सोमबार सेयर बजारमा २ अर्ब बढीको कारोबार

सोमबार २ अर्ब १० करोड ९१ लख ६३ हजार रुपैयाँ बराबरका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। कारोबार रकम भने बढेको छ।

नेप्से परिसूचक ६.४३ अंकले घटेर १ हजार ९५८.९४ विन्दुमा ओर्लिएको छ। सोमबार २ अर्ब १० करोड ९१ लख ६३ हजार रुपैयाँ बराबरका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। जुन अघिल्लो दिनको तुलनामा ५६ करोडभन्दा बढी हो।

गत वर्ष राम्रो नाफा बुक गरेर लाभांश बाड्न बाँकी रहेका कम्पनीमा लगानीकर्ताको चाप देखिएको छ। यस्तै, लाभांश घोषणा गरेका लघुवित्तको सेयरमूल्यसँगै कारोबार पनि बढेको छ।

सोमबार धौलागिरी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ८.१३ र जाल्पा सामुदायिकको ६.९३ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा जाल्पा सामुदायिक, शिवम् सिमेन्ट, नेस्डो लघुवित्त अगाडि छन्।