कक्षामा पस्नेबित्तिकै शिक्षकले ‘ल किताब खोलौँ’ भनेर पढाइ शुरू गर्नुअघि, ‘आजको दिन कस्तो भयो? कस्तो महसुस भइरहेको छ?’ जस्ता सामान्य विषयका कुराकानीबाट कक्षा शुरू गर्नु राम्रो हुन्छ।
टेलिभिजन पत्रकार/समाचारवाचीका बनेर देशका बेथिति र अव्यवस्थालाई सुधार्न पहल गर्ने सपना बोकेकी भावना श्रेष्ठले 'भावनाको क्षेत्र' महत्त्वपूर्ण रहेको ठहर गर्दै यसमै काम गर्नेबारे सोचिन्। उनी किन लक्ष्य बदलेर यस क्षेत्रमा लागिन्? भावनात्मक परिपक्वता भनेको के हो? यिनै विषयको सेरोफेरोमा रञ्जु दर्शनाले 'प्रेरणादायी महिलाहरूको कथा' श्रृंखलाअन्तर्गत उकालोका लागि भावना श्रेष्ठसँग लिएको अन्तरवार्ता :
तपाईं र तपाईंको संस्थाबारे जानकारी पाउँ न।
मेरो नाम भावना श्रेष्ठ हो। म अहिले 'माइ इमोसन्स म्याटर' नामक संस्था चलाउँछु। व्यक्तिको भावना महत्त्वपूर्ण छ भन्ने निचोड हाम्रो संस्थाको हो। संस्थामार्फत खास गरी शैक्षिक क्षेत्रमा भावनात्मक परिपक्वताको विषयबारे बुझाउने प्रयत्न गरिरहेछु। त्यससँगै, म पढ्छु र पढाउँछु। काठमाडौँ विश्वविद्यालयमा एडुकेसनल लिडरसिप ('शैक्षिक नेतृत्व) विषयमा विद्यावारिधि गर्दैछु र किङ्ग्स कलेजमा असिस्टेन्ट प्रोफेसरका रूपमा इमोसनल इन्टेलिजेन्स (भावनात्मक बौद्धिकता) विषय पढाउँदैछु।
परिवारको हुर्काउने तरिका अथवा सामाजिकीकरणले भविष्य निर्माणबारे कत्तिको असर गर्छ? व्यक्तिगत अनुभव कस्तो छ?
बच्चा हुर्काउने तरिकाले उस/उनको भविष्य निर्माणमा एकदमै फरक पार्दछ। भोलिका दिनमा म पत्रकार बन्छु भन्ने सपना देख्न पनि मैले आफ्ना अभिभावकको कारण सकेको हुँ। मेरो समुदाय, साथीभाइ, परिवार धेरै फराकिलो सोच राख्ने खालको हुनुहुन्थ्यो। त्यसैले पनि मलाई सानै उमेरदेखि नै केही गर्नुपर्छ भन्ने लाग्थ्यो। तर मेरा साथीहरूलाई ठूलो भएपछि तिमीहरू के बन्ने भनेर सोध्दा उनीहरू ‘अलिअलि पढ्ने हो, पछि बिहे गर्ने त हो’ भन्थे।
तपाईं भावनात्मक परिपक्वताको विषयमा काम गरिरहनु भएको छ। किन यस क्षेत्रमा लाग्नुभयो?
मैले संस्था खोलेरै यस क्षेत्रमा लाग्नुका पछाडि दुई कारण छन्। पहिलो, केही समय पत्रकारका रूपमा समेत काम गर्दा मुख्य गरी महिला र बालबालिकासम्बन्धी समाचार संकलन गर्न नेपालका विभिन्न ठाउँ पुग्थेँ। नेपालको अनेक ठाउँ पुग्दा मैले सोचेको, पढेको र यथार्थ समाजबीचको अन्तरले मलाई धेरै झस्कायो। विद्यालयमा भएको बलात्कारसम्बन्धी घटनाको स्थलगत रिपोर्टिङ गरेर त्यसलाई समाचार बनाएर प्रसारण गरेपछिको परिणामले मलाई भावनाको क्षेत्रमा काम गर्न प्रेरित गर्यो।

मलाई उतिखेर मिडिया निकै शक्तिशाली हुन्छ, बलात्कारबारे समाचार बनिसकेपछि त्यो मुद्दाले समाजमा केही परिवर्तन ल्याउँछ र अपराधी कानूनी दायरामा आइपुग्नेछन् भन्ठान्थेँ। तर त्यस्तो भएन! त्यो कुराले मलाई गम्भीर प्रभाव पार्यो, समाज बुझ्न अझै धेरै बाँकी छ भन्ने लाग्यो। त्यसपछि म एउटा संस्थाको फेलोसिपमा नेपालको दूरदराजका स्कुलमा गएर विद्यार्थीहरूलाई पढाउन पुगेँ। त्यसबाट थप कुरा बुझ्ने मौका मिल्यो।
'भोलन्टर शिक्षक'का रूपमा काम गर्दा तपाईंले कस्तो अनुभव गर्नुभयो? आफूमा के परिवर्तन पाउनुभयो?
बच्चाहरू कति धेरै कुराबाट गुज्रिरहेका हुन्छन् भन्ने चेतना उनीहरूलाई पढाउन थालेपछि झनै बढी थाहा पाएँ। हामी 'पढ्नु पर्छ, पढ्न पर्छ' भन्छौँ तर त्यसो भनेर मात्र नहुने रहेछ। बच्चाले नपढ्नुको कारणसमेत बुझ्न पर्ने रहेछ। मैले पढाउने विद्यार्थीमध्ये कति एकल आमा थिए त, कति त निम्न वर्गका विद्यार्थीहरू पढ्न आउँथे। कतिको त बुवाको ठेगान थिएन! ती बच्चाहरूलाई पढ्नुपर्छ भनेर मात्र उनीहरूको ध्यान पढाइमा केन्द्रित नहुने रहेछ। यही घटनाक्रमले मलाई मान्छेको भावनाबारे विस्तृत अध्ययन गर्न प्रेरित गर्यो।
मैले पढाउँदै गर्दाताक (विसं. २०७२) महाभूकम्प गयो। त्यसपछि समाजमा मनोसामाजिक परामर्शको झनै आवश्यकता देखिन थाल्यो। म कुनै पनि भावना किन अनुभूति गर्छु भन्ने प्रश्नले मलाई सोच्न बाध्य बनाउन थाल्यो। यसकै सेरोफेरोमा मैले भावनात्मक परिपक्वता भन्ने शब्द पनि थाहा पाएँ र यस क्षेत्रमा बिस्तारै काम गर्न थालेँ। चार वर्षअघि पुरुष सहकर्मीसँग मिलेर हामीले आफ्नो संस्था दर्ता गर्यौँ।
नेपालको हकमा भावनात्मक परिपक्वताको क्षेत्रमा कस्ता समस्याहरू पाउनु भएको छ?
हाम्रोमा धेरै समस्या छन्। बिस्तारै 'न्युक्लियर समाज'तर्फ उन्मुख हुँदै गए पनि हामी सामूहिक समाजमा बस्छौँ। हरेक पुस्ताको आफ्नो बुझाइ हुन्छ, तर आफ्नो बुझाइबारे कुरा नहुनु नै ठूलो समस्या हो। हाम्रा हजुरबुवा–हजुरआमा, हाम्रो बुवा–आमा, हामीहरू र हुर्किँदै गरेको पुस्ताले देखेको नेपाल र बुझेको समाजमा धेरै फरक छ। म कस्तो आमा? म कस्तो बुवा? म यो समाजअनुसार कस्तो हो त जस्ता सामान्य प्रश्नहरूसमेत हामीले आफैँलाई सोधेका हुँदैनौँ। आफूलाई के गर्यो भने खुशी मिल्छ? आफूलाई कुनै साथी मन पर्नुको कारण के होलाजस्ता प्रश्नसमेत आफैँले आफैँलाई कहिल्यै सोधेका छैनौँ।

भावना श्वासप्रश्वासजस्तै हो। अक्सिजन लिने र कार्बन्डक्साईड फाल्ने काम सामान्य हो। यसैगरी हाम्रा भावना पनि हामीले चाहेर वा नचाहेर प्रस्फुटन भइरहेका हुन्छन्। हामीले यी कुरा बुझ्न धेरै जरुरी छ। तर हाम्रो समाजमा मानवीय भावनाका अनेकौँ पक्षबारे धेरै व्यक्तिलाई चासो नै छैन।
भावनाका कुरा भौतिक अवस्थासँग समेत जोडिएको हुन्छ होइन र? आर्थिक रूपमा समृद्ध हुँदा धेरै हदसम्म भावनात्मक समस्या पनि समाधान हुन्छन्, होइन र?
आधारभूत आवश्यकता पूरा हुँदैमा मात्र भावनात्मक रूपमा बलियो हुनसक्छ भन्ने हुँदैन। सुखी हुनु र दुखी हुनु मात्रै भावनाका बयान होइनन्। कोही धनी हुनेबित्तिकै खुशी हुने र गरिब हुनेबित्तिकै दुखी हुने भन्ने हुँदैन। खासमा आफूलाई कसरी चिनिन मन छ? आफूमा उत्पन्न हुने भावनाहरू किन महसुस गर्छौं? आफ्नो वर्तमान सामाजिक, आर्थिक अवस्थालाई हामी कसरी लिइरहेको छौँ? त्यो कुराले के महसुस हुन्छ भन्ने थाहा पाउन र स्वीकार गर्ने कुरा पनि निकै महत्त्वपूर्ण हुन्छ। यी प्रश्नहरूले नै कोही पनि मानिस कति खुशी हुने वा दुखी हुने कुरा निर्धारण गर्दछ।

भावनाकै एउटा रूप ‘रिस’ हो। रिस पनि फरक हुन्छन्। रिस खासमा सामाजिक हुन्छ, किनभने मलाई जुन कुराले रिस उठ्छ, तपाईंलाई त्यही कुराले रिस नउठ्न सक्छ। एउटा महिलालाई के कुराले रिस उठ्छ र पुरुषलाई के कुराले रिस उठ्छ फरक हुन्छन् भन्ने कुरा हाम्रो सामाजिकीकरण अनुसार तय हुन्छ। महिला र पुरुषलाई हुर्काउने तरिकाबाट फरक पर्छ।
तपाईं पढाउने तरिका अर्थात् पेडागोजि (पेडागोजी) बारेसमेत कार्यक्रमहरू चलाउनुहुन्छ। पढाउने तरिकाबारे केही बताउनुहोस् न।
हामी कक्षा ११–१२ पढ्दाताक शिक्षकहरू कक्षामा छिरेर नोट पढ्नुहुन्थ्यो। त्यही कुरा लेख भन्नु हुन्थ्यो, परीक्षामा तिनै विषय प्रश्नका रूपमा आउँछ भन्नुहुन्थ्यो। मैले एक दिन आफ्ना शिक्षकलाई ‘यसरी पढाउने हो र?’ भन्दै प्रश्न गरेँ। उहाँले ‘कसरी पढाउने हो त?’ भनेर प्रतिप्रश्न गर्नुभयो। ‘कसरी पढाउने भन्नेबारे त मलाई थाहा छैन, तर यसरीचाहिँ पक्कै होइन’ भनेँ। पढाउने पुरातन तरिकामा 'खररर पढाउने' भन्ने बुझिन्छ, जबकि पढाउने विषय निकै बृहत् हो।
अर्को कुरा, हाम्रोमा पढाउने कामलाई पूर्णकालीन पेसाका रूपमा समेत लिइन्न। जबकि, पढाउने पेसा आफैँमा धेरै गम्भीर विषय हो। पढाउन हरेक कक्षाअनुसार फरक रणनीति चाहिन्छ। विद्यार्थीअनुसार समेत रणनीति आवश्यक पर्न सक्छ, किनकि हरेक विद्यार्थीको छुट्टै सामाजिक, पारिवारिक परिवेश हुन्छ। विद्यार्थीसँग बसेर कुरा गर्यो भन्ने छुट्टै धारणा आउन सक्छ। शिक्षणमा शिक्षक सर्वेसर्वा/हाबी हुने र विद्यार्थी केही होइन भन्ने मानसिकता हाम्रोमा छ। त्यसमा व्यापक परिवर्तन आवश्यक छ। 'पेडागोजि' नयाँ विषय पनि होइन। यसको प्रयोग र चर्चा हुन थालेकै पनि २०–३० वर्ष भइसक्यो।
कक्षाकोठामा भावनात्मक परिपक्वतालाई कसरी जोड्न सकिन्छ?
भावनात्मक परिपक्वतामा नयाँ कुराहरू लिएर आउनै पर्दैन। दैनिक पाठभित्रै स–साना कुरा थप्न सकिन्छ। जस्तै: कक्षामा पस्नेबित्तिकै ‘ल किताब खोलौँ’ भनेर शुरू गर्नुअघि, ‘आजको दिन कस्तो भयो? कस्तो महसुस भइरहेको छ?’ जस्ता सामान्य विषयका कुराकानीबाट पनि कक्षा शुरू गर्न मिल्छ। पढाउने मान्छे पनि त मानव हो, जसलाई पनि तनाव हुन्छ। विद्यार्थी पनि उस्तै हुन्, त्यसैले शिक्षक र विद्यार्थीले समान बिन्दुमा आएर पढाउने र पढ्ने काम गर्न सक्छन्।

युवा र त्यसमाथि महिला भएका कारण विश्वविद्यालय र अन्य संस्थामा काम गर्न कति सहज/असहज महसुस गर्नुहुन्छ?
पहिले पहिले पुरुष सहकर्मी र म विद्यालयहरूमा सँगै कार्यशाला गर्न जाँदा भेदभावको अनुभूति मैले गरेकी थिइनँ, तर हालै म एक्लै त्यस्ता कार्यशालाहरू सञ्चालन गर्न जाँदा भने धेरै फरक महसुस गरेँ। जस्तै: तपाईंले नै पढाउने हो? तपाईं त शिक्षकभन्दा मोडेलजस्तो देखिनुहुन्छ लगायत धेरै व्यक्तिगत प्रश्नहरू सोधिए। महिला भएकै कारण मैले आफ्नो शैक्षिक योग्यता र पृष्ठभूमिबारे प्रमाण पेस गर्नुपर्ने दबाब महसुस गरेँ, जबकि मेरो पुरुष सहकर्मीलाई कहिले पनि त्यस्तो दबाब हुने गरेको छैन।
हरेक मानिसमा फरक भावनात्मक आवश्यकता हुन्छ। त्यसका केही उदाहरणहरू दिन सक्नुहुन्छ?
कुनै एउटै घटनाले कोही मान्छे धेरै खुशी हुनसक्छ भने कोही मान्छेलाई त्यो कुरा सामान्य लाग्न सक्छ। जस्तै: कोही मान्छे सानैदेखि कक्षामा प्रथम हुने गरेको छ भने उस/उनलाई कुनै बेला दोस्रो हुनुपर्दा अधिक तनाव हुन्छ। बाहिरबाट देख्ने मान्छेलाई त उ दोस्रो भयो, कस्तो गजब भन्ने लाग्न सक्छ, तर भोग्नेको अनुभव बिलकुल फरक हुन्छ।
अर्को उदाहरण, हामी धेरैजसो ठान्छौँ–आमा बन्नु धेरै महिलाको लागि धेरै खुशीको कुरा हो। तर सबै महिलाका लागि सो विषय खुशीको कुरा नहुन सक्छ। आफू सानो हुँदा आमाबाट आत्मीयता नपाएको व्यक्तिले आफैँ आमा बन्दा अन्य महिलासरह नै मातृत्वको महसुस नगर्न सक्छन्। म किन म जस्तो छु र अरू किन अरूजस्ता छन् भन्ने कुरा बुझ्यौँ भने हामीले एक अर्कालाई बुझ्न र बुझाउन सजिलो हुन्छ।

आजका युवाहरू आफ्नो भावनाबारे कत्तिको सचेत रहेको पाउनु भएको छ?
हालै मैले दुई सय जना विद्यालय स्तरका छात्राहरूको भावनात्मक परिपक्वताबारे सर्वेक्षण गरेकी थिएँ। उहाँहरू आफ्नो भावनाबारे आमा बुवासँग कुरा नगरेर सामाजिक सञ्जालमा भने अमूर्त किसिमले कुरा राख्ने गर्नु हुँदोरहेछ। उहाँहरूलाई त्यसरी नै सहज हुने रहेछ। कतिपय युवालाई भावनात्मक परिपक्वता र मानसिक स्वास्थ्यबारे जागरण छ तर अभ्यासमा ल्याउँदैनन्।
अन्त्यमा, केही कुरा छुटेका छन् भने भन्नुहोस्।
हामीले जे जति कुरा गर्यौँ, तिनलाई अभ्यासमा ल्याउने कुरा महत्त्वपूर्ण हो। मलाई के कुराले र कस्तो बेला भावनात्मक रूपमा असहज वा कस्तो बेला सहज हुँदो रहेछ भन्ने कुरा आफैँले बुझ्नुपर्यो। गाह्रो हुँदा कसलाई र के भन्नु पर्ने हो? त्यसबारे प्रस्ट हुनुपर्यो। यस्ता साना कुराहरूबारे नै थाहा नहुँदा पछि यही कुरा हुर्केर बढ्दै जाने हो र समस्याले ठूलो रूप लिने हो। हामी आफ्नो काँधमा देश परिवर्तनको मुद्दा छ भन्दै हिँड्छौँ, तर कमजोर मन लिएर हिँडिरहेका हुन्छौँ। कमजोर आत्मबलले देश परिवर्तन कसरी सम्भव हुन्छ?
अतः आफ्नो भावनात्मक स्वास्थ्यबारे ख्याल गरौँ। सामान्य कामहरू; जस्तै: हरेक दिन आज मेरो दिन कस्तो भयो भनेर याद गरौँ। बिहान म के चाहन्छु? चिया चाहिन्छ जस्तो लाग्ला, तर साँच्चिकै चाहिन्छ कि चाहिँदैन भन्ने कुरा आफैँ भित्रबाट थाहा पाउँ। यी स–साना भावना बुझ्ने कार्यले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छन्। आफूभित्रको स–सानो भावनाबारे सचेत हुँदै जाँदा भावनात्मक स्वास्थ्य राम्रो हुन्छ र जीवन सहज हुन्छ।
हामीले हाम्रो भावना बुझ्न सके मात्र आफैँलाई चिन्न सक्छौँ, आफ्नो उद्देश्य प्राप्त गर्न सक्छौँ। हामी मानिसहरूलाई यही कुरा बुझाउन मद्दत गर्छौं।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
