सातौँपटक विजयी हुनबाट देउवालाई रोक्न तम्सिएका सात प्रतिस्पर्धी

२०६४ साल यताका हरेक आमनिर्वाचनमा शेरबहादुर देउवाको प्रमुख प्रतिस्पर्धी रहेको माओवादीले यसपटक कांग्रेसलाई सहयोग गर्दा अर्को ठूलो दल एमालेले पनि उम्मेदवारी नदिएर कांग्रेस बीपीलाई समर्थन जनाएको छ।

तस्वीर : रासस

डडेलधुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदीय निर्वाचनको प्रतिस्पर्धामा छन्। उनलाई रोक्न अरू सात प्रतिस्पर्धी मैदानमा छन्। तर, यसपटक उनीविरुद्ध ठूला दलका उम्मेदवार छैनन्।

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव लड्दै आएका उनलाई यसपटक गएको निर्वाचनको प्रमुख प्रतिद्वन्द्वी नेकपा माओवादीले नै साथ दिएको छ। अर्को प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले उम्मेदवारी नै दिएको छैन।

२०७४ सालको आमनिर्वाचनमा देउवाविरुद्ध माओवादी केन्द्र र एमालेले गठबन्धन गरेका थिए। देउवाले २८ हजार ४४६ मत पाएका थिए भने माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत पाएका थिए। २०६४ सालमा देशभर माओवादीको पक्षमा लहर हुँदा पनि देउवाले डडेलधुराबाट चुनाव जितेका थिए। २०६४ सालपछि भएका तीनवटै निर्वाचनमा उनी देउवाका मुख्य प्रतिस्पर्धी थिए।

यसपटक माओवादीको समेत साथ पाएपछि देउवा अझ बढी सुरक्षित भएको डडेलधुरा बागबजारका स्थानीय जोगराज ओझा बताउँछन्। देउवा केही दिनअघि सदरमुकामसहित आसपासका क्षेत्रमा आयोजित सभामा सहभागी भएर काठमाडौँ फर्किसकेका छन्। निर्वाचन क्षेत्रमा उनको चुनावी कमान्डरका रूपमा डडेलधुरा कांग्रेस सभापति भीमबहादुर साउद खटिएका छन्।

एमालेले भने यसपटक नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ललाई समर्थन गरेको छ। एमालेका चक्र स्नेहीले प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गरे पनि पार्टीले मल्ललाई समर्थन गर्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए। कञ्चनपुरमा आयोजित सभामा एमाले अध्यक्ष केपी ओलीले नै मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए।

मल्ल डडेलधुरा कांग्रेसका पूर्वसभापति पनि हुन्। लामो समय देउवाकै स्वकीय सचिव रहेर काम गरेका उनी यसपटक देउवाकै प्रमुख प्रतिस्पर्धी छन्। मल्ललाई एकीकृत समाजवादी डडेलधुराका नेता डा. तारा जोशीको समूहले पनि साथ दिएको छ।

मल्ललगायत सात जनाले यसपटक देउवालाई रोक्न उम्मेदवारी दिएका छन्। राप्रपाका गोविन्द खडायत, जसपाका श्याम सिनालसहित स्वतन्त्र उम्मेदवारहरू विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत पनि प्रतिस्पर्धामा छन्।

कांग्रेसका जिल्ला सभापति साउद देउवाले यसपटक देशभरका क्षेत्रमध्ये सबैभन्दा ठूलो मतान्तरले जित्ने दाबी गर्छन्। “डडेलधुराको अहिलेको अवस्था विगतभन्दा अझ राम्रो छ। यसअघि पनि ८/१० हजारको मतान्तरले चुनाव जित्दै आउनुभएको थियो”, उनले भने, “यसपटक १६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारमध्ये सबैभन्दा धेरै मतको अन्तरले जित्नु हुन्छ।”

डडेलधुरा बागबजारका स्थानीय ओझा जिल्लामा देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने अर्को कोही नेता नभएको बताउँछन्। “उहाँसँग प्रतिस्पर्धा गर्न सक्ने अर्को कोही छैन। अहिले चुनावमा उठेकाहरूको व्यक्तित्व उहाँको जति छैन”, उनले भने, “फेरि पनि जितेर प्रधानमन्त्री बन्ने व्यक्ति भएकाले उहाँलाई यहाँका जनताले मत दिन्छन्।”

कांग्रेस बीपीका उम्मेदवार मल्ल भने डडेलधुराका मतदाताले यसपटक देउवालाई मतदान नगरेर राजनीतिबाट स–सम्मान बिदाइ गर्ने दाबी गर्छन्। “यस क्षेत्रलाई समृद्ध बनाउने भनेर ६ पटकसम्म आश्वासन दिनुभयो, स्मरणीय कुनै काम गर्न सक्नुभएको छैन। सातौँपटक आएर पनि आश्वासन दिइरहनुभएको छ”, उनी भन्छन्, “उमेरका दृष्टिकोणले र अन्य कारणले पनि अब उहाँले यस क्षेत्रका लागि केही गर्न सक्नुहुँदैन।”

देउवाले डडेलधुराको विकासमा ध्यान दिन नसकेका कारण नै आफूले विद्रोह गरेर प्रतिस्पर्धामा आएको मल्ल बताउँछन्। देउवाले चुनावका बेला विभिन्न आयोजना अघि बढाउने भन्दै भ्रम छर्ने गरेको मल्लको आरोप छ।

स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाही आफू डडेलधुरामा वामपन्थी पार्टीहरूको मत सुनिश्चित गर्न आफू उम्मेदवार बनेको बताउँछन्। “अन्य ठूला दलका उम्मेदवार पनि नहुनु र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नुले देउवा बलियो देखिए पनि परिस्थिति फरक छ। जनताको मनोविज्ञान बुझ्न सक्ने अवस्था छैन। भोट कसले कसलाई हाल्छ भन्न नसकिने हुँदा नतिजा जे पनि हुनसक्छ” उनले भने। 

२०४८ सालदेखि चुनाव जित्दै आएका देउवाले डडेलधुराको विकासमा चर्चा गर्नलायक कुनै काम नगरेको शाही आरोप लगाउँछन्। उनी डडेलधुरा एमालेको पुराना नेता हुन्।

यता, सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा माओवादी केन्द्रका खगराज भट्ट र (ख) मा गोविन्द बोहरा उम्मेदवार छन्। प्रतिनिधिसभामा कांग्रेस(बीपी)लाई समर्थन जनाएको एमालेले प्रदेशसभातर्फ (क) मा पठानसिंह बोहरा र (ख) मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाएका छन्। कांग्रेस (बीपी) ले प्रदेशसभातर्फ उम्मेदवारी दिएको छैन। तर, प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीलाई समर्थन जनाएको छ।

गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा डडेलधुरामा एमाले र कांग्रेस (बीपी) बीच तालमेल भएको थियो। कांग्रेसले अमरगढी नगरपालिकासहित पाँच पालिका र २९ वडामा अध्यक्ष जितेको थियो। दुई पालिका र १३ वडा अध्यक्ष माओवादी केन्द्रले जितेको थियो। एमालेले ५२ मध्ये चार वडामा मात्रै जित निकाल्न सकेको थियो। एकीकृत समाजवादीले दुई, कांग्रेस (बीपी) ले दुई र स्वतन्त्रले दुई वडाध्यक्ष जितेका थिए।