मृग ठानेर बन्दुक पड्काउँदा साथीको 'गयो ज्यान'

भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएपछि शवलाई अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।

प्रतीकात्मक तस्वीर

भोजपुर- भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको हो।

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।गएको असार २२ गते राति मृग ठानेर गोली हान्दा साथीको मृत्यु भएपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए। 

मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख थापाले भने, “साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ। हामीलाई सूचना आउन साथ ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ।"

पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएको थापाले जानकारी दिए। मृतकका आफन्तले असार २४ गते  खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपितहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।