नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भयो: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर ठूला दलहरूले लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए।

गोरखा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरूले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन्। शनिबार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताएका हुन्। 

अध्यक्ष लिङ्देनले देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरूमा रहने गरेको आरोप लगाए। उनले राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गरे। 

उनले नेकमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभई विदेशीका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताए। उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थनबिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे।

उनले नेपाली नेतामा विदेशीसामू आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए। "नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीले भन्न थालेका छन्। नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थनबिना मन्त्री हुन सकिँदैन। प्रधानमन्त्री हुन सकिँदैन। भइयो भने पनि टिक्न सकिँदैन भनेर विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको छ," उनले भने।

अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे।