अपांगतामैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ। माग सुनुवाइ नभए आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ।
दमौली– तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपांगतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन्। जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपांगतामैत्री नबनाइएको अपांगताका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ।
संघीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलमा अपांगता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपांगताको क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताइन्। “सभाहलको कुनै पनि संरचना अपांगतामैत्री छैन, ह्विलचेयर जान मिल्दैन। हरेक सरकारी भवन अपांगतामैत्री बनाइने भनिन्छ तर व्यवहारमा कार्यान्वयन भएको छैन,” उनले भनिन्।
सभाहलको प्रवेशद्वारमा अपांगता प्रवेशका लागि र्याम्प नबनाइएको र शौचालय पनि अपांगतामैत्री नभएको उनको भनाइ छ। उनले भनिन्, “सरकारी बजेटबाट निर्मित संरचना नै अपांगतामैत्री नहुनु दुःखद हो। सरकारी भवन बनाउँदा पूर्ण अपांगतामैत्री बनाउनुपर्छ।”
अपांगताको अधिकारका लागि काम गर्ने रिसेड तनहुँका अध्यक्ष मदन पौडेल सभाहल सीमित व्यक्तिका लागि मात्रै बनेको गुनासो गरे। “भवनको प्रवेशद्वार नै हाम्रा लागि काँडेतार लगाएको महसुस भयो, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा अपांगतामैत्री नहुनु दुःखद हो,” उनले भने, “भवनमा अपांगता भएका व्यक्तिका लागि शौचालयसमेत छैन। मूल हलमा ह्विलचेयर प्रयोग गर्ने व्यक्तिका लागि दर्शकदीर्घामा बस्ने ठाउँ छैन।”
सरकारी भवन अपांगतामैत्री बनाउनुपर्छ भन्ने सरकारको प्रस्ट निर्देशन रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ। “जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको भवनलाई पूर्ण मानवमैत्री बनाउन समन्वय समितिले पहल गर्नुपर्छ। अर्कातिर अपांगता भएका व्यक्तिले खोलेका संस्थाका पदाधिकारी संगठित भएर आवाज बुलन्द पार्नुपर्छ,” उनले भने।
व्यास नगर अपांगता समन्वय समितिका सदस्य ह्विलचेयर प्रयोगकर्ता कृष्णा थापाले आफूजस्ता ह्विलचेयर प्रयोगकर्ताका लागि सभाहलको संरचनाले अवरोध पुग्ने बताए। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ। हाल भवनमा रङरोगनको काम भइरहेको छ।
२०७४ माघ २८ गतेदेखि निर्माण शुरू भएको भवन कोरोना त्रासका कारण ढिलाइ भएको थियो। २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो। भ्याटबाहेक २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे-एमए-प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो। सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सात सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउन्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउन्टेनसहितको विशिष्ट कक्ष (भीआईपी) पार्किङ स्थलसमेत रहनेछ। सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५ दशमलव पाँच चौडाइको हुनेछ ।
अपांगतामैत्री बनाउन ज्ञापनपत्र
मञ्चले सभाहललाई अपांगतामैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष सुवेदीले वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै साउन मसान्तसम्म सभाहललाई अपांगतामैत्री बनाउन ध्यानाकर्षण गराएका छन्।
उक्त समयभित्र माग सुनुवाइ नभए आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ। मञ्चले सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ पोखरा, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश, जिल्ला प्रशासन कार्यालय तनहुँ र सामाजिक विकास कार्यालय तनहुँलाई ध्यानाकर्षण समेत गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
