चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार ५०० क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि १४ हजार २०० क्विन्टल माग गरिएको छ।
बझाङ– बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँडिरहेको भेटिए। उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियतमा वितरण गरेको भानु नुन थियो।
उनले पसलबाट उक्त नुन किनेर ल्याएको सुनाए। “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा गएर यसरी नै किनेर ल्याउँछु,” उनले भने, सहुलियतको नुनबारे जानकारी छैन।”
बझाङमा नुनकी आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हो। साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन। तर, राजेशजस्ता धेरै ग्राहक भने साल्ट ट्रेडिङको नुन पसलबाटै किनिरहेका छन्। साल्ट ट्रेडिङबाट प्रतिपाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन्।
ग्राहकको सहजताका लागि आफूले खान ल्याएको नुनसमेत बेच्ने गरेको एक व्यावसायीले बताए। “ग्राहक नुनका लागि आउनुहुन्छ। उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ,” उनले भने, “यहाँ धेरैले यसरी नै बेच्छन्।”
चैनपुरका केही पसलमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको छ। डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले बिक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापाले बताए। “व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए। अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो। यता व्यापारीहरू लुकिछुपी बेच्न थाले,” उनले भने, “यसरी अवैधानिक रूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्छ।”
पाँच केजीका लागि घण्टौँ लाइन
मष्टा गाउँपालिका–१ की सरुदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिइन्। बिहान सात बजेदेखि लाइनमा बसेकी विकले तीन घण्टापछि पाँच पाकेट मात्रै नुन पाइन्। “सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ,” उनले भनिन्, “पाँच केजी मात्रै पाइयो।” गाउँमा वर्षायामका बेला नुनको संकट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन्। “एक दुई पोका नुन त थियो। तर, नुनको संकट भएको भनेर सुन्यौँ। बर्खामा चैनपुर आइरहन सकिँदैन। त्यसैले आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ। यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ,” सुमीले भनिन्।
नुन वितरणमा दुरुपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ। डिपोले औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो। “नुन लिन आउने सबैलाई पुर्याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ,” साल्ट ट्रेडिङ डिपो प्रमुख नरबहादुर भाटले भने, “ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो।” भाटका अनुसार थप नुन माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा साउन दोस्रो साताबाटै नुन वितरण सहज हुन्छ।
चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार ५०० क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि १४ हजार २०० क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार ५०० र साइपाल बिक्री केन्द्रका लागि ७०० क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो। बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गर्ने उनको भनाइ छ।
“यो गुनासो सुनिरहेका छौँ,” उनले भने, “बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो। धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
