प्रधानमन्त्री कप : आर्मीको सेमिफाइनल सम्भावना बलियो

समूह ‘ए’ बाट एपीएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।

काठमाडौं– त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सेमिफाइनल सम्भावना बलियो बनाएको छ। आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ६९ रनले पराजित आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाएको हो।

जितको लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा ९६ रनमा अलआउट भयो। गण्डकीको लागि ओपनर समिर कँडेलले सर्वाधिक ३९ रन बनाए। उनले ९२ बलमा ५ चौका प्रहार गरे।

कप्तान विपीन खत्री १९ र अर्जुन कुमालले १४ रन बनाए। गण्डकीका अन्य ब्याटरले राम्रो गर्न सकेनन्। आर्मीका सुशन भारीले ९ ओभरमा २ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए। कुशल मल्लले र साहब आलमले २/२ विकेट लिए। विक्रम सोबले १ विकेट लिए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ४७.४ ओभरमा १६५ रनमा अलआउट भयो। आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रन बनाए। उनले ७९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

भीम सार्कीले ४५ बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाए। ओपनर अनिल मण्डल २६ र अर्जुन साउद १३ रनमा आउट भए।

गण्डकीका विपीन खत्रीले १० ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। कमल परियारले २ विकेट लिए। अमृत गुरुङ, चन्द्रकान्त पौडेल र सुवास भण्डारीले १/१ विकेट लिए।

समूह ‘ए’ बाट एपीएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।