विचारको महत्ता स्थापित गर्न खोज्दै गर्दा खप्तड बारम्बार एउटै कुरा दोहोर्याइरहन्छन्। यस्तो लाग्छ, करिब १०० पृष्ठको यस पुस्तकको सार खिच्ने हो भने पाँच पृष्ठमा सम्भव छ।
पछिल्ला हप्ता र महिना धर्म/अध्यात्मबारे नेपालमा पर्याप्त चर्चा भए। भौतिकवादी 'स्कुलिङ'मा दीक्षित, कुनै बेलाका उग्र–नास्तिक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा महाकालेश्वरको दर्शन गरेको सन्दर्भ होस् या सुदूरपश्चिमको खप्तड क्षेत्रमा उनकै दायाँबायाँ रामकृष्ण यादव (रामदेव) र बालकृष्ण आचार्य राखेर गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन अथवा प्रचण्डले नै सम्भवतः जीवनमै पहिलोपटक पशुपतिनाथ मन्दिर छिरेर गरेको ‘राजकीय पूजाआजा’ले प्रशस्त टिप्पणी बटुले।
यस लेखमा अध्यात्म सम्मेलन भएको खप्तड क्षेत्रमा लामो समयसम्म साधना गरेर 'खप्तड व्यक्ति हो कि ठाउँ?' को प्रतिष्ठा हासिल गर्न सफल खप्तड बाबाले लेखेको विचार विज्ञान किताबबारे समीक्षा गरिनेछ। यस पुस्तकबारे मिडिया र एक खालको बौद्धिक सर्कलभित्र पर्याप्त आदर र चर्चा भएका कारण पनि समीक्षा गर्नु आवश्यक ठानियो। पुस्तकबारे हुने परम्परागत खालको समीक्षा भने होइन यो।
शिवनाथ डोगरे
कश्मीर (हाल: भारत)का पण्डित परिवारमा जन्मेका शिवनाथ डोगरे कालान्तरमा खप्तड बाबा नामले चिनिए। उनी आफ्नो जन्म १८८० फेब्रुअरी १० मा भएको बताउँथे। कुनै समय शल्यचिकित्सक भई मानव उपचारमा समेत संलग्न रहेका उनी डाक्टरी पेसा त्यागेर विसं. १९८६ मा नेपाल पसेको बताइन्छ। खप्तड पुग्नुपूर्व ताप्लेजुङको पाथीभरा, काठमाडौँको थापाथली र मैतीदेवी, दोलखाको कालिन्चोक, जुम्लाको चन्दननाथ तथा केही समय तिब्बतको मानसरोवरमा समेत बसेर उनले साधना गरेको बताइन्छ। जीवनको उत्तरार्द्धमा उनी बझाङको खप्तड क्षेत्र आइपुगे।
उनका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान, नारी धर्म तथा पुरुष धर्म, म र मेरो कर्तव्यजस्ता करिब एक दर्जन पुस्तक प्रकाशित छन्।
पहिलेको जीवनदेखि विरक्त भएका कारण हुनसक्छ, लामो समय त्यस क्षेत्रमा बस्दा पनि उनले पहिलेको पहिचान खुलाउन चाहेनन्। बझाङमा आश्रम बनाएर बस्न थालेपछि स्थानीयले नै उनको नाम 'खप्तड बाबा' राखिदिएको बुझिन्छ। २०३८ सालमा पहिलोपटक राजा वीरेन्द्रले उनलाई भेटे र त्यसपछि कमसेकम वर्षको एकपटक वीरेन्द्र त्यहाँ जाने गरेका थिए। कुनै पारिवारिक तनाव र राज्य सञ्चालनका विषयमा कठिनाइ हुँदा खप्तडसँग सरसल्लाह माग्न वीरेन्द्र जाने गरेको जानकारहरू बताउँछन्। वीरेन्द्रसँगको उठ्बसपछि खप्तड बाबा र खप्तड क्षेत्रबारे नेपालभित्र प्रशस्त चर्चा हुन थालेको हो। उनको मृत्यु २०५३ सालमा भयो। ११९ वर्षको उमेरमा उनको मृत्यु भएको मानिन्छ। सोही कारण पनि उनीप्रति आमजनमा श्रद्धा र भर बढेको अनुमान गर्न सकिन्छ।
चेतना र जड
परमात्मा, परमेश्वर अथवा ईश्वरले जगत्का सबै चर/अचर (चल्ने/नचल्ने) वस्तु र जीवहरूको निर्माण गरेका छन् र तिनकै अधीन जगत् चल्छ भन्ने कुरामा सबैजसो धर्म/ईश्वरवादी/अध्यात्मवादीहरू एकमत छन्। यो सम्पूर्ण ब्रह्माण्ड जगत्को निर्माण सबैभन्दा पहिले कुनै महाचेतना (ईश्वर) ले गर्यो भन्ने ईश्वरवादीहरूको मत छ।
त्यसो हुँदा पहिले चेतना जन्म्यो र त्यही चेतना (ईश्वर)ले नै जगत्का अनेकौँ चिजबिजहरू निर्माण गर्यो भन्ने ठहर उनीहरूको छ। त्यस विपरीत, विज्ञानवादी या तर्कवादीहरू भने जड (पदार्थ)बाट नै चेतना निर्माण भएको ठान्छन्। जगत्का सबै कुराहरू भौतिक नियममै आधारित रहेको र त्यसको व्याख्या गर्न सकिने ठान्छन्। खप्तड बाबा पनि 'परम् ईश्वर सेवक' भएका कारण तर्कका आधारमा हेर्दा पुस्तकमा प्रशस्त विभ्रमहरू भेटिन्छन्। पुस्तकमा उनले गरेका तर्क र त्यसप्रति मेरा टिप्पणी यस प्रकार छन्:
१. जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उति नै बढी हुन्छ।
वस्तु जति सानो हुन्छ, त्यसमा उति बल हुन्छ भन्ने तर्क जिरे खुर्सानीको हकमा मिलेझैँ लाग्छ, तर वैज्ञानिक दृष्टिमा र आमरूपमा अत्यन्त कमजोर तर्क हो। उनको सो तर्कमा आधारित भएर बाबाजीलाई सोध्न सकिन्छ, उसो साइकलको शक्ति बसको भन्दा धेरै हुन्छ त?
२. काम क्रोध, लोभ, मोह र ईर्ष्या वा वासनाको अधीन रहेर उत्तम अवस्था इच्छा गर्छौं भने यो असम्भव छ।
उसो त, उत्तम र तुच्छ भन्ने कुरा आत्मपरक कुरा हुन्। के तुच्छ र के उत्तम भन्ने विषय देश, काल, परिस्थित, समाज, संस्कृतिअनुसार आ–आफ्नै परिभाषा बन्न सक्छ। अर्को कुरा, माथि उल्लेख गरिएका सबै कुरा मान्छेका प्राकृतिक स्वभाव हुन्। मान्छेले आफ्नो प्राकृतिक स्वभाव पूर्णरूपमा छोड्ने कुरा आफैँमा गलत हो। यद्यपि, माथिका स्वभावहरू कम गर्नुपर्छ भन्ने तर्कसँग भने सहमत हुन सकिन्छ।
३. दुई वटा हातमध्ये एउटा हातको व्यायाम सोचबिना र अर्को हातको व्यायाम गर्दाचाहिँ 'मेरो हातको बल खुबै बढिरहेछ' भन्ने विचारका साथ गरियो भने विचारपूर्वक व्यायाम गरिएको हातको बल अधिक पाइनेछ।
यस्तो पनि हुन्छ? तपाईंहरूमध्ये कसैले यस्तो अनुभव गर्नुभएको छ? यो कुरा प्रमाणित गर्न सम्भव छ?
४. धनी हुनु छ भने धनकै विचार गर्नुपर्छ। धनवान्हरूको जीवन चरित्र पढ्नुपर्छ र उनीहरूमा जस्तो उदारता देखिन्छ, त्यस्तै विचार मनमा ल्याउने प्रयास गर्नुपर्छ।
समाजशास्त्र र समाज विज्ञानको अध्ययनले त्यसो भन्दैन। आमरूपमा मान्छे सबै समृद्ध हुन चाहन्छन्, कोही पनि गरिबी हुन मन पराउँदैन। आफूलाई मोहबाट मुक्त भएको दाबी गर्ने बाबाजी र माताजीहरू पनि समृद्धि र ऐश्वर्य नै रुचाउँछन्। 'धनवान्हरू उदार हुन्छन्' भन्ने तर्क हास्यास्पद लाग्छ।
५. विचार बलबाटै रोगहरूको वृद्धि र निवृत्ति हुने गर्छ। जसरी असल विचारद्वारा दरिद्रता निवारण गर्न सकिन्छ, त्यसै गरी असल विचारबाट रोगलाई पनि हटाउन सकिन्छ।
रोग निवारणमा आत्मबल पनि आवश्यक हुन्छ भन्ने कुरा पत्याउन सकिन्छ, तर त्यसले मात्र रोग हटाउन सकिन्न, जसरी जति नै आत्मविश्वास जगाए पनि भोजन नखाई भोक हटाउन सकिँदैन। भोक जीवित प्राणीका लागि प्राकृतिक स्वभाव हो।
६. पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरू हाम्रो देशभित्र प्रवेश गरेका छन्, तीमध्ये नास्तिकता एउटा हो। शिक्षितहरूमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृति उन्मुख भयो।
शिक्षित हुँदै जाँदा समाज झनै विकृति उन्मुख भयो भन्ने कुरासँग कतैबाट पनि सहमत हुन सकिन्न। खप्तड बाबाले बाँचेको रूढीग्रस्त जीवन र समाजभन्दा आजको समाज धेरै हदसम्म उन्नत र मानवीय छ। यसो हुँदै गर्दा नास्तिकता पनि बढ्दै छ। प्रश्न र तर्कबाटै नास्तिकता उब्जन्छ। त्यसले कसरी विकृति फैलाउँछ?
७. सबै सुखदु:ख आफ्नै संकल्पका फल हुन्।
एकाध उदाहरणबाहेक सुख र दु:ख शासन व्यवस्था र समाजद्वारा निर्मित हो। आज पनि खास जाति, थर, क्षेत्रका मान्छे सुखी र सम्पन्न र खास जाति, क्षेत्र र थरका मान्छेका विपन्न हुनु त्यसको उदाहरण हो।
८. प्रकृतिको नियम के छ भने गरिबीका विचारले मनलाई दरिद्र राखेर कोही धनी हुन सक्दैन। त्यसैले धनी हुनु छ भने सदैव धनको नै विचार गर्नु पर्दछ। धनवान्हरूका जीवन चरित्र पढ्नु पर्दछ। धनवान्हरूले पहिले कति परिश्रम गरे अथवा धन प्राप्तिका लागि कस्ता कस्ता क्लेश उठाए, ती क्लेश र जिम्मेवारीलाई उठाउन उद्यत हुनु तथा धन प्राप्ति विषयक युक्तिहरू र चातुर्यको सम्पादन गर्नु एवं दरिद्रताको विचार कुनै समय पनि मनमा आउन नदिनु–यही धन प्राप्तिको सरल साधन हो।
यस्तै तर्कबारे ६ नम्बरका बुँदामा पनि असहमति प्रकट गरियो।
९. आमाका राम्रा विचार कम हुनाले र नराम्रा विचार धेरै र बलवान् हुनाले बालकहरू बिरामी हुन्छन् र मर्दछन्। त्यसैले बालकहरूलाई निरोगी र चिरञ्जीवी राख्नु छ भने सदैव शुभ विचार गर्नुपर्छ।
व्यक्ति बिरामी हुनाको कारण उसको जिन, पोषण, वातावरण, शारीरिक अभ्यासजस्ता कुराले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छन्। बच्चा बिरामी हुनुमा 'आमाको खराब विचार' भन्ने तर्क वैज्ञानिक त छैन नै पितृसत्तात्मक सोच पनि हो।
१०. जगत्मा जे जति रोग छन्, ती सब मानिसहरूका भूलका नै फल हुन्। यदि भूलहरूलाई सुधार्यौ भने हामी धेरैजसो रोग हटाउन सक्छौँ। यसैले महात्माहरू के भन्दछन् भने तिम्रो भाग्यको सुधार तिम्रै हातमा छ। तिमीले चाहेमा सब रोगादि दुःखहरूलाई हटाउन सक्छौँ।
रोगहरू मानिसका भूलका कारण मात्रै हुन्नन्। सोच र विचार भौतिक अवस्थाबाटै सिर्जना हुन्छ। चाहँदैमा सबै रोगहरू निमिट्यान्न पार्न सम्भव छैन।
११. गायत्री जपबाट नै कार्य सिद्धि हुन्छ। यसमा द्विजाति ब्राह्मण, क्षेत्रीय, वैश्य मात्रको अधिकार छ।
बाबाजीको यो कुरा आफैँमा जाति विभेदकारी छ। उनले गायत्री मन्त्रमा समेत खास जातिको ठेक्का दिएका छन्। कार्य सिद्धी गर्नका लागि धेरै कुराको संयोजन आवश्यक छ।
१२. मानिसका मनमा सदैव नयाँ विचार उत्पन्न हुँदै रहन्छन्। मानव शास्त्र वेत्ताहरूले के सिद्ध गरेका छन् भने मानिस जो श्वास लिन्छ ती प्रत्येक श्वासमा तीन–तीन नयाँ विचार उत्पन्न हुन्छन्। अर्थात् एक मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उत्पन्न हुन्छन्।
के यो कुरा प्रमाणित गर्न सकिन्छ? यो कुरा प्रमाणित गर्ने वेत्ताहरू को हुन्?
१३. जुन संकल्प एक पटक मनमा आएर बिलाउँछ, त्यसको रूप धेरै चाँडो नष्ट हुन जान्छ। तर स्थिर संकल्प मनमा दीर्घकालसम्म बनिरहन्छ र बारम्बार चिन्तन गर्नाले दृढ हुन जान्छ। यो कुरा कोरा कल्पना मात्र वा निर्बल चित्तको भ्रम होइन, अनुभवसिद्ध हो। हिजो आज अमेरिकादि पश्चिमी देश–निवासीहरूले विचारहरूको आकारको फोटो लिएका छन् र विचारहरूका रङ्गहरूका विषयमा धेरैजसो पुस्तकहरूमा वर्णन पनि गरिएको छ। विस्तार भयले यहाँ केवल दिग्दर्शन मात्र गराइएको छ।
बाबाजीले यो किताब लेखेकै पनि धेरै वर्ष भइसकेको छ, तर विचारको आकारको ठ्याक्कै फोटो लिन सकिन्छ जस्तो लाग्दैन। डर त्रास, भय आदिका कारण सिर्जित मुटुको धड्कन, नाडीको चाल र रक्तचाप जाँच गर्न सकिन्छ, जसलाई 'पोलिग्राफी' भनिन्छ।
१४. राम्रा विचार सूक्ष्म परमाणुले बनेको कारण माथि रहन्छन्। यसैले तिनलाई खिच्नमा विशेष परिश्रम पर्दछ र नराम्रा विचार जडतायुक्त हुन्छन् यसैले तल रहन्छन् र सहजैमा भेटिन्छन्। विचारहरूका रूप र आकार पनि हुन्छन्। आकारवान् तथा रूपवान् वस्तु चाहे जति सूक्ष्म होस्, त्यसमा केही वजनवाला वस्तु तल रहन्छ र आरोग्य वर्द्धक शुद्ध वायु माथि आकाशमा रहन्छ।
'परमाणु' शब्दले हामीलाई यहाँ झुक्क्याउन सक्छ, तर यो तर्क कहीँ कतै प्रमाणित गर्न सकिँदैन।
१५. अमेरिका र इंग्ल्यान्डका विद्वान् डाक्टर के सिद्ध गर्दै छन् भने मन–शक्ति अर्थात् विचार शक्ति औषधीको अपेक्षा अधिक बलवान् छ। जुन रोगहरूमा ठूला–ठूला डाक्टर, वैद्य, हकिम घुँडा टेकिदिन्छन्, तिनमा मन–शक्तिले आफ्नो चमत्कारिक प्रभाव देखाउँछ र रोगीलाई बलपूर्वक मृत्यु–मुखबाट छुटाएर अचम्ममा पारिदिन्छ। ठूला—ठूला रोगहरूलाई पनि मनले शीघ्र राम्रो गरिदिन्छ।
भौतिक र औषधीय शक्ति आत्मबलभन्दा धेरै ठूलो हुन्छ। आजको औषधी विज्ञानले यसलाई प्रमाणित गरिसकेको छ। जति नै मनशक्ति भए पनि कन्चटमा गोली दाग्दा व्यक्तिको मृत्यु नै हुन्छ।
१६. भय र चिन्ता गर्नु पाप हो। ईश्वरको अस्तित्वमा शंका गर्नेलाई लौकिक या पारलौकिक कार्यमा कुनै प्रकारको सफलता प्राप्त हुन सक्दैन।
डर प्राकृतिक कुरा हो। ईश्वरको अस्तित्वमा शंका गर्ने भौतिक विज्ञान र विज्ञानका अनेक विधामा गहिरो अध्ययन गर्ने सोधकर्ता र अनुसन्धानदाताहरूकै कारण आज मानव जीवन सहज भएको छ।
१७. जो मानिस सदाचारी छ र उसका विचार उत्तम छन्, उसको मुख देख्दैमा मात्र सुन्दर नभई उसको चारैतिर तेजको पुञ्ज पनि देखा पर्दछ।
यहाँनिर बाबाजीले 'सदाचार'को परिभाषा प्रस्ट्याएनन्। जटिल रोगले गाँज्दागाँज्दै पनि जगत अनुसन्धानमा अति धेरै योगदान गरेका विख्यात भौतिक वैज्ञानिक स्टेफन हकिन्सको 'चारैतिर तेजको पुञ्ज' भेटिन्थ्यो कि भेटिन्थेन?
१८. एउटा विद्वानले त यहाँसम्म भनेका छन् टाइपद्वारा छापिएका लेखभन्दा म हातले लेखेको कापी राम्रो मान्दछु, किनभने यसबाट लेखक कस्तो छ, बुद्धिमान या मूर्ख भन्ने पत्ता लाग्दछ।
सुन्दर हस्तलेखन कलाले व्यक्तिको शिल्पी अवश्य देखिएला, तर त्यसबाटै व्यक्ति मूर्ख र बुद्धिमान छुटिन्छ भन्ने कुरा आफैँमा मूर्खतापूर्ण हो।
१९. क्रोधबाट एक प्रकारको विष उत्पन्न हुन्छ, क्रोधमा टोकीदिनाले जसलाई टोकेको हो, उसको मृत्युसमेत हुन जान्छ। स्त्रीहरूलाई त यो साधारण अनुभव हुन्छ कि क्रोधावस्थामा दूध पिलाउनाले बालक बिरामी हुन जान्छ। एउटा ब्रिटिस डाक्टरले वैज्ञानिक प्रयोगहरूद्वारा के सिद्ध गरेको छ भने भय चिन्ता ईर्ष्या, द्वेष र उदासीनताबाट पसिनामा, थुकमा श्वासमा रक्तमा विष उत्पन्न हुन्छन्। यस्तै बालकहरूलाई आमा, बा, धाइले क्रोधित भएर दूध ख्वाउनाले उसको दूध विषाक्त भई बालक मुर्छा भएर मृत्युसम्म भएको देखिएको छ, रोगी त अवश्य हुने हुन्छ।
रिसाएको मान्छेले टोक्दैमा पनि अर्को व्यक्तिको ज्यान जाने? साँच्चै! अहिलेसम्म विज्ञानले यस्तो अजिबको रहस्यको उद्घाटन गरेको छैन।
२०. एउटा डाक्टरको भनाई छ एउटा बलवान, हृष्टपुष्ट, उत्साही सभ्य पुरुष घुम्दै फिर्दै थाकेर आयो। त्यस बेला उसलाई जोडले भोक लागेको थियो। उसै बेला उसका नाममा एउटा तार (टेलिग्राम) आयो जसमा शोक-जनको समाचार थियो। त्यसलाई पढेर उ सुस्त र उदास भयो। नजाने उसको भोक कहाँ बिलायो। उसका मित्रहरूले उसलाई जबरजस्ती भोजन गराए, त्यसको परिणामस्वरूप उ दुई घण्टामा मरिहाल्यो।
यो पनि फन्टुस उदाहरण लाग्यो। खास गरी अत्यन्त प्रिय आफन्तको मृत्युको खबर सुन्दा 'सक' का कारण केही मान्छे मरेका खबर हामीले सुनेका छौँ। त्यसको वैज्ञानिक व्याख्यासमेत भेटिन्छ।
२१. केबल मस्तिष्क नै विचारहरूको मुख्य स्थान होइन। सब अवयव विचारहरूले परिपूर्ण छन्।
मस्तिष्कबाहेक अन्य अंगले सोच विचार गर्छन्? अहिलेसम्मको वैज्ञानिक अध्ययनले मस्तिष्क नै विचारको स्रोत अंग मान्छ।
२२. यदि शरीरमा कुनै रोग छ भने त्यसको निवृत्तिको लागि शुद्ध र उत्तम विचारहरूको साधनको साथसाथै शरीरको जुन अंगमा पीडा वा व्याधि छ, त्यस स्थानमा आफ्नो हात राख। मुखबाट श्वास निकालेर सन्चो भएको विचार गर।
सिंगो शरीरमै रोग हुँदाचाहिँ के गर्ने? कहाँनिर हात राख्ने? क्यान्सरजस्ता असाध्य रोग पनि यो विधिले निको हुन्छ? के यो विधिले कुन कुन रोग निको हुन्छ?
२३. वर्तमानका उच्चतम खोजहरूबाट यो कुरा राम्रोसँग सिद्ध हुँदै गइरहेको छ-रोगहरूको जड शरीरमा नभई मन र भावहरूमा छ।
बाबाजीले पुस्तकमा भनेका छैनन्, कुन कुन खोजबाट यो कुरा सिद्ध भएको छ भन्ने कुरा।
२४. शरीरको जुन भागमा रोग हुन्छ, त्यस भागको रगत बिग्रन्छ।
शरीरको जुनसुकै रोग लागेमा पनि सिंगो शरीर त्यसबाट प्रभावित हुन्छ। शरीरको एक भागमा रोग हुँदा त्यहाँको रगत मात्रै बिग्रने होइन, अन्य अंग र विषयलाई पनि त्यसले प्रभाव पार्छ।
२५. ठूला–ठूला महात्मा एवं बुद्धिमान् पुरुष वीर्यको रक्षा गर्दागर्दै पनि निर्बल प्रतीत हुन्छन्।
यसको अर्थ हुन्छ, अण्डकोषमा निरन्तर उत्पादन भइरहने वीर्यको रक्षा नगरे पुरुष निर्बल हुन्छ भन्ने तर्क आफैँमा निर्बल छ।
२६. कुनै तरुनो मान्छे मानसिक रोगी हुने इच्छा गर्दैन, तर यदि कुनै बेला मानसिक रोगीहरूको विषयमा पढ्दछ या सुन्दछ र आफ्नो मनलाई त्यस विषयका विचारहरूमा लगाउँछ वा उस्तै कल्पना गर्दछ भने थोरै कालमा त्यस विषयको बीज बनेर अङ्कुर दिन्छ। अर्थात् त्यो युवक बिस्तारै मानसिक रोगीजस्तो व्यवहार गर्न थाल्छ।
इच्छा गरेर कोही मान्छे मानसिक रोगी हुने होइन।
२७. एउटी वृद्धा पक्षाघातले धेरै वर्षदेखि पीडित थिइन्। भूकम्पको बखत जब सब मानिस आफ्नो आफ्नो ज्यान बचाउनका लागि भाग्न लागे तब त्यस वृद्धाको मनमा पनि आफ्नो ज्यान बचाउनका लागि विचारको यस्तो प्रबल बेग उत्पन्न भयो कि मोडिएका अङ्गहरूमा एकदम स्फूर्ति सञ्चार भई बिछ्यौनाबाट उठेर सबैका साथ माथिबाट ओर्लेर ऊ भाग्न थालिन्।
यस्तै खालका 'हो रे' कथाहरू हामीले पनि सुनेका छौँ, तर भूकम्प र विपत्तिका बेला प्रायजसो शारीरिक रूपमा अशक्तहरू नै पीडित हुने गरेका छन्। तथ्यहरूले त्यही बताउँछन्।
२८. एउटी केटी आफ्नो पाल्तु पक्षीको मृत्युमा विलाप गरिरहेकी थिइन्, त्यसै समय उसको फोटो लिइयो। मृत पक्षीको फोटो पिँजरासहित प्लेटमा आयो। एउटी स्त्री आफ्नो मृत बालकको शोकमा तल्लीन भएर बसेकी थिइन्। उसको फोटो लिइयो, मरेको बालकको फोटो चित्र–प्लेटमा आयो। एउटा सिपाही आफ्नो मनमा गरुड पक्षीको चिन्तन गर्दै थिए, उसको फोटो लिइयो। प्लेटमा सुन्दर पक्षीको आकार प्रकट भयो। यी मानसिक चित्र एकत्रित विचारहरूबाट बन्दछन्।
यो उदाहरणप्रति विश्वास गर्न सकिने कुनै आधार छैन। अहिलेसम्म त्यस्तो फोटो खिचिएको कतै हामीले थाहा पाएका छैनौँ।
असंगत मनोवाद
कलेजका दिनहरूमा खप्तड बाबा उल्कैका हुन् र उनको विचार विज्ञान नामको पुस्तक नपढी हुन्न भन्ने सुनियो। त्यसलाई पत्याइयो र पढियो। ढोगेर किताब शुरू गर्ने युगका हामी, यो पुस्तकका प्रत्येक हरफलाई खुबै श्रद्धाका साथ पढियो। त्यसो हुँदा किताबमा उल्लेख भएका अनेकौँ असंगत तर्कलाई पनि 'होहो', 'होला होला' र 'हुनसक्छ' भन्दै पत्याइयो। त्यसयता दुई चार पटक पुस्तक मेलाहरूतिर जाँदा देवकोटाका बाजेको 'मुना मदन'सँगै खप्तड बाजेको 'विचार विज्ञान' पनि किनियो।
तर, पछिल्लो पटक यो पुस्तकलाई आलोचनात्मक दृष्टिकोणसाथ पढ्ने संयोग खप्तड बाबाले नै लेखेको अर्को पुस्तक 'नारी धर्म र पुरुष धर्म' पढेपछि प्राप्त भयो। सो पुस्तकबारे पछि लेखिनेछ।
यस पुस्तकको प्रारम्भतिर बाबा क्लार्क म्याक्सवेलको विद्युत्–चुम्बक तरंगहरूबारे उल्लेख गर्छन्। यसो गरेर उनी खुबै विज्ञानको बखान गरिरहेको भान दिन खोज्छन्। यस क्रममा उनी 'गाम्मा रे', 'अल्ट्रा भायलेट रे', 'कस्मिक रे' तथा 'म्याटर र इनर्जी' (पदार्थ र शक्ति) बारे कुरा गर्छन्। उनी विचारको सूक्ष्मताको व्याख्या गर्न 'क्वान्टम'समेत उल्लेख गर्न भ्याउँछन्। विज्ञानका आधारभूत तर्क र मान्यता नमान्ने यस पुस्तकले यसो गरेर 'छद्म विज्ञान'को श्रेणीमा दह्रोसँग आफूलाई उभ्याएको छ।
पुस्तकमा भेटिएका केही प्रमुख असंगतिका उदाहरण माथि उल्लेख गरियो। दर्जनौँ ठाउँमा बाबा 'एक विद्वान', 'एउटा विद्वान', 'अर्का महात्मा'को हवाला दिन्छन्, तर कहीँ पनि त्यस्ता विद्वानहरूको नाम उल्लेख गर्दैनन्। बाबा एक ठाउँमा 'यस्ता कैयौँ दृष्टान्त अमेरिकी पत्रिकामा छापिएका छन्' भन्छन्, तर ती कुन पत्रिका हुन् भनेर उल्लेख गर्दैनन्। यस्ता सन्दर्भले यति चर्चित पुस्तकलाई थप हावादारी बनाएको छ। अर्को ठाउँमा 'एउटा प्रसिद्ध डाक्टरको कथन छ कि…' भनेर उल्लेख गर्छन्, तर ती प्रसिद्ध व्यक्तिको त्यहाँ नामसमेत उल्लेख गर्दैनन्।
पुस्तकमा हजारभन्दा बढी ठाउँमा विचार शब्दको प्रयोग गरिएको छ। करिब ४०० ठाउँमा मन शब्द छ। विचारको महत्ता स्थापित गर्न खोज्दै गर्दा उनी बारम्बार एउटै कुरा दोहोर्याइरहन्छन्। यस्तो लाग्छ, करिब १०० पृष्ठको यस पुस्तकको सार खिच्ने हो भने पाँच पृष्ठमै सम्भव छ।
कश्मीरदेखि खप्तड क्षेत्र आएर त्यहाँ लामो समयसम्म ध्यानस्थ भएर शिवनाथ डोगरेले त्यस ठाउँलाई राम्रै गुण लगाएका छन्। पछिल्लो समय त्यस क्षेत्रको पर्यटन बढ्दो छ। बाबाका कारण भएको खप्तडको चर्चा र प्रवर्द्धनको चर्चा अलग हुनसक्छ। तर, धेरै मान्छेहरूले 'मनको विज्ञान' जान्न पढ्नै पर्ने भन्दै चर्चा गरेको र राजा वीरेन्द्रले समेत प्रवर्द्धन गरेको यो बहुचर्चित पुस्तक भने केबल तर्कना र असंगत मनोवाद प्रमाणित हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
