वाग्नर प्राइभेट मिलिटरी कन्ट्र्याक्टरका प्रमुख प्रिगोजिनले शनिबार बिहान आफूसहित आफ्ना सेनाहरू युक्रेनबाट फर्किएर रुसको प्रमुख शहर रोस्टोभ-अन-डनमा पुगेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले घोषणा गरेको सशस्त्र विद्रोहबाट देशको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “विद्रोहको तयारी गर्ने सबैले अवश्य सजाय भोग्नेछन्। सेना र अन्य सरकारी निकायलाई आवश्यक आदेश दिइएको छ,” पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै शनिबार भने।
वाग्नर प्राइभेट मिलिटरी कन्ट्र्याक्टरका प्रमुख प्रिगोजिनले शनिबार बिहान आफूसहित आफ्ना सेनाहरू युक्रेनबाट फर्किएर रुसको प्रमुख शहर रोस्टोभ-अन-डनमा पुगेको बताएका छन्।
प्रिगोजिनले युक्रेनमा जारी लडाइँको नेतृत्व गरिरहेको रुसी सैन्य मुख्यालयलाई एउटा भिडियो सन्देश पठाउँदै आफ्नो सेनाको नियन्त्रणमा रहेको शहरमा हवाईलगायत सैन्य सुविधा रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ट्यांकलगायत सेनाका सवारीसाधनहरू बाहिर सडकमा रहेको देखिएको एपी न्युजले जनाएको छ।
रुसले युक्रेनमा युद्ध गरेर ‘आफ्नो भविष्यको सबैभन्दा कठिन लडाइँ लडिरहेको’ बेला पुटिनले विद्रोहको निन्दा गरेका हुन्। पुटिनले भने, “पश्चिमाहरूको सम्पूर्ण सैन्य, आर्थिक र सूचना मेसिन हामीविरुद्ध लडिरहेको छ।”
प्रिगोजिनले युक्रेनबाट रुस प्रवेश गर्ने क्रममा जाँच चौकीहरूमा रहेका ‘युवा सेना’बाट प्रतिरोध नभएको बताउँदै आफ्ना सेनाले बालबालिकाविरुद्ध लडाइँ नगर्ने उद्घोष गरे। “तर हाम्रो बाटोमा उभिने जो कोहीलाई छाडिने छैनौँ,” उनले शुक्रबार अबेर सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो र अडियो रेकर्डिङको शृंखला भनेका छन्, “हामी अगाडि बढिरहेका छौँ र अन्त्यसम्म जानेछौँ।”
रुसी सुरक्षा सेवाले प्रिगोजिनले सशस्त्र विद्रोहको घोषणा गरेपछि उनको गिरफ्तारीको माग गरेको थियो। क्रेमलिनले उनको कदमलाई गम्भीरतासाथ लिएको देखिन्छ। किनभने रुसी अधिकारीहरूले मस्को र यसको वरपर ‘प्रतिआतंकवाद नियन्त्रणसम्बन्धी शासन व्यवस्था’को घोषणा गरेका छन्, जसले स्वतन्त्रतालाई सीमित पार्छ र राजधानीमा सुरक्षा बढाउन अनुमति दिन्छ।
प्रिगोजिन कसरी दक्षिणी रुसी शहरभित्र पस्न सफल भए या उनीसँग कति सैनिक थिए भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन।
रक्षामन्त्री सर्गेई शोइगुसँग रोस्तोभमा भएको बैठकपछि जनरल स्टाफका प्रमुख जनरल भालेरी गेरासिमोभको आदेशमा युक्रेनको वाग्नेर फिल्ड क्याम्पमा रकेट, हेलिकप्टरलगायतबाट प्रहार गरिएको प्रिगोजिनले आरोप लगाएका छन्। उनले आफ्नो सेनाले रुसी सेनाको हेलिकप्टर खसालेको र एउटा नागरिकको लस्करमाथि गोली चलाएको पनि बताएका छन्।
प्रिगोजिनले आफ्नो कमान्डमा २५ हजार सैनिक रहेको दाबी गरेका छन्। उनले सशस्त्र विद्रोह शोइगुलाई सजाय दिनका लागि भएको बताउँदै सेनालाई प्रतिरोध नगर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “यो सैन्य कु होइन, तर न्यायको मार्च हो।”
मस्कोलाई भाडाका सैनिक उपलब्ध गराउँदै आएका प्रिगोनिजको ‘विद्रोह’को परिणाम अझै स्पष्ट छैन। तर, यसले मस्कोको युद्ध रणनीतिमा बाधा पुर्याउने सम्भावना देखिन्छ।
एपी न्युजका अनुसार वाग्नर सेनाले युक्रेनमा जारी रुसको युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा लामो युद्ध भएको शहर बखमुतलाई आफ्नो कब्जामा लिन सफल भएको थियो। तर प्रिगोजिनले रुसको सैन्य नेतृत्वको क्षमतामाथि प्रश्न उठाएका छन्। उनले हतियार र गोलाबारुदको अभाव देखिएको र आफ्ना सेनालाई भोकभोकै राखेको आरोप लगाउँदै रुसी सेना प्रमुखको आलोचना गर्दै आएका छन्।
संघीय सुरक्षा सेवा (एफएसबी) अन्तर्गतको राष्ट्रिय आतंकवादविरोधी समितिले शुक्रबार प्रिगोजिनलाई सशस्त्र विद्रोहको आह्वान गरेको आरोप लगाएको थियो।
एफएसबीले वाग्नरका भाडाका सैनिकहरूलाई प्रिगोजिनलाई गिरफ्तार गर्न र उनको ‘आपराधिक र विश्वासघाती आदेशहरू’को पालन अस्वीकार गर्न आग्रह गरेको थियो। उनले दिएको अभिव्यक्तिलाई ‘रुसी सेनाको पिठ्युँमा छुरा प्रहार’को संज्ञा दिँदै यसले सशस्त्र द्वन्द्व भड्काएको बताएको छ।
मध्य मस्कोका विभिन्न भागमा शनिबार बिहानै ठूलो संख्या सैन्य ट्रक र बख्तरबन्द सवारीसाधनहरू देखिएका थिए। रक्षा मन्त्रालयको मुख्य भवनबाहिर अत्याधुनिक हातहतियार प्रयोग गर्ने सैनिकहरू तैनाथ गरिएका थिए। रेड स्क्वायर नजिकैको राष्ट्रपति प्रशासन वरपरको क्षेत्रमा प्रतिबन्ध लगाइएको थियो। एपी न्युजको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
