सोमबार बिहानको पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

आइतबार झण्डै १८ घन्टा अवरुद्ध भएर खुलेको नारायणगढ–मुग्लिन सडक सोमबार बिहानबाट पुन: अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरोले एउटा ट्रक नै पल्टाएको छ।

आइतबार तीन नम्बर पुलमा गएको पहिरोले रोकिएका सवारी साधन। तस्वीर: रासस

चितवन- आइतबार साँझबाट खुलेको नारायणगढ–मुग्लिन सडक सोमबार बिहान पुन: अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

पहिरोले एउटा ट्रक पल्टिएको छ। अहिले पहिरो हटाउन शुरू गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। सडक दुईतर्फी नै ठप्प भएको उनले बताए। 

प्रहरीका अनुसार पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको छ। ट्रकका चालक सामान्य घाइते भएका छन्। अहिले पहिरो पन्छाउन थालिएको र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। 

उक्त स्थानमा पटक–पटक पहिरो खस्ने गरेको छ। आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो। 

नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्छन्। पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।