भर्ना भएको ११ दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

गएको २ गते अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ। उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ११ दिनको उपचारपछि डिस्चार्ज भएका छन्।

उनी असार २ गते अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको छातीमा पेस मेकर राखिएको थियो।

विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि बुधबार दिउँसो पौडेल राष्ट्रपति निवास फर्किएका हुन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ।

राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उनको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।