युद्धपछिको समय स्थिर र शान्तिपूर्ण हुन्छ। यसकै आधारमा कतिपयलाई लाग्छ, युद्ध सकिएपछि यसमाथि लेखिनुको औचित्य के नै हुन्छ र! तर, युद्धपछि नै त्यसले छाडेका असरहरू देखिन थाल्छन्।
पछिल्लो समय विष्णु भण्डारी आख्यान लेखनमा केन्द्रित थिए। माओवादी युद्धको विषयलाई लिएर उनले लगातार दुई वटा उपन्यास ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ लेखे। त्यसअघि उनका ‘घाइते ह्विलचेयर’, ‘देश जागेको बेला’ कवितासंग्रह लगायत खण्डकाव्य र महाकाव्यहरू प्रकाशित छन्। कविता र आख्यानबाट उनी यसपटक गैरआख्यानमा प्रवेश गरेका छन्। भर्खरै उनले समालोचनाको नयाँ कृति ‘नेपाली युद्धसाहित्य’ प्रकाशन गरेका छन्। यसमा वि.सं. १४५० सालदेखि हालसम्म भएका युद्धमाथि लेखिएको साहित्यमाथि विवेचना गरिएको छ। यसै सन्दर्भमा उनीसँग उकालोले गरेको कुराकानीः
कवि र आख्यानकारका रूपमा परिचय बनाउनु भएको थियो। गैरआख्यानतिर हात हाल्नुभयो। नेपाली युद्धसाहित्य पुस्तक लेख्नुको कारण के हो?
हरेक लेखकले सिर्जनासँगै इतिहास, समालोचना, राजनीति, अर्थनीति र दर्शन जस्ता सबै विधा अध्ययन गर्नुपर्छ। समालोचना र इतिहास मेरो रुचिको विषय पनि हो। नेपाली समालोचना र साहित्येतिहास पढ्ने क्रममा नेपाली युद्धसाहित्यमाथि बहस र चर्चा नभएको कुरा खड्कियो। ठूला युद्ध र सशस्त्र द्वन्द्वको प्रक्रियाबाट गुज्रिएको राष्ट्रमा यसबारे अध्ययन जरुरी छ। यही आवश्यकताबोधले यस विषयमा कलम चलाउन उत्प्रेरित भएँ म।
कविता, आख्यान र गैरआख्यान फरकफरक विधा हुन्। संरचना मात्र हैन शैलीगत आधारमा पनि यी तिन वटै विधा फरक छन्। कविता बिम्ब र प्रतीकसहित ओजपूर्ण भाषामा व्यक्त हुने विधा हो। यसको विपरीत आख्यान समग्र जीवनको कथा भन्ने विधा हो। कविताको गठन सूक्ष्म हुन्छ भने आख्यानको वृहत। आख्यानमा चरित्र, संवाद, दृष्टिविन्दु र द्वन्द्वको महत्त्वपूर्ण भूमिका हुन्छ, गैरआख्यानमा तथ्य र तर्कको। म नेपाली साहित्यको इतिहास र समालोचनालाई परम्परागत र आदर्शवादी रुझानबाट अलग गर्न चाहन्छु। मेरो पुस्तक नेपाली युद्धसाहित्य यही सोचको प्रतिफल थियो।
नेपाली युद्धसाहित्य कहिलेबाट र कस्ता विषयमा लेख्न थालिएको रहेछ?
नेपालमा परापूर्वकालदेखि नै युद्ध भएका छन्। किरातकाल, लिच्छवीकाल, मल्लकाल र शाहकालमा कैयौँ युद्ध भए। नेपाली समाजमा धेरै युद्ध भए पनि युद्धमाथि लेखिएको साहित्य हामीसँग उपलब्ध छैन। त्यो समयमा लिपि र भाषाको विकास नभैसकेको र साहित्य पनि खासै नलेखिएको हुँदा युद्धमाथि मात्र नभई अन्य धेरै विषयमा साहित्य लेखिएन। नेपालको सन्दर्भमा नेपाली भाषाको विकास भएपछि मात्र युद्धसाहित्य लेख्न थालिएको हो। नेपाली भाषामा लेखिएको अहिलेसम्म प्राप्त कवितामध्ये पहिलो विष्णु आचार्यद्वारा रचित ‘राजा मलयबम्ब’ (वि.सं. १४५०) हो। यसपछि करिब ४०० वर्षसम्म भएका युद्धमाथि रचिएको साहित्य लोकगाथाको रूपमा हामीसँग सुरक्षित छ। वि.सं. १८०१ देखि पृथ्वीनारायण शाहले शुरू गरेको राज्यविस्तार अभियानमा मात्र युद्ध, युद्धनायक र युद्धमा व्यक्त शौर्य र पराक्रममाथि साहित्य लेख्न थालिएको हो।
तपाईंले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर अध्ययन गर्नुभएको छ। यी दुईबीचको अन्तर के हो?
युद्ध र द्वन्द्व उस्तैउस्तै लागे पनि भिन्न शब्द हुन्। द्वन्द्वलाई सामान्यतः दुई वा दुईभन्दा बढी व्यक्ति, समूह, राज्य र विचारबीचको संघर्षका रूपमा बुझिन्छ। द्वन्द्वले समाजलाई नयाँ गति र दिशा दिन्छ। द्वन्द्वमा हुने प्रगतिशील तत्त्वले नै मानव सभ्यतालाई यहाँसम्म ल्याएको हो।
समाजमा विद्यमान वर्गीय असमानता र सामाजिक विभेदका कारण युद्ध पैदा हुन्छ। युद्ध विश्वबजार तथा प्राकृतिक स्रोत–साधन कब्जा गर्न, आफू अरूभन्दा शक्तिशाली छु भन्ने देखाउन र शोषण–उत्पीडन कायम राख्न गरिन्छ। यसरी हेर्दा युद्ध भनेको द्वन्द्व समाधानको अन्तिम विकल्प हो।द्वन्द्वसाहित्य मूलतः सामाजिक विकासको चरणमा विकसित हुने विविध खाले संघर्षलाई आधार बनाएर सिर्जना हुन्छ भने, युद्धसाहित्य युद्धकालीन घटना, युद्धमा भएको क्षति र युद्धले पारेका प्रभावलाई समेटेर तयार गरिन्छ।
०७ साल र ०१८ सालको सशस्त्र विद्रोहमाथि लेखिएको साहित्य पनि युद्धसाहित्य नै हो त?
कतिपय नेपाली लेखकका दृष्टिमा ०७ साल, ०१८ साल र ०५२ सालदेखि ०६३ सालसम्म भएका सशस्त्र विद्रोह युद्धको परिभाषाभित्र पर्दैनन्। उनीहरू ती विद्रोहलाई सशस्त्र द्वन्द्वमा सीमित गर्छन्। तर, यी तिन वटै विद्रोहमा सस्त्रअस्त्रले सुसज्जित दुई पक्षका सेनाबीच लडाइँ भएको थियो। हजारौँ मानिसको ज्यान गएको थियो। ०७ सालमा जनमुक्ति सेनाले नेपालको प्रायः सबै भूभागमाथि कब्जा जमाएको थियो। ०१८ सालमा सालमा एक वर्ष चलेको युद्धमा एक हजार मानिस मारिएका थिए। १० वर्ष चलेको जनयुद्धमा पनि हजारौँ मानिस मारिए। यस्ता भीषण युद्धमाथि लेखिएको साहित्यलाई युद्धसाहित्य नभनेर के भन्ने त! सामन्तवादको चास्नीमा रमाउने समालोचकले ती महान् विद्रोहमाथि लेखिएको साहित्यलाई द्वन्द्वसाहित्यमा कैद गरे पनि अब त्यो साहित्यलाई द्वन्द्वको कठघराबाट बाहिर निकाल्नुपर्ने बेला भएको छ।
युद्धसाहित्यलाई युद्धअघिको र पछिको भनेर विभाजन गर्नुभएको रहेछ। अघि वा पछि जहिले भए पनि साहित्य नै हो, किन विभाजन गर्नु परेको हो?
युद्धसाहित्यको अध्ययन, लेखन र बहस युद्धकालीन समयका आधारमा मात्र हुँदैन। युद्धकालीन समयका तुलनामा युद्धपछिको समय बढी स्थिर र शान्तिपूर्ण हुन्छ। यसकै आधारमा कतिपयलाई लाग्छ युद्ध सकिएपछि युद्धमाथि लेखिनुको औचित्य के नै हुन्छ र! तर, युद्धपछि नै युद्धले छोडेका असरहरू देखिन थाल्छन्। युद्धले विजय वा पराजय जे छोडे पनि शान्तिप्रक्रियासँगै डरलाग्दो अवसाद र अभिघात पनि छोडेको हुन्छ।
युद्धपछिको समय यति भयावह हुन्छ कि, देख्दा शान्त देखिए पनि भित्रभित्रै डरलाग्दा पीडा, आर्तनाद र घाउ हुन्छन्। ती घाउ युद्धपछि झनै बल्झिने र दुख्ने हुन्छ। युद्ध पराजयमा टुंगिएको खण्डमा त झनै दारुण अवस्था सिर्जना हुन्छ। युद्धपछिको यस्तो समयलाई युद्धकालीन साहित्यले सम्बोधन गर्न सक्दैन। युद्धसाहित्य युद्धकालीन समयको चित्रणमा आधारित हुन्छ। युद्धपछिको समयको चित्रण गर्न युद्धपछिको साहित्य नै लेखिनुपर्छ, जसरी विश्वयुद्धपछि ‘पोष्टवार लिटरेचर’ लेखिन थालेको थियो।
जनयुद्धताका कतिपय स्रष्टा थुनिए, कति त मारिए पनि। युद्धका बेला साहित्यकार किन जोखिममा पर्छन्?
निरंकुश राज्यसत्तामा सामाजिक विकृति, विसंगति र शासकको विरोध गर्ने जो कोही असुरक्षित रहन्छन्। सामाजिक अभियन्ता, नागरिक समाज, वौद्धिक वर्ग र पत्रकार तथा साहित्यकार, जसले अन्यायपूर्ण युद्धको विरोध गर्छन्, सबैले जोखिम उठाएका हुन्छन्। बाह्य होस् वा आन्तरिक, सबै युद्धमा राज्यपक्षले गरेको बर्बरताको विरोध गर्नेमा साहित्यकार अग्रपंतीमा पर्छन्। नेपाली जनयुद्धमा पनि यस्तै भएको थियो। गिरफ्तार हुने र यातना पाउने मात्र होइन, मारिने साहित्यकारको संख्या पनि उल्लेख्य छ। झन्डै १७५ स्रष्टा राज्यपक्षबाट मारिए। उनीहरूको दोष भनेकै राज्यपक्षले गरेको अत्याचार र हत्या–हिंसाको विरोध गरेर कलासाहित्य सिर्जना गर्नु थियो।
साहित्य र साहित्यकार त युद्ध रोक्न अग्रसर हुनुपर्ने होइन र?
समाजमा युद्ध कसले चाहन्छ र! तर इतिहासमा निरपेक्ष शान्तिको बहसमा खासै तुक हुँदैन। जहाँ मानिसका हकअधिकार कुण्ठित हुन्छन्, लोकतन्त्रमाथि बलात् हस्तक्षेप हुन्छ र समाजलाई निरंकुश सत्ताले बन्दी बनाउँछ त्यहाँ युद्ध अनिवार्य बन्छ। नागरिकको तहबाट विद्रोही पक्षले लोकतन्त्र वा गणतन्त्रको स्थापनका लागि विद्रोह गर्न सक्छ। तर, शान्तिका नाममा यस्ता युद्धको विरोध गर्नुको औचित्य पुष्टि हुँदैन। युद्धको प्रकृतिका आधारमा मात्र युद्धको समर्थन र विरोध गर्नुपर्ने हुन्छ। एउटै युद्ध कसैका लागि अन्यायपूर्ण र कसैका लागि न्यायपूर्ण हुन सक्छ। सकारात्मक र अग्रगामी उद्देश्यका लागि भएका यस्ता युद्ध र युद्धरत पक्षलाई साहित्यकार मात्र होइन, सारा शक्तिले सघाउनुपर्ने हुन्छ।
जनयुद्धमा लेखिएका त्यसबारेका साहित्यका विशेषता के रहेछन्?
आधुनिक नेपालको इतिहासमा राज्य विस्तार कालपछि सबैभन्दा लामो समय चलेको युद्ध हो माओवादी जनयुद्ध। यो युद्ध खास उद्देश्यका लागि, खास दृष्टिकोणसहित गरिएको थियो। राजतन्त्र अन्त्य गरी जनगणतन्त्र स्थापना गर्ने उद्देश्य भएको युद्धलाई धेरै बुद्धिजीवी, पत्रकार, कलाकार र साहित्यकारहरूको समर्थन थियो। ठूलो मात्रामा जनधनको क्षति पनि भयो। यही युद्धको कारण राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो। जनयुद्धमाथि साहित्य पनि प्रशस्तै लेखियो।
जनयुद्धको साहित्यको मुख्य विशेषता भनेको, नेपाली साहित्यको कमान हुनेखाने सम्भ्रान्त वर्गको हातबाट गरिखाने र उपेक्षित वर्ग, जाति तथा लिंगको हातमा जानु हो। यो समयमा विश्वविद्यालयमा पाइला नटेकेका युवाले सुन्दर साहित्य सिर्जना गरे। हिजो मासिन्याको सूचिमा पारिएका तामाङ र दलित समुदायका कवि लेखकहरूले सीमान्तकृत वर्ग र उत्पीडित जातिको चित्रण गरेर उत्कृष्ट साहित्य रचे। कुनै समय पहिचानहीन बनाएर इतिहासको विस्मृतिमा फ्याँकिएका खास जातिविशेषका कवि लेखकले जातीय उत्पीडन र विभेदविरोधी स्वरको प्रतिनिधित्व गर्दै सुन्दर आख्यान लेखे। महिलाहरूले लैंगिक असमानता र विभेदविरुद्ध सशक्त आवाज उठाए। जनयुद्धले निर्माण गरेको उदात्त आदर्श र सौन्दर्यमूल्यको प्रकटीकरणदेखि सामन्तवाद र साम्राज्यवादविरोधी चेतनाको अभिव्यक्ति यसबेलाको साहित्यको विशेषता हो।
सशस्त्र संघर्ष सकिएपछि जनयुद्धविरोधी साहित्य पनि धेरै लेखिएको उदाहरण पेश गर्नुभएको छ। त्यस्तो लेखनको उद्देश्य के हो?
कुनै पनि विषय वा परिघटनालाई हेर्ने, बुझ्ने र पर्गेल्ने आ–आफ्नै दृष्टिकोण हुन्छन्। तर, कुनै विषयको विरोध, असहमति र बहस तथ्य तथा तर्कको आधारमा गरिनुपर्छ। त्यसमा पनि आफूलाई समाजकै प्रतिष्ठित साहित्यकार हुँ भन्नेले समाजलाई दिशानिर्देश गर्ने हो, दिशाहीन र दिग्भ्रमित गर्ने होइन।
जनयुद्धको विरोध पनि तथ्य र तर्कका आधारमा गरिनुपर्छ भन्ने मेरो आशय हो। युद्धका बेला राम्रैराम्रो हुन्छ र हुनुपर्छ भन्ने आदर्शवादी र निरपेक्ष सोचले यहाँ काम गरेको छ। युद्धमा भएका एकाध घटनालाई आधार बनाएर समग्र युद्धको विरोध गरिनुहुन्न। पहिले त युद्ध केका लागि गरिएको थियो भन्ने बुझ्नुपर्ने हुन्छ। जनयुद्ध लुटिखानकै लागि गरिएको थिएन। जनयुद्धलाई आतंक देख्नेहरूले ०७ साल र ०१८ सालका युद्धलाई पनि आतंक देख्नुपर्यो।
जनयुद्धका विषयमा लेखिएको साहित्यमा रमेश विकल जस्ता मूर्धन्य साहित्यकारले ‘यी दुई निर्दोष आँखाहरू’ जस्तो विद्रूप कथा लेखे। यस्तै प्रदीप नेपालको ‘डाक्टरनी आमा’, विश्वम्भर चञ्चलको ‘अप्रेसन धुर्बे’, किशोर पहाडीको ‘आतंकको आँसु’, गोविन्द गिरी प्रेरणाको ‘तिम्रो गर्धन छिनाल्ने,’ पद्मावती सिंहको ‘हिंसाको मौनता’, इल्या भट्टराईको ‘विप्लव’, बालकृष्ण पोखरेलको ‘तँ पनि मर्छस्, म पनि मर्छु’, महेशविक्रम शाहका ‘सिपाहीकी स्वास्नी’, ‘छापामारको छोरो’ र ‘काठमाडौँमा कामरेड’, राजबाबु श्रेष्ठको ‘गृहयुद्धको घाउ’ जस्ता सिर्जनाले नेपाली युद्धसाहित्यको विकास हैन दिग्भ्रमित गर्छन्। के माओवादी जनयुद्धमा व्यक्त त्याग, बलिदान र उत्सर्ग यिनै साहित्यकारले लेखेजस्तै विद्रूप थियो त!
समाजको प्रगतिशील यथार्थको विरोध र पश्चगमनको पक्षमा मत जाहेर गर्ने यस्ता लेखक साहित्यकार नै अहिले सर्वप्रिय र सम्मानित हुँदै आएका छन्। हामी समाजको अग्रगमनको पक्षमा कलम चलाउनेहरूले पनि कोही रिसाउला कि वा मलाई सम्मानबाट बन्चित गर्ला कि भनेर विभ्रमको खण्डन गर्न सकिरहेका छैनौँ। साहित्यको नाममा पस्किएका यस्ता विकृतिको खण्डन गरिएन भने भावी पुस्ताले त्यही विकृतिलाई नै अहिलेको यथार्थ भनेर अध्ययन गर्नेछ।
त्यसो भए, युद्धले साहित्य र साहित्यकारलाई पनि विभाजन गरेको हो?
मानिस आज मात्र होइन सभ्यताको उषाकालदेखि नै विभाजित बनेर बाँच्न अभिशप्त छ। जहिलेदेखि समाजमा व्यक्तिगत सम्पत्तिको प्रादुर्भाव भयो, जहिलेदेखि समाज दुई वर्गमा विभाजित भयो र जहिलेदेखि राज्यसत्ता अस्तित्वमा आयो, त्यही समयदेखि नै मानिस विभाजित छ। युद्धले मात्र साहित्य र साहित्यकारलाई विभाजित गर्ने होइन, मुख्य कारण त विचार हो। समाजलाई हेर्ने दृष्टिकोण हो। यही दृष्टिकोणले युद्धलाई पनि विभाजन गर्छ। लेखक साहित्यकारलाई पनि विभाजन गर्छ। समाजमा निरपेक्ष भन्ने केही पनि हुँदैन, युद्ध होस् कि शान्ति, सबै तत्कालीन यथार्थका प्रतिबिम्ब हुन्। साहित्य र साहित्यकार पनि समाजकै यथार्थ हुन्। सबै चिज त विभाजित छ भने साहित्यकार मात्र कसरी अप्रभावित हुन सक्छन्?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
