तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६ प्रतिशतले कमी

गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा  कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।

काठमाडौँ- भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ।

गत आर्थिक वर्ष २०७८/०७९को श्रावण/भदौ र असोज महिनादेखि चालू आर्थिक वर्ष २०७९/०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो। आर्थिक वर्ष २०७८/०७९ को श्रावण, भदौ र असोज महिनामा ४ लाख ४१ हजार ७७० भएको कित्ताकाट आर्थिक वर्ष २०७९/०८० को सोही तीन महिनामा ५६ हजार ३६० कित्ताकाट भएको विभागले बताएको छ। 

घरजग्गाको कित्ताकाटमा भू–उपयोग नियमावली लागू भएसँगै शहरी क्षेत्र र बाहिर जिल्लाहरूमा समेत जग्गाको कित्ताकाट घट्दै गएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णुकुमार महतले भू–उपयोग नियमावली अनुसार स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कारोबार तथा कित्ताकाटमा कमी आएको बताए।

उनले चालू आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको तुलनामा घरजग्गाको कित्ताकाट, कारोबार र राजश्व संकलनमा समेत कमी आएको स्वीकारे। उनले चालू आर्थिक वर्षको साउन महिनामा ९८ हजार ६४ कारोबार हुँदा ९ अर्ब ९३ करोड ४२ लाख ४१ हजार राजश्व भएको बताए। सूचना अधिकारी महतले भदौ महिनामा १ लाख ८ हजार ८८१ कारोबार हुँदा ३ अर्ब ५६ करोड रुपैयाँ राजश्व उठाएको पनि बताए। उनले पछिल्लो महिना विभिन्न चाडपर्वका कारण सरकारी कार्यालयहरूमा बिदा हुँदा कारोबारमा कमी आएको  दाबी गरे।  

उनले भने, “भू–उपयोग नियमावली जारी भएसँगै स्थानीय तहहरूलाई जग्गाको कित्ताकाट गर्ने जिम्मा दिइएको छ। भू–उपयोग परिषद्ले जग्गाको वर्गीकरण पछि मात्रै जग्गाको कित्ताकाट गर्नुपर्ने व्यवस्था नियमावलीमा छ। अहिले सबै स्थानीय तहहरूले जग्गाको भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरिनसकेको अवस्था छ। त्यसकारण घरजग्गा कारोबारमा कमी आएको देखिन्छ।”

मालपोत कार्यालयहरूमा भएको जग्गाको कारोबारको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा कित्ताकाट,कारोबार र राजश्व संकलन समेत कमी रहेको उनले बताए। जतिसक्दो चाँडो भू–उपयोग नीतिअनुसार जग्गाको वर्गीकरण गर्न सकियो भने मात्रै कारोबार बढ्ने उनको भनाइ छ।

चालू आर्थिक वर्षको तीन महिनाको कारोबार हेर्दा साउनमा ९८ हजार ६४ कारोबार हुँदा ९ अर्ब ९३ करोड ४२ लाख ४१ हजार राजश्व उठाएको विभागले भदौ महिनामा १ लाख ८ हजार ८८१ कारोबार हुँदा ३ अर्ब ५६ करोड रुपैयाँ राजश्व उठाएका थियो। यसरी साउनको भन्दा भदौमा राजश्व बढी संकलन भएको देखिन्छ। पछिल्लो महिना विभिन्न चाडपर्वहरू भएर सरकारी कार्यालयहरूमा बिदा भएको कारण पनि कारोबारमा कमी आएको उनको भनाइ छ। 

उनले घरजग्गाको कारोबार र कित्ताकाट घट्दै जानुमा भू–उपयोग नियमावली लगायत बैंकिङ प्रणालीले लिएका नीतिहरू बढी प्रभाव पार्ने बताए। बैंकहरूले घरजग्गा कारोबारमा गरेको कर्जाको व्यवस्था, राष्ट्र बैंकले लिएको नीति, सरकारले नयाँ शहर निर्माण गर्ने लिएका नीतिहरू र पुँजीगत खर्चको नीतिले पनि घरजग्गा कारोबारमा प्रत्यक्ष प्रभाव पर्ने उल्लेख उनले बताए। 

सूचना अधिकारी महतले भू–उपयोग नियमावलीअनुसार स्थानीय तहले भू–उपयोग परिषद्‌मार्फत् तत्काल जग्गाको वर्गीकरण गरे मात्रै घरजग्गाको कित्ताकाट तथा कारोबार बढ्ने बताए। उनले सरकार भू–उपयोग नियमावलीमार्फत जग्गा कारोबारलाई व्यवस्थित बनाउने योजना अघि सारे पनि सबै स्थानीय तहहरूले जग्गाको वर्गीकरण नगरेको भन्दै स्थानीय तहहरू सबैले भू–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण नगर्दा कारोबार,जग्गा कित्ताकाट र राजश्व संकलनमा कमी हुँदै गएको बताए। 

महतले अब स्थानीय तहदेखि आवश्यकताको पहिचान गरी कुन क्षेत्र कृषि र गैरकृषि हो भनी तत्काल नियमावली ल्याउन आवश्यक रहेको बताए। 

उनले भने, “घरजग्गा कारोबारमा कमी आउनुमा धेरै पक्षले असर पार्ने गरेको छ। मालपोत कार्यालयमा जग्गाको कित्ताकाट जति धेरै भयो त्यति कारोबार बढ्ने गर्छ। भू–उपयोग नियमावली अनुसार स्थानीय तहले भू–उपयोग परिषद्मार्फत जग्गाको वर्गीकरण गरिएको ठाउँमा सहज भएको छ।”

त्यस्तै, सरकारले भू–उपयोग नीतिमार्फत जग्गा कारोबारलाई व्यवस्थित बनाउने योजना बनाएको उल्लेख गर्दै उनले सरकारले जारी गरेको भू–उपयोग नीति अनुसार जतिसक्दो स्थानीय सरकारले जग्गा वर्गीकरण गरे कारोबार बढ्ने देखिएको बताए। 

अहिले स्थानीय तहहरू सबैले भू–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण नगर्दा कारोबार, जग्गा कित्ताकाट र राजश्व संकलनमा कमी भएको उनको भनाइ छ। 

विगतको तुलनामा पछिल्लो समय घरजग्गाको कारोबार र कित्ताकाट संख्या अधिक हुने गरेपनि अहिले घरजग्गा कित्ताकाट संख्या कम देखिएको छ। पछिल्लो एक वर्षमा घरजग्गा कारोबारमा ४९.८८ प्रतिशतले कमी आएको विभागले बताएको छ। 

गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा  कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।

त्यस्तै, घरजग्गा कारोबार तथा कित्ताकाट घटेसँगै सरकारले उठाउने राजश्वमा पनि कमी हुँदै गएको छ। पछिल्लो एक वर्षमा राजश्व संकलनमा पनि ६२.६३ प्रतिशतले कमी आएको विभागले जनाएको छ।

गत आर्थिक वर्षको साउन देखि असोज महिनासम्म २३ अर्ब ७३ करोड,४८ लाख ९ हजार ४१४ घरजग्गा कारोबारबाट राजश्व संकलन भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा राजश्व संकलन ६२.६३ प्रतिशतले घटेर ८ अर्ब ८६ करोड ८५ लाख ७४ हजार ४५२ मा सीमित रहेको छ। 

सरकारले जारी गरेको भू–उपयोग नियमावली अनुसार घरजग्गा कित्ताकाटमा काठमाडौँ उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्यूनतम ४ आना १ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफल हुनेगरी कित्ताकाट गर्न रोक लगाएको छ। १५ आना २ पैसा ३ दाम (पाँच सय वर्गमिटर) भन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ।

काठमाडौँ उपत्यकामा कृषि क्षेत्रको रूपमा वर्गीकरण गरिएको जग्गालाई पाँच सय वर्गमिटर क्षेत्रफलभन्दा कम हुनेगरी कित्ताकाट गर्न प्रतिबन्ध लगाएको छ। तराई र भित्री मधेसको हकमा ६ सय ७५ वर्गमिटर र यी क्षेत्रबाहेकका भूभागमा एक हजार वर्गमिटर भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ।