लामो बिदाबाहेक दुईतीन दिनको छोटो बिदामा कतै जाने ठाउँ थिएन। लामो बिदामा घर जान अथवा काजमा काठमाडौँ जान पनि प्लेनको टिकट सजिलै पाइँदैनथ्यो।
अस्थायी नियुक्ति लिएर त्यसै दिन म नाइट बसमा चढेँ र भोलिपल्ट बिहान नेपालगञ्ज पुगेँ। त्यहाँ साना जलविद्युत विकास समितिको क्षेत्रीय प्रमुख नागेन्द्र झा रहेछन्। मैले उनलाई मेरो अस्थायी नियुक्ति पत्र प्रस्तुत गरेँ। उनले 'तपाईं आउनुभो ठीक भयो' भने।
उनले मलाई 'नाइट बसमा आउनुभएको थाक्नुभयो होला। बाँकी कुरा भोलि गरौँला' भने र एकजना पियनलाई म बस्ने कोठा देखाइदिन आदेश दिए। त्यहाँ अफिस कम्पाउण्डभित्रै क्वार्टर पनि रहेछन्। सजिलै भयो। खाना खानको लागि बाहिर साधारण रेस्टुरेन्ट रहेछ।
भोलिपल्ट अफिस टाइममा म झाको क्याबिनमा गएँ। उनले डोटी साना जलविद्युत् आयोजना र त्यहाँको वर्तमान स्थितिबारे छोटकरीमा सुनाए। मलाई त्यो आयोजना सम्बन्धी केही कागजपत्र, रिपोर्ट, नक्सा आदि डकुमेण्ट अध्ययन गर्न दिए। म नेपालगन्ज अफिसमा हाजिर भएर करिब एक हप्ता काम गरेँ। त्यसपछि पेस्की लिएर प्लेनबाट दिपायल पुगेँ।
दिपायल एरपोर्टबाट हाम्रो अफिस नजिकै पर्दों रहेछ, र अफिस कम्पाउण्ड पनि ठुलै रहेछ। कम्पाउण्ड भित्र एकतले दुइटा अफिस भवन, स्टाफ क्वार्टरहरू, छुट्टाछुट्टै किचनहरू, स्टोर आदि रहेछन्। त्यसबेला त्यहाँ स्टेसन इन्चार्ज एक जना मेकनिकल ओभरसियर माथेमा रहेछन्। उनले म आउदै छु भन्ने थाहा पाइसकेका रहेछन्।
एकछिन कुराकानी गरेर मलाई बस्ने छुट्टै ठूलो कोठा र काम गर्ने अफिस कोठा पनि देखाइदिए। साथै उनले मलाई सानो एउटा किचन कोठा सहित एक जना भान्छे (पियन) पनि खटाइदिए। बस्ने कोठामा खाट, बेडिङ बिस्तरा, दराज, बस्ने मेच, सानो टेबल आदि थिए। मलाई नेपालगञ्ज क्षेत्रीय कार्यालय अन्तरगतको युनिट अफिस प्रमुखको रूपमा राखिएको थियो।
त्यो दुई सय किलोवाटको डोटी साना जलविद्युत् आयोजना युगोस्लाभ सरकारको सहयोगमा बनेको हुनाले युगोस्लाभ इन्जिनियरहरू र अरू प्राविधिक पनि काम गरेकारहेछन्। उनीहरूले आफ्नो खाने बस्ने सुविधाको लागि ठूलो एउटा फ्रिज, बत्ति र फ्रिजको लागि तीन किलोवाटको जेनेरेटर, कार्पेटहरू आदिसहित बन्दोबस्तसँग बसेका रहेछन्। भोलिपल्ट माथेमाले मलाई आयोजना सम्बन्धी त्यहाँ भएका फाइल, कगजपत्र, रिपोर्ट, नक्सा आदि डकुमेण्टहरु अध्ययन गर्न दिए। त्यसपछि माथेमाले भने, "सम्भुवागाड खोलामा भयानक बाढी आउँदा मलगायत दुईजना अपरेटरहरू र मेरा केही सहयोगी स्टाफहरू पावरहाउसमा थियौँ। त्यसबेला हल्का पानी पारीरहेको थियो। माथिपट्टी रहेको अपरेटर क्वार्टरमा खाना पकाउँदै गरेको एकजना पियनले एक्कासि चिच्यायो र भन्यो- ठूलो बाढ आयो भागौँ भागौँ।खउसले गडङ्डङ् भुइँचालो गएजस्तो आवाज सुनेछ। हामी पावरहाउसभित्र भएकोले त्यस्तो आवाज नसुनेनी पियनको चेतावनीपछि तुरुन्तै भाग्यौँ। त्यसको केही सेकेण्डमै पत्याउनै नसकिने, कही पनि नदेखिएको, भयाबह बाढी आएर पावरहाउस पूरै डुबायो। हामीले केही सेकेण्ड मात्र ढिलो गरेको भए सबैको ज्यान गइसकेको हुन्थ्यो।"
उनको कुरा सुनेर मलाई खोला त डेन्जर रहेछ भन्ने लाग्यो।
म त्यहाँ २०३९ साल कार्तिकमा गएको थिएँ। डोटी साना जलविद्युत आयोजना पूरा भएको करिब एक वर्षपछि यस्तो भएको रहेछ। यस्तो कसरी हुनगयो भनेर पछि बुझ्दा सम्भुवागाडको माथि मुहानको अलि तलतिर एउटा ठूलो पहिरो आएर केही घण्टा खोला पूरै थुनेछ। त्यसको केही घण्टापछि एक्कासी बाँध फुटेर भयानक बाढी आएको रहेछ।
म भोलिपल्ट बिहान खाना खान एकजना सिभिल फोरमेन, एकजना हेल्पर र एउटा मेजरिङ्ग टेप साथै नोटबुक र डटपेन लिएर पावर हाउस साइटतिर लागेँ। दिपायल अफिसबाट करिब डेढ घण्टामा हामी पावरहाउस पुग्यौँ। त्यहाँको दृश्य हेर्दा यस्तो पनि बाढी आयो होलार भन्ने कुरा फ्लड मार्क (बाढीको चिन्न) हेर्दा देखिन्थ्यो। टेलरेसको ढलान झुन्डिरहेको थियो। पावर हाउसको जगका पिल्लरहरू तल खोलामा गाडिएको देखियो। त्यति तलबाट जग नहालेको भए पावरहाउस र भित्रका टर्बाइन जेनेरेट खोला दुबैतिरको प्यानल बोर्ड आदि बगाइसकेको हुन्थ्यो।
पछि हामी पेनस्टक हुँदै फोरवे पुग्यौँ। त्यहाँ क्षति भएको रहेनछ। त्यसपछि हामी सुरुङ गयौँ। सुरुङभित्र पनि कतै केही भएको थिएन। सुरुङको इन्लेट-स्पिलवे माथिबाट पहिरो आएर केही क्षति भएको रहेछ। क्षतिको आँकलन गरेर तीनजना अगाडि गयौँ। नजिकै पाइप एक्वेडक्ट (पानी तार्ने पुल-पाइप) रहेछ। खोलाबाट करिब चालिस फिटमाथि रहेको एक्वेडक्ट पुरै बाढीले बगाएछ। एक्वेडक्टको पुनः निर्माणको लागि बुटवल इन्जिनियरिङ वोक्स (बीइडब्ल्यु)सँग ठेक्का सम्झौता पनि भैइसकेको रहेछ।
आयोजनाको मुहान खोला पारी रहेछ। त्यसपछि हामी अलि परको एउटा फट्के (काठको पुल) बाट पारि गयौँ। ठाउँठाउँमा नहर पनि भत्केको पाइयो। त्यसको पनि नापजाँच गर्यौँ र मैले नोटबुकमा नोट गरेँ। त्यसपछि हामी अगाडि मुहानतिर गयौ। बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ बेसिन) अलिकति मात्रै क्षति भएको रहेछ। तर एउटा फ्लसिङ गेट भने भत्काएको रहेछ। इन्टेक तिनैतिर चट्टान भएको एकदम राम्रो ठाउँमा रहेछ। खोला डिसेन्डिङ बेसिनतिर पसेको रहेनछ।
त्यहाँको पनि स्थिति आँकलन गरी हामी बेलुका दिपायल फर्कियौँ। अर्को दिनदेखि मैले मर्मत र पुनः निर्माणको लागि एक्वेडक्टबाहेकका अरू सिभिल संरचनाहरूको लागत इस्टिमेट तयार गर्न थालेँ। मैले लागत इष्टिमेट तयार गरेपछि स्वीकृतिको लागि नेपालगञ्ज क्षेत्रीय कार्यालयमा पठाएँ। केही दिनमा इष्टिमेट स्वीकृत भएर आएपछि आयोजनाको सिभिल मर्मत संभारको कामले गति लियो।
पावरहाउसमा एक/एक सय किलोवाटका दुइटा युनिट रहेछन्। दुवै जेनेरेटरहरू सफा भइसकेपछि मेसिन भित्रको चिसो हटाउन हिटिङ (तताउने) काम पनि शुरू भयो। त्यो काम सिनियर मेकानिकल ओभरसियर माथेमा र इलेक्ट्रिकल ओभरसियर विश्वनाथ चौधरीले हेर्थे। उनीहरूका साथमा निर्माण अबधिमा युगोस्लाभहरूसँग काम गरेका तालिम प्राप्त जुनियर प्राविधिकहरू पनि थिए। मैले सिभिल मर्मतको काम सबै साइटतिर हेर्दै गराउँदै गएँ। ठाउँठाउँमा ग्याबियन प्रोटेक्सनको काम पनि प्रसस्तै थियो। यसरी करिब एक महिना बितिसकेपछि पनि युगोस्लाभहरू आएनन्। पछि हेड अफिस हात्तीसार, नक्सालबाट एकजना इलेक्ट्रिकल इन्जिनियर प्रेमराज लोहनी आए। उनले भने, "युगोस्लाभहरू नआउने भए। हामीहरूले नै मर्मत गर्ने र बत्ती बाल्ने काम गर्नु पर्यो।"
लोहनीले थपे, "उनीहरूले आउनको लागि पाँच हजार युएस् डलर मागेका थिए।"
२०२९ सालमै डा. हर्क गुरुङको अवधारणा अनुसार राजा वीरेन्द्रले विभाजन गरेको पाँच नम्बर सुदूरपश्चिमाञ्चल विकास क्षेत्र दिपायलमा धेरैजसो सरकारी कार्यालय स्थापना भइसकेका थिए। सिलगढी बजारमा डोटी जिल्ला स्तरीय सरकारी कार्यालयहरू पहिलेदेखि नै थिए भने, बाँकी क्षेत्रीयस्तरका कार्यालयहरू दिपायलमा स्थापना भएका थिए। दिपायल सानो भ्यालीमा एयरपोर्ट भएको साथै त्यहाँ पहिलेदेखि नै बस्ती बसेको र सानो बजार एरिया पनि भएकोले ठूला कार्यालयहरूलाई बिस्तार गर्न ठाउँको अभाव थियो। त्यहाँ राजपुर भन्ने डाँडामाथि अलिकति उच्च समथल जग्गा छ।
त्यसबेला केही ठूला स्तरका सरकारी कार्यालयका भवनहरू बन्दै थिए। अनि राजपुरबाट अलिकति सीधा र भिरको ओरालो बाटो घनट्याङ मनट्याङ गर्दै हिँडेपछि डोटी साना जलविद्युत् केन्द्रको पावर हाउस रहेछ। राजपुर र पावर हाउस जाने बाटोको माथि हल्का भिरालो ठाउँमा पाँच नम्बर बाहिनी अड्डा रहेछ। बाहिनी कम्पाउण्डभित्र सानासाना थुप्रै घरहरू र छाप्राहरू थिए। त्यहाँ त्यो समयमा बाहिनीपति नरबहादुर बुढाथोकी थिए। उनी साह्रै रंगीन मिजासका मान्छे रहेछन्।
उनले कहिलेकाहीँ छुट्टाछुट्टै सरकारी कार्यालयका प्रमुख र इन्जिनियर तथा अधिकृतहरूलाई लन्चमा बोलाउने गर्थे। उनले मलाई र माथेमालाई एकपटक लन्चमा बोलाएका थिए। उनी र उनका केही सहयोगी आर्मीका सिनियर अधिकृतहरू साथै हामी दुईजना विद्युतका प्रमुखहरू पनि सँगै लन्चमा बस्यौँ।
सिलगढी, दिपायल र राजापुरमा गरी थुप्रै सरकारी कार्यालयहरू साथै संस्थानहरूका अफिस स्थापना भइसकेका थिए। कर्मचारी मिलन केन्द्र पहिले नै रहेछ। त्यो मिलनकेन्द्रले बेला बेलामा बिदाको दिन पारेर पिकनिकको आयोजना गर्ने गर्दो रहेछ। त्यसको नेतृत्व प्रहरीले गर्थ्यो। सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय एयरपोर्ट नजिकै दिपायलमा थियो। त्यसबेला त्यहाँका प्रहरी प्रमुख हेमबहादुर सिंह थिए। हाम्रो पिकनिकमा प्रहरी इन्स्पेक्टरहरू रविकान्त अर्याल, चुडा श्रेष्ठ र अरू सहयोगी प्रहरीहरू तथा कर्मचारी साथीहरू निकै सकृय भएर लाग्थे।
लामो बिदाबाहेक अरू दुईतीन दिन हुने छोटो बिदामा कतै जाने ठाउँ थिएन। लामो बिदामा घर जान अथवा काजमा काठमाडौँ जान पनि प्लेनको टिकट सजिलै पाइँदैनथ्यो। त्यसबेला दिपायलमा जाडो बढी सकेको थियो। बिहानबेलुका र दिउँसोको तापक्रम बीस पच्चीस डिग्री फरक हुन्थ्यो। आगो ताप्नबाहेक अरू तताउने केही व्यवस्था थिएन। खानाको व्यवस्था पनि राम्रो थिएन। दिपायलमा त्यस बेला खासै तरकारी, दही, फलफूल, अण्डा आदि पाइँदैनथे। चामल पनि कहिलेकाहीँ लोकलबाहेक धेरैजसो खाद्य संस्थानमै भर पर्नु पर्थ्यो। खाद्यको चामलको गुणस्तर निम्न हुन्थ्यो। मासु र हरियो साग कहिले काँही मात्रै पाइन्थ्यो। दुध बिहान थोरैथोरै अड्कलेर पाइन्थ्यो। त्यसबेला त्यहाँ मोटर बाटो पुगेको थिएन। दिपायलको विषम हावापानी र डाइटको कमी साथै म केही महिनाअगाडि मात्रै बेलग्रेड, युगोस्लाभियाबाट आएको मान्छे हुनाले छिट्टै अनुकुलन हुन गाहो पर्यो।
केही समयपछि मलाई रुघा, खोकी र ज्वरोले सतायो। त्यहाँ साधारण क्लिनिकबाहेक अरू केही थिएन। तीन-चार दिनमा पनि ठीक भएन। त्यसैले मैले उपचारको लागि नेपालगञ्ज जाने विचार गरें।
एक हप्ताको भेरी अञ्चल अस्पातलको उपचारपछि मेरो स्वास्थ्य अवस्था राम्रो भयो र हस्पिटलबाट डिस्चार्ज पनि भएँ। त्यसपछि प्लेनबाट दिपायल फर्क्यौँ। त्यसबेला मेरा मित्र विश्वानाथ चौधरीले मलाई लगाएको गुन कहिले पनि बिर्सिन सक्दिनँ।
***
म नेपालगञ्ज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख नागेन्द्र झासँग बिदा लिएर काठमाडौं गएँ र अर्को दिन हाम्रो केन्द्रीय कार्यालय हात्तीसार, नक्साल, काठमाडौँमा गएर नियमानुसार स्थायी नियुक्तिको लागि निवेदन दर्ता गरेँ। अर्को दिन मलाई अन्तर्वार्ता दिन बोलाइयो। अन्तर्वार्ता दिने ठाउँ निर्देशक आत्माकृष्ण श्रेष्ठज्यूकै क्याबिनमा रहेछ।
मैले सबै प्रश्नको उत्तर दिएपछि उहाँले मलाई अन्तर्वार्ता सकिएको र प्रशासनमा सम्पर्क राख्न भन्नुभयो। म तल गएर प्रशासन प्रमुख पौडेललाई भेटे। उनले भने, "तपाईं दिपायलमा नै गएर काम गरिरहनुहोस। तपाईंको स्थायी नियुक्ति भएको खण्डमा हामी नियुक्ति पत्र दिपायल नै पठाइ दिन्छौं।"
त्यसपछि म पोखरा गएँ र एकदिन घर बसेँ। अनि अर्कोदिन म र पार्वती भएर पोखराबाट काठमाडौँ-नेपालगञ्ज हुँदै दिपायल, डोटी आयौँ।
मेरो बस्ने कोठा ठूलो भएको र ठूलो दराजसमेत भएकोले हामीलाई बस्न कुनै समस्या परेन। मेरो पहिलाको भान्छेले किनमेल गर्ने, भाँडा सफा गर्ने, कोठा भान्छा सफा गर्ने आदि काम गर्न थाल्यो। पार्वतीले खाना बनाउँथिन्। माथेमासहित अरु दुई कर्मचारीका परिवार पनि त्यहीं थिए। माथेमाका त श्रीमतीसहित दुई छोरा र एकजना छोरी पनि थिए।
त्यहाँ सेती नदी माथि एउटा झोलुङ्गे पुल थियो। पुलको मुखमा एउटा सानो बजार पनि थियो। बजारमा केही खुद्रा सामान साथै साधारण कपडाहरू पाइन्थे। आयोजनाको अफिसमा एउटा घोडा र त्यसको हेरविचार गर्ने एकजना सइस (घोडा सञ्चालक) पनि थियो। तापनि म दैनिक जस्तो दिपायलबाट हिँडेरै आयोजनास्थल जान्थे। तर कहिलेकाहीँ सिलगढी बजार जाँदा भने घोडामा जान्थेँ। शुरूमा त घोडा चढ्न अलि डर लाग्थ्यो। तर केही समयपछि बानी पर्यो। सिलगढी बजार दिपायलबाट ठाडै उकालो दुई घण्टाको पैदल यात्रापछि मात्रा पुगिने रहेछ। सिलगढी बजार वर्षौंअगाडि काठमाडौं, पाटन र भक्तपुरबाट गएका नेवारहरूको बस्ती र त्यो भेगको व्यापारीक केन्द्र पनि रहेछ। बजारको डाँडामाथिको मैदान जस्तो ठाउँमा रहेछ। त्यसको उचाइ काठमाडौँ जस्तै करिब तेह्र सय मिटर रहेछ।
बजारभित्र टोल टोलको नाम असन, क्षेत्रपाटी जस्ता पनि रहेछन्। काठमाडौँको झल्को दिन्थ्यो। सिलगढी बजारको झण्डै बीच भागमा पश्चिम नेपालमा नाम चलेको शैलेश्वरी नामको एउटा प्रसिद्ध मन्दिर थियो। बेलाबेलामा मन्दिरामा ठूलै जात्रा लाग्दोरहेछ। पहिला सिलगढी डोटेली राजाको पालादेखि सदरमुकाम (गौडा) रहेछ। पछि तत्कालीन जलस्रोत मन्त्री नारायणप्रसाद भट्टको पहलमा सिलगढीमा सरकारी कार्यालयहरू राख्ने धेरै ठाउँ नभएर क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा सारिएको रहेछ। केही सरकारी कार्यालयहरू त्यसबेला सिलगढीमा नै थिए। पछि एकदिन पार्वतीलाई पनि घोडा चढाएर हामी सिलगढी बजार घुम्न र शैलेश्वरीको दर्शन गर्न गएका थियौं।
घिमिरेको पुस्तक 'सङ्घर्षका पाइलाहरू: एक इन्जिनियरको जीवन यात्रा'मा राखिएको 'दुर्गम क्षेत्रको जागिर र संघर्ष' शीर्षक लेखबाट।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
