आचारसंहिता उल्लंघन महँगो पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता र आयोगको निर्देशन पालना गर्न आग्रह गरेका छन्। उनले आचारसंहिताको अवज्ञा महँगो हुनसक्ने चेतावनी समेत दिएका छन्।

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लंघन तथा निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिएका हुन्।

उनले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गरे।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लंघन गरेको पाइए जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए। 

उनले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको संख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गरे। 

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अशक्तमैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गरे। उनले भने, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस्, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ।