हेपाटाइटिसबाट हरेक वर्ष १० लाखभन्दा बढीको मृत्यु: कसरी बच्न सकिन्छ?

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिले सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। 

काठमाडौँ– विश्व हेपाटाइटिसविरुद्धको दिवस शुक्रबार नेपालमा पनि मनाइँदैछ। यो दिवस हरेक वर्ष जुलाई २८ तारिखमा मनाइन्छ। 

यसवर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तर्क्रिया आयोजना दिवस गरी मनाउँदै छन्। कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउँछन्। 

“नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन्। पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ,” उनले भने। 

के हो हेपाटाइटिस?
हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका संक्रामक भाइरस र गैरसंक्रामक कारणले हुन्छ। हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन्।

कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ। हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ। कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ।

भाइरल हेपाटाइटिसलाई साइलेन्ट किलर पनि भनिन्छ। हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ। हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ। रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक संक्रमणबाट समेत सर्छ। सीको संक्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ।  हेपाटाइटिस बी संक्रमित आमाबाट बच्चामा सर्ने हुन्छ। परिवार र समुदायमा बढी देखिने गर्छ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस संक्रमण मौन हुने गर्छ। हेपाटाइटिस ए र ईभन्दा बी र सीको संक्रमण घातक हुने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ संक्रमित थपिन्छन्। प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने डब्लूएचओको अनुमान छ।

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ। 

हेपाटाइटिसबाट कसरी बच्ने? 
चिकित्सकका अनुसार हेपाटाइटिस रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो। हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ। हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्ध खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा. शर्माको सुझाव छ।

“हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ,” उनले भने, “कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ।”

हेपाटाइटिसको उपचार
“आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ। बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ,” डा. केसी भन्छन्, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ। जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ। त्यसले गर्दा अरू अप्ठ्यारो आउन सक्छ।” 

बिरामीले जथाभाबी औषधिको सेवन गर्न नहुने उनले बताए। हेपाटाइटिस ए र ई हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ। यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ। उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी हुने गर्छ।

“औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ,” उनले भने। सी र एचआईभीको संयुक्त संक्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ। हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ। 

हेपाटाइटिस बी संक्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्ने डा. शर्माको भनाइ छ। “त्यस्ता ठाउँमा रोगको  परीक्षण  गर्नुपर्छ र समयमा उपचारको व्यवस्था गर्न सके संक्रमण रोक्न सहयोग पुग्छ,” उनले भने।

हेपाटाइटिस ए र ई स्वस्थकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ। सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बी औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ। बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुन बचाउँछ। चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो। त्यसकारण पनि समयमै रोगको पहिचान गर्न उनको सुझाव छ।

नेपालमा हेपाटाइटिस समस्या 
सरकारसँग यकिन तथ्यांक नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ। देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन्। चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र ई बढी देखिन्छ। प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ। 

“हेपाटाइटिस बी एक प्रतिशतभन्दा कम छ। यो मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ,” डा. केसी भन्छन्, “हिमाली भूभागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको संक्रमण धेरै देखिन्छ।”

हेपाटाइटिसलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने चिकित्सक बताउँछन्। “जसरी एचआईभीलाई महत्त्व दिइन्छ, यसलाई पनि प्राथमिकतामा राखेर उपचार निःशुल्क गर्न पहल गर्नुपर्छ,” डा. केसीले भने।