उत्तराखण्ड पहिरोमा बेपत्ताहरूको खोजी गर्न कुकुर परिचालन

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पहिरोमा अझै ११ नेपाली हराइरहेको जानकारी दिए।

महेन्द्रनगर– चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ। सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो।

सो क्रममा कालीकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो। कालीकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो। 

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले अझै ११ नेपाली हराइरहेको जानकारी दिए। “११ नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ”, रासससित कुरा गर्दै उनले भने, “खोजी कार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको छ।”

दूतावासले भारतीय पक्षसित खोजी कार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए। लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए। सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन्। बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ।