नेप्से ५२.२६ अंकले बढ्दा ४ अर्ब ८६ करोडको कारोबार

आइतबारको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ। आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ को बिन्दुमा पुगेको हो।

नेप्सेका अनुसार आइतबार विभिन्न २८० कम्पनीका एक करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन्।

आइतबार बैंकिङ समूह ३.५५ अंकले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ६९४.१४ र निर्जीबन बीमा समूहको उपसूचकमा ५००.३० अंकको वृद्धि देखिएको छ।

विकास बैंक ५०.१२, वित्त ३५.७७, होटल तथा पर्यटन २९४.४०, जलविद्युत् १०२.०१, लगानी १.०४ र उत्पादन तथा प्रशोधन समूह १४२.०१ अंकले बढेको छ। त्यस्तै, लघुवित्त समूहको उपसूचक १०३.५२, म्युचुअल फन्ड ०.१२, व्यापार ८७.०८ र अन्य समूह ८६.३० अंकले बढेको छ।

आइतबारको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै गुमाउनेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३६ करोड ६४ लाख ९९ हजार १५८ रुपैयाँ बराबरको छ लाख ४९ हजार ६०५ कित्ता शेयर खरिद बिक्री भएको छ।