सोमबार देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो र राति देशका अधिकांश भागमा वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

काठमाडौँ- मनसुन सक्रिय हुँदा सोमबार देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले पनि आंशिकदेखि सामान्य बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यी प्रदेशका अन्य स्थानमा हल्का वर्षा हुनेछ।

काठमाडौँ उपत्यकामा बिहानदेखि वर्षा भइरहेको छ। राति पनि देशभर सामान्यदेखि पूर्ण बदली  रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रहरू प्रभावित हुनसक्ने छन्। भारी वर्षाले दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाको आकलन छ।

भारी वर्षा, हावाहुरी, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।