिल्लामा दैनिकजसो खेल हुन्छन्। आज एउटा टोलीबाट खेल्यो भोलि अर्कोमा खेल्नुपर्छ। यस्तोमा राम्रो कमाइ हुने भएको कारण मेसुकेजस्ता उत्कृष्ट खेलाडीसँगै अहिले रेफ्री पनि त्यता पुगेका छन्,” एन्फाका ती पदाधिकारी भन्छन्।
उनले भनेजस्तै दृश्य गएको सोमबार सिक्किमको पाक्योङ जिल्लास्थित गोलिटारको साउने खेल मैदानमा देखियो। स्व. फूलमाया प्रधान स्मृति फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलाउन नेपालका फिफा रेफ्री नवीन्द्र मर्हजन र कविन व्यन्जनकारसँगै पूर्वफिफा रेफ्री श्रवण लामा मैदान उत्रिए। उनीहरू घुम्नका लागि सिक्किम पुगेका थिए। तर राम्रो आम्दानी हुने भएपछि रेफ्री बन्न तयार भए।
उनीहरूले एन्फाको रेफ्री समितिलाई नसोधी 'खेप' खेलाएका हुन्। तर रेफ्री व्यन्जनकार भने आफूले सिक्किम गएर खेल नखेलाएको दाबी गर्छन्। अहिले पुराना तस्वीरहरूलाई फेसबुकमा भाइरल गराइएको उनले बताए। “ती पुराना तस्वीरहरू हुन्। मैले सिक्किम गएर कुनै खेप खेल खेलाएको छैन। म अहिले घरमै छु,” उनले भने।
एन्फा रेफ्री समितिका अध्यक्ष बुद्धिबहादुर गुरुङले भने नेपालका तीन रेफ्रीले सिक्किममा प्रतियोगिता खेलाइरहेको पुष्टि गरे। नेपालमा प्रतियोगिता नभएर फुर्सदिलो अवस्थालाई सदुपयोग गर्न फिफाबाट लाइसेन्स प्राप्त तीन रेफ्री सिक्किम पुगेको र आफूले पनि प्रतियोगिता खेलाउन 'ओके' भनिदिएको उनले बताए।
टोले प्रतियोगितामा फिफा रेफ्री र 'ए' डिभिजन खेलाडी
नेपालका रेफ्री भारत गएर प्रतिष्ठित प्रतियोगिताहरू खेलाएका छन्। गत असार दोस्रो साता सम्पन्न साफ च्याम्पियनसिपको फाइनल फिफा रेफ्री प्रज्ज्वल क्षेत्रीले खेलाएका थिए। उनलाई सहायक रेफ्री नानिराम थापाले साथ दिएका थिए। त्यसअघि भारत र पाकिस्तानबीचको समूह चरणको खेल पनि उनीहरूले नै खेलाएका थिए।
उनीहरू एशियाली फुटबल महासंघ (एएफसी)को निमन्त्रणमा भारतमा साफ खेलाउन पुगेका थिए। एएफसीको आधिकारिक प्रतियोगिताबाहेक अन्यको हकमा भने रेफ्रीको भूमिका निर्वाह गर्न आयोजकले आधिकारिक निम्तो दिनुपर्छ।
निम्तो पाएपछि पनि कागजी प्रक्रिया पूरा गरेर सम्बन्धित देशको फुटबल संघलाई जानकारी गराउनुपर्छ। सिक्किममा खेप खेलाउन गएका रेफ्रीले नियमअनुसार एन्फा रेफ्री समिति र अल इन्डियन फुटबल फेडेरेसनलाई जानकारी गराउनुपर्छ। तर उनीहरूले कतै पनि जानकारी नगराइ फुटबल खेलाएका हुन्।
उनीहरूले खेलाइरहेको प्रतियोगितासमेत आधिकारिक होइन। यो प्रतियोगिताको सेमीफाइनल शनिबार र फाइनल आगामी मंगलबार हुँदैछ। प्रतियोगितामा १६ स्थानीय टोलीले भाग लिएका छन्।
अहिले सिक्किमका टोलटोलमा स्वतन्त्रता दिवसको अवसर पारेर स्थानीय प्रतियोगिता भइरहेका छन्। यी प्रतियोगितालाई सिक्किम फुटबल एसोसिएसनले मान्यता दिने गरेको छ। यस्ता प्रतियोगितामा झैझगडा हुने, पारिश्रमिक नपाउने र चोट बोकेर फर्किनु पर्ने जोखिम भएको इटहरीका फुटबल खेलाडी रमेश खाजुन्जी बताउँछन्। उनी पनि खेप खेल्न जान्छन्।
“खेप खेल्दा धेरै पैसा आउँछ। अझ पहाडतिर खेप खेल्न जाँदा कमाइ राम्रो हुन्छ। तर पैसा पूरा पाउँछन् भन्ने चाहिँ हुँदैन। बाध्यताले गर्दा खेल्न जानुपर्छ,” खाजुन्जी भन्छन्, “यस्ता प्रतियोगितामा रफ खेल्ने र झगडा पनि हुन्छ। जोखिम मोल्नुपर्ने हुन्छ। तर पैसा धेरै पाइने भएपछि जो कोही आकर्षित हुनु सामान्य नै हो नि।”
नेपालमा खेलाडीको मात्रै होइन, रेफ्रीको पारिश्रमिक पनि राम्रो छैन। एन्फाले फिफा रेफ्रीलाई मासिक १० हजार रूपैयाँ उपलब्ध गराउँछ। अझ एन्फा रेफ्रीले त पारिश्रमिक नै नपाएको गुनासो गर्दै आएका छन्। त्यसैले खेलाडीसँगै एन्फा रेफ्रीहरू पनि विगतमा खेप खेलाउन भारतका विभिन्न स्थानमा पुग्थे। उनीहरूले प्रतिखेल ४ देखि ६ हजार भारुसम्म पाउने गर्थे।
एन्फा रेफ्री समितिका अध्यक्ष बुद्धिबहादुर गुरुङ सिक्किममा 'टोले कप' प्रतियोगिता खेलाइने र नेपालबाट घुम्न जाने रेफ्रीले पनि ती प्रतियोगिता खेलाएर आउने गरेको बताउँछन्। यस्ता साना प्रतियोगितामा निर्णायक बस्न 'अफिसियल' रूपमा नमिल्ने उनको तर्क छ। “हाम्रोमा फुटबल छैन। यो बेला फुर्सद नै छ। घुम्न बोलाउनुभएको रहेछ। यही बेलामा फुटबल खेलाइदिन आग्रह गर्नुभएकोले सम्बन्धको लागि मात्रै खेलाइदिएका हुन्,” उनले भने।
एन्फा रेफ्री समितिको समान्य नियमलाई मात्रै हेर्ने हो भने रेफ्रीको इन्सुरेन्स, पाउनुपर्ने पारिश्रमिकबारे सम्झौता र सुरक्षाको प्रत्याभूति हुनुपर्छ। तर उनीहरू के कति रकम र सेवासुविधामा सिक्किममा खेप खेलाउन गएका हुन् भन्नेबारे गुरुङ बताउन चाहँदैनन्। “सम्बन्धको कारण खेलाइदिएका हुन्। योभन्दा अरू मलाई थाहा छैन,” उनले भने।
एन्फाले भने देशमा फुटबल गतिविधि शून्य भएको र रेफ्रीले काम नपाएको भन्ने विषयमा सत्यता नभएको जनाएको छ। अहिले 'ए' डिभिजन क्लबकै १० टोली बनाएर यू-१६ लिग आयोजना भइरहेको कारण नेपालका रेफ्री व्यस्त नै रहेको प्रवक्ता सुरेश शाह बताउँछन्। यद्यपि, खेप खेलाउन पुगेका फिफा रेफ्रीबारे भने आफूलाई आधिकारिक जानकारी नभएको उनको भनाइ छ।
“एन्फासँग सोधेर जानु भएको होइन। व्यक्तिगत सम्बन्ध या साथीभाइले बोलाएर जानुभएको हो भने हामीलाई थाहा हुने कुरा भएन। तर अहिले हाम्रोमा यूथ लेभलको लिग चलिरहेको छ, पैसा कमाउन नै अन्य साना प्रतियोगिता खेलाउन जानुपर्ने अवस्था छैन,” उनी भन्छन्।
सबैको निजी जीवन हुने बताउँदै एन्फाले हस्तक्षेप गर्न नमिल्ने उनी बताउँछन्। यद्यपि, यसबारे छलफल हुने शाहको भनाइ छ।
सहमहासचिव वसन्त अर्यालका अनुसार एन्फाले रेफ्रीबारे जानकारी राख्ने गरेको भए पनि खेलाडीबारे थाहा नहुने बताउँछन्। क्लबसँगको सम्झौता सकिएपछि खेलाडी 'रिलिज' हुने भएको हुनाले एन्फाले यसबारे चासो नराख्ने उनको भनाइ छ।
एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार एएफसी लाइसेन्स पाएका क्लबमा आबद्ध खेलाडीबारे एन्फाले रेकर्ड राख्ने गरेको छ। तर एएफसी लाइसेन्स नभएका क्लबले खेलाडीबारे जानकारी नदिने र जानकारी दिन अनिवार्य पनि नहुने हुँदा एन्फालाई थाहा नहुने उनको भनाइ छ। "एन्फाले आफ्ना खेलाडी कता छ भनेर जानकारी राख्नुपर्ने हो। तर हाम्रोमा जानकारी राख्ने प्रचलन नै छैन। भोलि खेलाडीलाई केही भइहाले एन्फाले कुन आधारमा उपचार गर्ने?" शेर्पा भन्छन्।
नेपालमा गत जेठ २७ गते ‘ए’ डिभिजन लिग सकिएयता ठूला प्रतियोगिता आयोजना भएका छैनन्। अब नेपालमा यो वर्ष आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हो। यो प्रतियोगिता मंसिर ९ देखि २१ गतेसम्म आयोजना हुने तय छ। त्यसपछि मोफसलका प्रतियोगितासँगै ‘ए’ डिभिजन लिग आयोजना हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
