रैथाने बाली प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि दरबारमार्गमा सञ्चालन गरेको कृषि हाटबजारमा ग्राहकको आकर्षण बढेको छ।
काठमाडौँ– “आहा ! कस्तो मौलिक स्वाद, गाउँमा छँदा पिएको मोहीको याद आयो,” ठेकीमा पारेको ताजा मोही पिउँदै युवराज गुरुङ अनुभव सुनाउँदै थिए।
रैथाने बालीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक शनिबार काठमाडौँको दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालनमा ल्याइएको छ। त्यही हाटबजार अवलोकन गर्न पुगेका गुरुङले ठेकीमा पारेको ताजा मोहीको स्वाद लिँदै दंग परिरहेका थिए।

रैथाने बाली प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि कृषि हाटबजारको शुरूआत गरेको हो।
शनिबार बिहान ६ देखि १२ बजेसम्म सञ्चालन हुने हाटबजारमा स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक उत्पादन, गाउँबाट लोप हुन लागेका परम्परागत कृषि औजार प्रदर्शनीका लागि राखिएका छन्। अर्ग्यानिक उत्पादनबाट तयार गरिएका विभिन्न परिकारहरूको पनि स्वाद लिन पाइन्छ। स्थानीय उत्पादन प्रदर्शनीमा राख्न चाहने किसानहरूका लागि निःशुल्क स्टलको व्यवस्था पनि गरिएको छ।

किसानहरूले आफ्नो उत्पादनको बजार प्रवर्द्धन गर्न र विषादीरहित खानेकुराहरूलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यले यो हाटबजारको शुरूआत गरिएको रैथाने एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकाल बताउँछन्। “युवाहरूको बढ्दो विदेश पलायन र हराउँदै गएको परम्परागत कृषिलाई जोगाएर देशमै रोजगारीको वातावरण सिर्जना गर्न लागेका छौँ,” उनले भने।
उनका अनुसार रैथाने, स्थानीय जातका, स्वदेशी र विषादीरहित उत्पादन नै रैथाने कृषि हाटबजारको विशेषता हो। साउन पहिलो शनिबारबाट शुरू भएको हाटबजारमा हराउँदै गएका नेपाली परम्परागत प्रविधिहरू पनि देख्न पाइन्छ। पानीघट्ट, तेल पेल्ने कोल, डोको, चाल्नो लगायतका परम्परागत कृषि औजार अवलोकन गर्न सकिन्छ।

लिटो, सातु, आलु, तामा, साग, धनियाँ, अचार, गुन्द्रुक, खुर्सानी, बेसारलगायत विभिन्न सामग्रीका २५ ओटा स्टलहरू हाटबजारमा देख्न सकिन्छ।
हाटबजार अवलोकनकर्ता पनि विषादीरहित अर्ग्यानिक उत्पादन पाउँदा खुशी देखिन्छन्। निहुरो, राजमा सिमी किनेर निस्किँदै थिइन् पूजा श्रेष्ठ। बाटोमा हिँड्दै गर्दा दिदीले अर्ग्यानिक उत्पादनको हाटबजार छ भनेपछि हाटबजारमा आएको उनले बताइन्। “सबै कुराहरू सारै राम्रो लाग्यो, आज व्रत पनि छ साँझ पकाएर खानुपर्ला भनेर विषादीरहित खानेकुरा लिएँ,” उनले भनिन्।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
