कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ, अवैध सम्पत्ति आर्जन गरेको आरोप

निकोलसले सन् २०२२ मा आफ्ना पिताको राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करबाट ठूलो रकम लिएको आरोप लागेको थियो।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका छोरा निकोलस पेट्रोलाई अबैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ।

राष्ट्रपति पेट्रोले आफ्नो छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको बताएका छन्। 

निकोलसले सन् २०२२ मा आफ्ना पिताको राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप लागेको थियो।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकबाट पैसा प्राप्त गरेको आरोपको खण्डन गर्दै आएका थिए। उनी आफैले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए। निकोलसको बैंक रेकर्डबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तिको तुलनामा धेरै पैसा देखिएको पाइएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।