मतपेटिका साटिने दिव्यज्ञान प्राप्त गरेको छैन : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजको अनुभवलाई आत्मासात् गरेर अघि बढनेसमेत बताए।

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ भनेर आशंका नगर्न आग्रह गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तसँगको सामूहिक छलफलमा यस्तो भनाइ राखेका हुन्। 

उनले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको बताउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने विश्वाससमेत व्यक्त गरे। सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले साटिएको मतपेटिकामा आयोगको मतपत्र नहुने प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रस्ट पारे। 

"प्रत्येक मतपत्रमा फरकफरक सेक्युरिटी कोड हुन्छ। त्यो गोप्य डायरीमा हामीले लेखेको हुन्छौँ," उनले भने, "हामीले के भन्न पर्‍यो भने कि अर्को साटने गरी मतपत्र पठाएको छ भनेर शंका गरिदिनु। त्यो मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ।"

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागि परेको समेत बताए। उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे। त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाइ थियो। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजको अनुभवलाई आत्मासात् गरेर अघि बढनेसमेत बताए। 

निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए।