साहित्य र संरचनामा अत्युत्तम भए पनि कुनै पनि कृति र दर्शनको महत्त्व तथा उपदेयता समाज परिवर्तनमा त्यसको योगदानमा हुन्छ।
गीता एक अनुपम एवं अद्वितीय प्राचीनतम ग्रन्थ हो भन्न सकिने थुप्रै आधार छन्। अरू धेरै प्राचीन कृति उत्कृष्ट होलान् तर लोकप्रियता, विवाद र दर्शनले भरिएको यो कृतिको स्थान अलग छ। सनातनीहरूका अनेकन् ग्रन्थ छन् तर गीता पनि सनातनीहरूको पर्यायवाची परिचयका रूपमा चर्चा कमाएको ग्रन्थ भएका कारण कसैले यसलाई आलोचनाभन्दा माथि राख्ने गरेका छन्। प्लेटोको 'रिपब्लिक'जस्तै प्रश्नोत्तरले भरिएको यो पुस्तकलाई कतिपयले असीम ज्ञानको खानि मान्छन्।
गीतालाई कृष्णको अवर्णनीय र अनिर्वचनीय वाणीहरू र विचारधाराको सङ्ग्रह भनिन्छ, मानिन्छ। गीतालाई नर (मान्छे) र नारायण (परमेश्वर) बीचको संवाद भन्ने गरिन्छ। यहाँ कृष्ण एक अद्भुत, जटिल, कुशल र कुटिल अभिनेता हुन्, जसको विद्वता र कूटनीति प्रवीणताको विरलै अन्य मिथक पात्रहरूसँग तुलना हुनसक्छ। कृष्णका अनेक रूप, भेस र छद्महरू छन्: बाल कृष्ण, व्रज या गोपिनीहरूका प्रिय प्रेमी कृष्ण, कंस वध गर्ने कृष्ण र महाभारतका कृष्ण या अर्जुन सखा कृष्ण।
गीताको उद्देश्य के हो? किन गीता रचिएको थियो, कृष्णको मुखारबिन्दबाट किन गीता प्रस्फुटित भयो भन्ने कुरा हिन्दू समाजमा संदेहातीत छ। आस्तिक या विश्वासीहरू गीतालाई प्रभूबाणी मान्छन्। प्राय धेरैको मतैक्य छ: लोक कल्याणार्थ कृष्ण धर्तीमा अवतरित भएका हुन् र उनले जे बोले, त्यो निर्विवाद, अपरिवर्त्य र निर्विकल्प थियो र रहन्छ। किनकि अनुयायीहरूका लागि त कृष्ण विधाता हुन्।
गीता आकारको हिसाबले एउटा लघु पद्यात्मक पुस्तक हो। यसलाई पूर्वीय दर्शनको आधार स्तम्भ हो भन्नुमा अतिरञ्जन नहोला। उसो त सम्पूर्ण वेदान्तको सार संक्षेप गीताभित्र भेटिन्छ समेत भनिन्छ। कतिपय विद्वानहरू गीताको महिमा वर्णन गर्नुमा आफ्नो सार्थकता र उपलब्धि अनुभूत गर्छन्।
साहित्य र संरचनामा अत्युत्तम भए पनि कुनै पनि कृति र दर्शनको महत्त्व तथा उपदेयता समाज परिवर्तनमा त्यसको योगदानमा हुन्छ। त्यसो हुँदा महाभारत युद्धको उपादेयता तात्कालिक समाज या जनताको लागि कत्तिको थियो अथवा केवल अंशबन्डाको लागि सो भयानक लडाइँ लडिएको थियो भनेर प्रश्न उठाउन सकिन्छ। जुनसुकै विषयको बस्तुपरक मूल्याङ्कन आवश्यक छ। गीताको पनि तटस्थ समीक्षा आवश्यक छ, जुन आफैँमा चुनौतीपूर्ण काम हो।
महाभारतको युद्धको संघारमा भएको यो वार्तालापमा एकातिर अर्जुन देखिन्छन्, जो आफूमाथि आएको युद्ध(हिंसा)को कार्यभार या उत्तरदायित्वको कुरा लिएर भ्रान्त थिए। कमजोर, विचलित र सन्दिग्ध अर्जुनलाई युद्धमा प्रेरित गर्न रथ चालक (सारथि) कृष्ण अठार अध्याय गीता सुनाउँछन्।
प्रश्न र सांख्ययोग
गीता के कारण पनि विशेष छ भने यसमा स्थापित सत्यमाथि प्रश्न गरिन्छ, चुनौती दिइन्छ, संशोधन गरिन्छ, समयानुकूल या आफू अनुकूल बनाइन्छ। अर्थात् कृष्णले यो अठार अध्याय गीताद्वारा अर्जुनलाई रूपान्तरित गरिछाडेका थिए।
पूर्वीयहरू मात्र नभएर पश्चिमी बुद्धिजीवीहरू समेत गीताको अर्थ र उदात्तताको चित्रण गर्नुमा आफ्नो गौरव र प्रतिष्ठा अनुभव गर्छन्। तिनमा ऐल्डस हक्स्ले, राल्फ वाल्डो इमर्सन, रोबर्ट ओपेनहाइमर, हेनरी डेविड थोरो, कार्ल जंग आदिले गीताको गरिमाको गान गरेका छन्। पूर्वीय विद्वानहरूमध्ये सर्बपल्ली राधाकृष्णदेखि अरविन्दो, बिबेकानन्ददेखि महात्मा गान्धीहरूसमेत गीता दर्शनमा आफ्नो जीवनको राह र सार्थकता भेट्थे।
आखिर गीतामा के छ त्यस्तो गहनतम विषयवस्तु या दर्शन, जसले एकसेएक विद्वान् र प्रबुद्ध जमातहरूलाई आकर्षित गर्न सकेको छ?
चाहे त्यो ऐतिहासिक होस् या साहित्यिक अथवा दार्शनिक, जुनसुकै पुस्तक पढ्दा त्यसको विविध आयाम र पक्ष पनि बुझ्नु जरुरत हुन्छ। गीताको सबभन्दा गहनतम दर्शन हो 'साङ्ख्य योग', जुन कृष्णले अर्जुनलाई गीताको द्वितीय अध्यायमा प्रस्तुत गरेका छन्। त्यसमा "स्थितप्रज्ञ' शब्द उल्लेख छ, जसका अनेक अर्थ हुन सक्छन्। तर अति गुह्य अर्थ स्थिर बुद्धि या समभाव हो। सायद गीताको निचोड या सार नै यही होला भन्न सकिन्छ। तर के व्यक्तिको जीवनमा समभाव सम्भव छ?
कृष्ण पुस्तकमा युद्धको परिणामप्रति समभाव राख्न भनेर अर्जुनलाई आज्ञा गर्छन्, "तिमि उठ, गाण्डीव धनु उठाऊ र युद्ध गर। जब तिमि जित र हारको परवाह गर्दैनौ। पाप र पुण्यप्रति पनि बेफिक्र हुन्छौ भने तिमिले कसैलाई मार्यौ भने पनि तिमि त्यस पापको अभियुक्त ठहरिने छैनौ। तिमि मात्र कर्म गर्छौ, तिमि मात्र निमित्त हौ या हुने छौ, कर्ता अर्कै हुनेछ। तर तिमि युद्धबाट पन्छिन्छौ भने तिमि कायर ठहरिनेछौ।"
कृष्णको यस्तो सल्लाहमा अर्जुन दोधार र धर्मसंकटमा पर्छन्। अझै उनी अन्योलमा छन्। उति साहसिक मानिएका योद्धा किङ्कर्तव्यविमूढ झैँ देखिन्छन्। कृष्ण अर्जुनको अनुहार हेर्छन् र देख्छन् अर्जुन अझै व्याकुल र आर्त छन्। त्यसपछि कृष्ण अर्जुनलाई दर्शनको गहिराइतिर लैजान खोज्छन्।
कृष्ण भन्छन्-हेर, अर्जुन बुद्धिमानी व्यक्ति (गीतामा 'व्यक्ति'को सट्टा 'पुरुष' उल्लेख छ) न जीवितमाथि लालायित हुन्छन्, नत मृतप्रति नै शोकाकुल। तिमि बुझ्ने कोसिस गर-तिमि, म र यी राजाहरू सधैँ थिए, अहिले छन् र पछि पनि हुने छन्। मर्नु भनेको त केवल वस्त्र परिवर्तन गर्नु मात्र हो। भनिएको छ:
वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही ॥ २-२२॥
(मान्छेले पुरानो जीर्ण वस्त्र त्यागेर नयाँ वस्त्र लगाउँछ, आत्माले पनि जीर्ण शरीर त्यागेर नयाँ सरिरमा प्रवेश गर्छ। तसर्थ आत्मा न जन्मिन्छ,न मर्छ नै। तसर्थ तिमि असंदेह गाण्डीब धनु उठाऊ र युद्ध गर। तिमि हृदयको तुच्छ दुर्बलतालाई त्याग गरेर युद्धको लागि उठ, जाग।)
यसो भनेर कृष्णले अर्जुनलाई 'हृदय' (भावना) होइन, मस्तिष्क (तर्क) प्रयोग गर्नुपर्छ भन्नेमा जोड दिएको देखिन्छ। खासमा आजको पुँजीवादी व्यवस्थामा कामदारहरूमाथि शासकहरूले लिने व्यवस्थापन या प्रबन्धनको रणनीति पनि करिब यस्तै हो।
गीता रणनीतिहरूको सङ्ग्रह हो। अर्जुनलाई तर्क शास्त्र प्रयोग गरेर युद्धका लागि उक्साउनु र मनाउनु यसको प्रमुख लक्ष्य हो। शास्त्र मान्ने अर्जुन युद्ध गर्न हच्किन्छन्। मार्नुलाई पाप भन्छन्। त्यसमाथि आफ्ना गुरु, पितामह र अन्य मान्यजनलगायत आफन्तको हत्यालाई महापाप मान्छन्। तर कृष्णले बढो चातुर्य र बिलकुलै अपराम्पराबादी बिचारबाट अर्जुनलाई रूपान्तरण गरिदिन्छन्। कृष्णका तर्कबाट प्रभावित अर्जुन अन्ततः कृष्णप्रति नतमस्तक बन्छन् र युद्धमा होमिइन्छन्।
युद्ध न्यायसङ्गत हुनसक्छ?
खासमा कुनै पनि युद्ध 'धर्मयुद्ध' हुन सक्दैन। उद्देश्य जे भए पनि नरसंहार बीभत्स अपराध हो। महाभारतको महासङ्ग्राममा अगणित मान्छेहरू मरे। असङ्ख्य आमाहरूले उनका छोराहरू गुमाए। पत्नीहरूले पति गुमाए। पाण्डवहरू विजय भए र राज्य पाए। उनीहरूले पनि त आफ्ना पुत्रहरू गुमाए। तिनले पनि आखिर के कमाए त? खालि ती दुखी आमाहरूको आँसु। ती आर्त, अनाथ बालबच्चा र विधवा नारीहरूको क्रन्दन, बिचल्ली र बरबादी।
युद्ध युद्ध हो, हिंसा हो, जघन्य अपराध हो। मार्नु र मर्नु गलत हो, धर्मको नाममा होस् या राष्ट्रवादको नाममा। त्यसको भर्त्सना र प्रतिवाद गर्नु पर्छ। युद्ध चाहे राज्यको लागि या होस् या अरू कुनै उद्देश्यको लागि, चाहे देशभक्तिबाट प्रेरित भएर नै किन नहोस्, त्यो निन्दित र तिरस्करणीय छ। आजको चेतनाले नियाल्दा आन्दोलन र विद्रोहका अनेकौँ रूप हुन सक्छन्, तर कसैको बाँच्ने हक खोस्नु महाअपराध हो।
यद्यपि,धर्मान्ध, मतान्ध, हठधर्मी, कट्टरपन्थी र अतिराष्ट्रवादीहरु युद्ध रुचाउँछन्। बिपी कोइरालाले बढो मर्मस्पर्शी शब्दहरूमा महाभारत युद्धको प्रतिघात आफ्नो पुस्तक मोदिआइनमा वर्णन गरेका छन्, "युद्ध जुध्यो, अठार दिनसम्म अनवरत मृत्यु यन्त्र चालित भइरह्यो। कच कच कच कच, असङ्ख्य मानिसका कोमल गर्दन कच कच कच कच काटिँदै गए, काटिँदै गए।… स्वर्गको कुन थलामा भोकाएको ईश्वर बसिरहेका थिए; उनको क्षुधा अझै निवारण भएको छैन। नर मुण्डमाथि नर मुण्ड चढाउ उनलाई; …युद्धमा केवल सात जना बाँकी रहे, लाखौँ पुरुष मारिए। पृथ्वी पुरुषबाट शून्य भयो। केवल बिधुवा नारी आफ्ना असहाय बाल सन्तानलाई आफ्नो पागल छातीमा टाँसेर बाचिरहे यस लोकमा।"
कथाअनुसार अर्जुन सामान्य राजकुमार थिए भने कृष्ण बहुत चतुर, निपुण र कुशल कूटनीतिज्ञ थिए। शास्त्रलाई आफ्नो लिन सक्ने योग्यताका थिए उनी। उसो त शास्त्र जहिले पनि शक्तिशालीकै पकडमा हुन्थ्यो र हुन्छ। अर्जुन निःसहाय, लाचार र व्याकुल थिए भने कृष्ण सर्वप्रिय, सर्वशक्तिमान् र शास्त्रका सुविज्ञ थिए। उनी शास्त्र अर्थात् त्यस समयको नीति नियम र कानुन आफू अनुकूल व्याख्या गर्न सक्थे।
प्रगाढ ज्ञान भएका कृष्णमा अत्यधिक वाक्पटुता थियो। उनमा इस्वरारुढ थियो, अर्थात् उनी ईश्वरकै अवतार हुन् भन्ने कुरामा जनसमुदाय आश्वस्त र विश्वस्त थिए। बिचरा भोलाभाला अर्जुनले उनका गहिरा दार्शनिक कुराहरू कसरी बुझ्न सक्थे?
गीता महाभारतभित्रकै एक भाग हो, संस्करण हो। महाभारत विश्वकै विशालतम र जटिल साहित्य हो। व्यासले कतै उल्लेख गरेका छन्, "यसमा भएका कथाहरू अन्त कतैतिर पनि होला, तर यसमा नभएको अरू कतै तिर हुने छैन।" हुन पनि ब्यास रचित महाभारतमा सबै शास्त्र सङ्गृहीत छ। यो अरू शास्त्रहरूभन्दा माथिल्लो दर्जाको यस कारण पनि साबित हुन्छ, किनकि पुरातन या परम्परावादी बिचारबाट यो प्रतिबन्धित छैन। महाभारतभित्रको सबैभन्दा सारगर्भित या गहकिलो संस्करण हो गीता।
गीता पूर्वीय दर्शनमा सर्वोपरि छ भन्नुको अर्थ पाठकले यसको दर्शन, उद्देश्य, अभिप्राय र प्रयोजनसँग सहमत राख्नुपर्छ भन्ने होइन। यसको साहित्यिक औचित्य या दार्शनिक अभेद्यताको अनुभूत गर्दागर्दै पनि यसको गुण र दोषप्रति पाठकको पृथक् धारणा हुनसक्छ। महाभारत युद्धको संखनाद नरसंहारको द्योतक थियो। भगवानकै इच्छामुताबिक भए पनि युद्ध गलत हो।
अङ्ग्रेजीमा एउटा कहावत छ: नरकको बाटो राम्रो आशयबाट तयार पारेको हुन्छ। अर्को शब्दमा गीताको आशय पाण्डवलाई न्याय दिनको लागि गरिएको योजना या संयन्त्र थियो भने पनि त्यो गलत थियो र गलत दर्शनबाट अभिप्रेरित थियो।
महाभारत प्राचीन कथा हो। कथा भएकैले संघारमा युद्ध हुँदै गर्दा त्यस युद्धका महाबली योद्धा अर्जुनलाई घोडाका सारथिका रूपमा मात्र देखिएका कृष्ण लामो सैद्धान्तिक प्रवचन दिन भ्याउँछन्। शरीर मरे पनि आत्मा मर्छ भन्दै एक पटक मात्रै कसैले पाउने महानतम् र अतुलनीय जीवनको हुर्मत लिइन्छ। गीताबारे खास गरी नेपाल र भारतमा अनेकौँ व्याख्या, धारणा र अर्थ विद्यमान छन्। 'बहु इन्द्रेणी' मतहरूमा यो अर्को मत हो। बहसहरूमा थप बहस मात्र हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
