टी–२० विश्वकप : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधिनजिक

पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै आईसीसी टी–२० विश्वकपको उपाधिनजिक पुगेको छ।

काठमाडौं– पाकिस्तान आईसीसी टी–२० विश्वकपको उपाधिनजिक पुगेको छ। बुधबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै सन् २००९ को उपाधि विजेता पाकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो।

न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। 

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ५७ रन बनाए। उनले ४३ बलमा ५ चौका प्रहार गरे। अर्का ओपनर तथा कप्तान बाबर आजमले ४२ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाए।

पहिलो विकेटका लागि रिजवान र आजमले ७६  बलमा १०५ रनको साझेदारी गरेका थिए।

मोहम्मद हरिशले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए। शान मसूद ३ रनमा अविजित रहे।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युनिल्यान्डले मध्यक्रमका ब्याटर डर्याल मिचेलको अर्धशतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन जोडेको थियो।

मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे।

कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए। चौथो विकेटका लागि विलियम्सन र मिचेलले ५० बलमा ६८ रनको साझेदारी गरेका थिए।

डेभन कन्वे २१ रनमका आउट हुँदा जेम्श निसम १६ रनमा अविजित रहे।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। मोहम्मद नवाजले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए।