बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीनजना घाइते

पहिरोले घर पुरिँदा बैतडीको पुर्चौडी नगरपालिका–२  भैरू टोलका दुई जनाको मृत्यु भएको छ। त्यही घरमा सुतेका अरू तीन जना घाइते छन्।

बैतडी- पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरू टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। उक्त घरमा पाँच जना सुतिरहेका थिए।

सोमबार बिहान २ बजेतिर घरमाथिबाट खसेको पहिराले घर पुरेको पुर्चौडी नगरपालिकाका मेयर दीपकबहादुर बमले जानकारी दिए। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन्।

राइमती अञ्जुकी सासू हुन् भने गोब्बर देवर हुन्। उनका श्रीमान् रोजगारीका लागि भारतमा छन्। अर्की घाइते जस्मा पाहुना आएकी थिइन्।

घाइतेलाई अहिले हास स्वास्थ्य चौकीतर्फ लगिँदै गरिएको मेयर बमले जानकारी दिए। पहिरोले घर पूरै भत्किएको उनको भनाइ छ।

पहिराले पशुचौपाया पनि पुरेको छ। कति चौपाया पुरेको छ भन्ने यकिन भइनसकेको मेयर बमले बताए।