कांग्रेसले एक वर्षमा ७ लाख सदस्य बनाउन ‘घर–घर जाऊँ पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरी पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्दै एक वर्षभित्र ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाइने बताए।

काठमाडौँ– नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यलाई एक महिना मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यलाई असारमा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन्। उनले अरू ११ महिना नै पार्टी नेता–कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरे।

असार किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए। त्यस्तै, आइपर्नसक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ।

“असार महिनामा किसानको समय हो। किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अफ्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ। केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ। त्योभन्दा बाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ। काम गरिरहेको अवस्था बन्छ,” उनले भने।

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गरे। त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ। आगामी एक वर्षभित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।

“प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रमहरू बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरिको गतिविधिको प्रगति विवरण ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने,” उनले भने, “समितिहरूले पूर्णता पाउन सकेका छैनन्। भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो। साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर–घर जाऊँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान शुरू हुने। यो अभियानमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान शुरू गर्नेछ।”

पार्टीका सबै दस्ताबेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उनको प्रस्ताव छ। यसको निम्ति कामहरू भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरे।