ब्रेन ट्युमर भएको भन्दै नाकबाट 'सामान्य शल्यक्रिया' गरिएका शैलेन्द्र विद्याधरको अत्यधिक रक्तश्रावबाट निधन भएपछि केएमसीले न्यूरो अस्पतालमा लागेको रकमसहित परिवारलाई सबै उपचार खर्च फिर्ता गरेको छ।
काठमाडौँ- विगत २१ दिनदेखि काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको अग्रभागमा आन्दोलन भइरहेको थियो। आन्दोलनकारीले ‘पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइदैन’ लगायत लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए।
त्यही आन्दोलनमा सुशीला विद्याधर भावविभोर देखिन्थिन्। केएमसीमा उपचारको क्रममा उनका श्रीमान् शैलेन्द्र विद्याधरको मृत्यु भएको थियो।
आन्दोलन सोमबार अचानक स्थगित भयो। अस्पतालले शैलेन्द्रको उपचारमा लागेको रकम फिर्ता दिएपछि परिवारका सदस्यले आन्दोलन स्थगित गरेका थिए। केएमसीले सोही अस्पताल तथा बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा लागेको खर्च दिएपछि आन्दोलन रोकिएको सुशीलाका छिमेकी महेन्द्र श्रेष्ठले जानकारी दिए।
केएमसीले मृतकको परिवारलाई बाँसबारी न्यूरो अस्पतालमा लागेको खर्च ६ लाख ७५ हजार तथा केएमसीमा लागेको खर्च ८० हजारमा २० हजार थपेर एक लाख रुपैयाँ दिएको थियो। परिवारले कात्तिक २० गते नै शव बुझेर दाहसंस्कार गरेको श्रेष्ठ बताउँछन्।
यस्तो थियो घटना
श्रीमती सुशीलाका अनुसार असोज २३ गते बिहान शैलेन्द्र (४६) नुहाएर कोठामा बसिरहेका थिए। केही समयपश्चात हातखुट्टा कामेजस्तो भएको बताए। रिंगटा पनि लाग्न थालेपछि उनी घरनजिकै रहेको केएमसी अस्पताल पुगे। उनी हिँडेरै अस्पताल गएका थिए। चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताए। तर, शैलेन्द्र मानेनन्। अस्पतालले उनका आफन्तलाई चाँडो भर्ना गरेर उपचार थाल्न दबाब दिए।

आफन्तले उनलाई केएमसीमै भर्ना गरे। उनको रगत जाँच र एक्स–रेलगायतका रिपोर्ट सामान्य आयो। सिटी स्क्यान र एमआरआई गरेपछि चिकित्सकले मस्तिष्कमा सानो ट्युमर भएकोले शल्यक्रिया गरेर नाकबाट झिक्नु पर्ने बताए।
शैलेन्द्र र उनको परिवार शल्यक्रियाका लागि तयार थिएनन्। “पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण हामी तत्कालै शल्यक्रिया गर्ने पक्षमा थिएनौं,” सुशीला भन्छिन्, “तर, अस्पतालले दुई लाख लाग्ने शल्यक्रिया ८० हजारमै गरिदिन्छु र खासै गम्भीर पनि होइन भनेपछि हामी तयार भयौँ।”
केएमसीको न्यूरो सर्जरी विभागका प्रमुख डा. अमित थापाको नेतृत्वमा शल्यक्रिया भएको थियो। नाकबाट ट्युमर झिकिदिने भनेका चिकित्सकले शल्यक्रियाका क्रममा श्वास फेर्ने मुख्य नसा नै काटिदिएको सुशीलाको दाबी छ।
न्यूरो अस्पतालको रिपोर्टमा पनि उनको शल्यक्रिया गर्दा एउटा नसा काटिएपछि लगातार रगत बगेको उल्लेख छ।
नाकबाट लगातार रगत बगिरहेपछि केएमसीले बाँसबारीस्थित न्यूरो अस्पताल रेफर गर्यो। केएमसीबाट उनलाई न्यूरो अस्पताल लैजाँदा परिवारका सदस्य र कोही आफन्तलाई एम्बुलेन्समा बस्न नदिइएको उनको भनाइ छ। परिवारलाई भने १३ प्याकेट रगत तत्कालै व्यवस्था गर्न भनिएको थियो।
तर, न्यूरो अस्पतालले उनलाई सोही दिन केएमसीमै फिर्ता पठाइदियो। न्यूरोमा २-३ घण्टामै परिवारले ७ लाखको हाराहारीमा खर्च गरेका थिए। काटिएको नसा जोडेर रगत थामिदा मात्र बिरामी बाँच्न सक्ने अवस्था थियो। त्यसका लागि ‘कोइलिङ’ (नसा जोड्ने काम) गर्न न्यूरो लगिएको थियो। तर, बिरामीको आफन्तले नै केएमसी फिर्ता लैजाने भनेपछि उनलाई सोही दिन डिस्चार्ज दिइएको अस्पतालको रिपोर्टमा उल्लेख गरिएको छ।
केएमसीले बिरामी फिर्ता ल्याएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न थाल्यो। नसा थुनिएपछि अक्सिजन कम भएर दिमाग सुन्निन सक्ने जानकार न्यूरो सर्जनहरू बताउँछन्। अस्पतालको रिपोर्टले केएमसीका चिकित्सकले दिमागमाथिको हड्डीलाई हटाएर सुन्निएको दिमागका लागि ठाउँ बनाइदिएको देखाउँछ। “यस्तो केसमा कोही बिरामी प्यारालाइज भएर उठ्छन्, कोही बिरामी उठ्दैनन्। उहाँको केसमा त्यस्तै भयो, उठ्नुभएन्”, एक प्रतिष्ठित अस्पतालका न्यूरो सर्जन भन्छन्।
श्रीमती सुशीलाका अनुसार अस्पतालले चार दिनसम्म उनलाई भेन्टिलेटरमा राख्दा निको हुने बताइरहेको थियो। तर, असोज ३० गते राति १० बजे अस्पतालले उपचारको क्रममा बिरामीको मृत्यु भएको जानकारी दियो।
सुशीलाले उकालोलाई दिएको जानकारीअनुसार न्यूरो अस्पताल लैजान केएमसी अस्पतालबाट निकाल्दा नै शैलेन्द्रको अवस्था नाजुक भइसकेको थियो । “उहाँको खुट्टामा रगतैरगत थियो । मुखमा र नाकमा कपास कोचिएको थियो। हातखुट्टा सेतो भइसकेको थियो”, उनी भन्छिन्, “अस्पतालले मसँग बाटोमा दस्तखत मात्र गराइरह्यो। हाई रिस्क कन्सेन्ट लगायत के-के मा दस्तखत गराए मलाई केही याद छैन्। म अचेतजस्तै थिएँ।”
कहाँ चुक्यो अस्पताल?
एक न्यूरो सर्जनका अनुसार यस्तो अपरेशन गर्नुभन्दा २४ घण्टाअगाडि परिवारको सहमति अपरिहार्य हुन्छ। तर, सुशीलालाई अपरेशन शुरु भएपछि मात्र सहमतिपत्रमा हस्ताक्षर गराइएको उनी बताउँछिन्। अस्पतालले २६ गतेको मिति उल्लेख गरेर दुई वटा सहमतिपत्रमा हस्ताक्षर गराएको छ। एउटा सहमितपत्रमा मिति माथि २०७९ साल र तल २०७६ साल उल्लेख छ।
श्रीमानको मृत्युको खबरले विक्षिप्त भएकी सुशीला ‘इमरजेन्सी' कक्षमा गएर डाक्टर र अस्पतालभित्रका तस्वीर लिन थालिन्। तर अस्पताल प्रशासनले उनको मोबाइल खोसेर तस्वीर डिलिट गरिदियो।
अस्पताल प्रशासनसँग आफूले श्रीमानको ज्यान कसरी गयो भनेर जिज्ञाशा राखेको सुशीला बताउँछिन्। “गाडी चलाउँदा दुर्घटना हुँदैन? त्यस्तै, कहिलेकाँही उपचारको क्रममा पनि यस्तो दुर्घटना हुन्छ”, अस्पतालले दिएको जवाफ उनले सुनाइन्। उनी भन्छिन् “अस्पताल प्रयोगशाला हो की बिरामी निको बनाउने ठाउँ?”
यस विषयमा उकालोले केएमसी अस्पतालसँग सम्पर्क गर्न खोज्दा अस्पताल प्रशासन बोल्न चाहेन। शल्यक्रिया गर्ने चिकित्सक डा. अमित थापासँग कुराकानीको प्रयास गर्दा अस्पताल प्रशासनले उनी बिदामा भएको जनायो। अस्पताल प्रशासनलाई इमेलमार्फत् सम्पर्क गर्दा पनि जवाफ प्राप्त भएन।
अस्पताल प्रशासनको लापरवाही र चिकित्सकको गलत निदानले शैलेन्द्रको ज्यान गएको परिवारको आरोप छ। परिवार र आफन्त तीन सातादेखि उपचारमा संलग्न डा. थापालाई कारबाही र मृतक परिवारलाई आवश्यक क्षतिपूर्तिको माग राखेर आन्दोलनमा थिए।
यस विषयमा थप अनुसन्धान र कारबाहीका लागि मृतकका बहिनी र ज्वाइँले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन्। काउन्सिलका रजिस्टार डा. कृष्ण अधिकारीका अनुसार काउन्सिलले छानबिनको प्रक्रिया अगाडि बढाएको छ। “छानबिन गर्न कम्तिमा पनि ३-४ महिना लाग्छ, विषय त्यस्तै पर्यो भने वर्ष दिन नै लाग्छ। तत्काल यस विषयमा काउन्सिल केही बोल्दैन”, उनले भने।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष तथा मेडिकल काउन्सिलका बोर्ड सदस्य डा. लोचन कार्कीका अनुसार काउन्सिलमा आएको उजुरीको अनुसन्धान निष्पक्ष तवरबाटै हुन्छ। “काउन्सिल गल्ती गरेको डाक्टरलाई जोगाउने काम गर्दैन, हाम्रो टीमले निष्पक्ष अनुसन्धान गर्छ”, उनले भने।

डा.थापाको अर्को प्रकरण
डा. थापा यसअघि २०७६ सालमा काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा १८ महिने शिशु रिहान न्यौपानेको उपचारको क्रममा पनि लापरवाही गरेको भनेर विवादमा परेका थिए। त्यसपछि नेपाल मेडिकल काउन्सिलले गरेको छानबिनले शिशु जन्मिएपछि अस्पतालजन्य संक्रमण फैलिएको र उपचारका क्रममा चिकित्सकले बढी डोजको पारासिटामोल दिएको ठहर गरेको थियो।
काउन्सिलको छानबिन प्रतिवेदनमा रिहानलाई डा. दीपिका ढकालले बढी डोजको पारासिटामोल सिफारिस गरेको, उपचारमा संलग्न डा. थापाले पनि गम्भीर लापरवाही गरेको उल्लेख छ।
रिहानका बाबु सन्जीव न्यौपानेका अनुसार छोरा जन्मिने बित्तिकै निमोनिया र मेनिन्जाइटिस भएको थियो । “एमआरआइ गरेर हेर्दा संक्रमणका कारण रिहानको टाउकोमा पिप जमेको देखिएको थियो”, उनले भने, “शल्यक्रियाबाहेक कुनै विकल्प छैन भनियो। डा. थापाले नै पाँचपटक टाउकोको शल्यक्रिया गरे।”
थापाले पाँच पटकसम्म शल्यक्रिया गरेको र त्यति गर्दा पनि शिशुको वास्तविक अवस्थाबारे परिवारलाई जानकारी नदिइएको उनी बताउँछन्।
ग्रान्डीले शिशुको स्वास्थ्य परीक्षण गर्ने क्रममा समयमै सिटी स्क्यान वा एमआरआई नगरेको काउन्सिलको छानबिनले देखाएको छ। प्रतिवेदनमा शिशुको मस्तिष्कको भेन्ट्रिकल (पानी रहने ठाउँ) र सिस्टको आकारबारे उपचारमा संलग्न न्यूरो सर्जन र रेडियोलोजिष्टबीच बुझाइको अभाव देखिएको पनि उल्लेख छ।
रिहानका परिवारका अनुसार, ८.८ सीएम (सेन्टिमिटर) को भेन्ट्रिकललाई न्यूरो सर्जन डा. थापाले ८.८ एमएम (मिलिमिटर) भएको दाबी गरेका थिए। तर, ग्रान्डीका डा. रुद्रप्रसाद उपाध्यायले रिहानको भेन्ट्रिकलको आकार ८.८ सीएम भएको रिपोर्ट दिएका थिए।
बढी डोजको औषधि सिफारिश गर्ने डा. ढकाललाई काउन्सिलले कारबाही स्वरूप एक सातासम्म सिनियर डाक्टर मातहत रहने गरी काम गर्नुपर्ने निर्णय गरेको थियो। पछि ढकाललाई ग्रान्डीले हटाएको थियो। डा. थापालाई ‘चिकित्सा विज्ञानको आधारभूत सिद्धान्तकै कमी रहेको’ भनेको काउन्सिलले अब उप्रान्त गम्भीर भई काम गर्ने गरी सचेत गराउने मात्रै निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
