कीर्तिपुरमा असार १५ को रौनक [तस्वीरहरू]

विश्वविद्यालयले प्रयोगमा नल्याएको पाखामा खेत बनाएर कीर्तिपुरबासीले खेती गर्दै आएका छन्। राष्ट्रिय धान दिवस (असार १५) को मौका पारेरै यहाँ रोपाइँको चहलपहल छ।

काठमाडौँ– असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ भनेर चिनिन्छ। पछिल्लो समय यो धान दिवसका रूपमासमेत मनाउन थालिएको छ। कृषिप्रधान मुलुकमा रोपाइँ भन्नसाथै एकखाले उत्सवझैँ बन्ने गर्छ। जस्तो, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खाली जग्गामा पनि कीर्तिपुरबासीले रोपाइँ गरेका छन्।

विश्वविद्यालयले प्रयोगमा नल्याएको पाखामा खेत बनाएर कीर्तिपुरबासीले खेती गर्दै आएका छन्। राष्ट्रिय धान दिवस (असार १५) को मौका पारेरै यहाँ रोपाइँको चहलपहल देखियो। कोही कुटोले कान्ला ताछ्दै थिए, कोही आली लगाउन व्यस्त थिए। कोही भने ब्याड निकालेर खेतसम्म पुर्‍याउँदै थिए। बाबुआमा खेतमा काम गर्दैगर्दा बालबालिकाहरूसमेत हिलाम्मे खेतमा रमाइरहेका देखिन्थे। 

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो। यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको छुट्टै महत्त्व पनि छ। धानबालीलाई औसत नेपालीको जीवन पद्धतिका रूपमा समेत हेर्ने गरिएको छ। त्यही भएर रोपाईले पनि एकखाले पर्वकै महत्त्व पाउँछ।