६ वटा महानगरमा एमाले शून्य हुँदा गत स्थानीय निर्वाचनमा पोखराको मेयर एकीकृत समाजवादीले जित्नु ‘चमत्कार’जस्तै थियो। कास्की–२ मा त्यही चमत्कार दोहोरिएला?
पोखरा– पहिलेदेखि नै एमालेको राम्रो पकड मानिने जिल्ला हो कास्की। निर्वाचनमा पाएको मतपरिणाम मात्र होइन, तुलनात्मक रूपमा अरूभन्दा बलियो संगठनले पनि यहाँ उसको दबाब र प्रभाव देखाउँछ। तर, गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ‘चमत्कार’ नै भयो। एमालेका बलिया उम्मेदवार कृष्ण थापालाई हराउँदै, नेकपा एकीकृत समाजवादीका धनराज आचार्य पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भए। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले कमजोर संगठनका बाबजुद पोखराजस्तो देशकै ठूलोमध्येको महानगरमा बाजी मा¥यो।
आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहँदा पोखरा र कास्की त्यति चर्चामा छैनन्। त्यसको एउटा कारण ‘हेभिवेट’ उम्मेदवार नहुनु हो। तर, एक हिसाबले कास्की चासोमा पनि छ। स्थानीय तह निर्वाचनमा ‘चमत्कार’ देखाएको एकीकृत समाजवादीले नै पोखरा समेटिने कास्की–२ बाट सत्तागठबन्धनका उम्मेदवार अघि सारेको छ। त्यसकारण पनि यो क्षेत्रको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
यसअघि रवीन्द्र अधिकारीले कास्की–२ बाट जित्दै आएका थिए। हेलिकप्टर दुर्घटनामा उनको निधन भएपछि उपनिर्वाचनमा श्रीमती विद्या भट्टराईले जितेकी थिइन्। अहिले भट्टराई नै एमालेको उम्मेदवार छिन्। सत्तागठबन्धनबाट भने एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन्। स्थानीय निर्वाचनमा एकीकृत समाजवादीका आचार्यले एमालेका थापालाई हराएझैँ बरालले एमालेकै भट्टराईविरुद्ध जित निकाल्लान्? वा स्थानीय निर्वाचनको समेत बदला लिनेगरी भट्टराईले बराललाई पाखा लगाउलिन्?
एमालेविरुद्ध पूर्वएमाले
लामो समय एमालेमा सक्रिय राजनीति गरेका बराल एक वर्षअघि पार्टी विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेका हुन्। कास्की एमालेका नेता र कार्यकर्तामाझ उनी अहिले पनि सादगी नेताका रूपमा चिनिन्छन्।
यसपालि उनले कास्की–२ मा उम्मेदवार हुन चाहेका थिएनन्। उनको चाहना कास्की–१ थियो। तर, सत्तागठबन्धनमा भागबण्डा हुँदा उनलाई कास्की–२ नै जुर्यो। त्यहीकारण भट्टराईसँग उनको भिडन्त पक्का भयो।
कुनै बेला एउटै पार्टीमा सहकार्य गरेका बराल र भट्टराईको प्रतिस्पर्धा रोचक हुनेछ। पार्टी राजनीतिमा पुराना भए पनि सधैँ ‘लो–प्रोफाइल’मा बस्दैआएका बराल संसदीय प्रतिस्पर्धाको पहिलो अनुभवबाट नै उत्साहित छन्। आफू आबद्ध हुँदाको एमाले अब उस्तै नरहेकाले पार्टीबाट विद्रोह गर्नु परेको बराल बताउँछन्। उनी भन्छन्, “अब त्यो हिजोको एमाले होइन। हिजो जो साथीहरू निर्वाचित हुनुभयो, त्यो बेला माओवादी पनि सँगै थियो।”
कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनको साथ रहेकाले उनी आफू बलियो रहेको दाबी गर्छन्। “त्यो बेलाको जितेको तथ्यांक हेरेर अहिलेको कुरा गर्नुको अर्थ छैन। त्यो पार्टी नै तीन टुक्रा भयो। एक टुक्रा मात्रै अहिलेको एमाले हो। अरू दुई टुक्रा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका रूपमा छन्”, उनले भने।
२०४६ र २०६२/६३ को जनआन्दोलन कम्युनिस्ट र कांग्रेस दुवै मिलेर सफल बनाएको, फेरि एकपल्ट उनीहरू मिलेर अघि बढ्न खोजेकाले आफू उत्साहित बनेको बरालले बताए। मतदाताबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ। के स्थानीय निर्वाचनमा पोखरा महानगरकै जस्तो परिणाम कास्की–२ मा पनि आउला त? “मैले राम्रो रेस्पोन्स पाएको छु। पक्कै पनि नतिजा राम्रै हुनेछ, यो मेरो विश्वास हो”, उनले भने।
एमाले उम्मेदवार भट्टराई पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछिन्। रोचक चाहिँ के भने, २०७६ को उपनिर्वाचनमा विद्यालाई जिताउने कमान्ड बरालले नै सम्हालेका थिए। ‘आफ्नै चुनावी सारथि प्रतिस्पर्धी बन्दा अप्ठेरो हुँदैन त?’ भन्ने प्रश्नमा भट्टराईले भनिन्, “सिंगो नेकपाभित्र जुन किसिमको ध्रुवीकरण बन्यो, त्यसले व्यक्तिलाई पनि विभाजित बनाएको छ। त्यसकारण हामी हिजोको साथीभन्दा आजको प्रतिस्पर्धी हो। प्रतिस्पर्धामा म नै बलियो छु।”
उनले आफूप्रति हिजोको सद्भाव पनि नटुटेको दाबी गरिन्। “मलाई हिजो जसले चुनाव लड्नुपर्छ भन्नुभो र जिताउनु पनि भो, अहिले पनि उहाँहरूको सद्भाव मसँगै छ”, भट्टराईले भनिन्।
कांग्रेस नेता भन्छन्– रिसइबी साँध्नेबाहेक सबैको सहयोग मिल्छ
स्थानीय निर्वाचनमा जस्तै एकीकृत समाजवादीका बरालको सबभन्दा ठूलो चुनौती हो, आफ्नोभन्दा अरू पार्टीकै समर्थकको मत तान्नुपर्ने बाध्यता। कास्कीमा एकीकृत समाजवादीको संगठन भए पनि मुख्य भरोसा कांग्रेस र माओवादी केन्द्र नै हो। त्यसमा पनि सबभन्दा धेरै भरोसा कांग्रेसकै छ।
गत स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरको टिकट हात पार्न कांग्रेस नेता–कार्यकर्ताले निकै नै जोडबल गरेका थिए। पोखराका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाकोमा निरन्तर डेलिगेसन नै गएका थिए। तर, सत्तागठबन्धनमा भएको भागबण्डाअनुसार पोखरा एकीकृत समाजवादीको भागमा पर्यो।
एकीकृत समाजवादीका धनराज आचार्य गठबन्धनबाट मेयरको उम्मेदवार बनेपछि रुष्ट बनेका कांग्रेस नेतामध्ये बागी उम्मेदवार पनि खडा भए। लाग्थ्यो, पोखराका कांग्रेसको एउटा हिस्साले उनलाई सहयोग गर्ने छैन। तर, त्यस्तो भएन। आचार्यले चुनाव जिते।
यसपालि पनि पुराना कांग्रेस नेता महादेव गुरुङले बरालविरुद्ध बागी उम्मेदवारी दिएका छन्। यो अवस्थामा बरालले कांग्रेसको कति सहयोग पाउलान्? गुरुङले ल्याउने मतले उनलाई कति असर गर्ला?
नेपाली कांग्रेस पोखरा महानगर कमिटीका सचिव गणेश थापा भने रिसइबी साँध्न उम्मेदवारी दिएकाले प्रभावित गर्नसक्ने केही मतबाहेक बरालले सबैको सहयोग पाउने बताउँछन्। पार्टीको निर्णय नै गठबन्धनका उम्मेदवार जिताउने भएकाले त्यसलाई नाघेर कोही पनि बाहिर नजाने उनको भनाइ छ। “रिसइबी साँध्नेहरूले त भोट नहाल्लान् तर, पार्टीको निर्णय नै त्यही छ। यसको अक्षरशः पालना हुन्छ”, उनले भने।।
कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्छन्। वडाध्यक्षको मतअनुसार स्थानीय तह निर्वाचनमा यीमध्ये ६ वडा कांग्रेस र ५ वडा एमालेले जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
