नसोधी तार काटेको भन्दै प्राधिकरणले सोध्यो मेयर शाहलाई स्पष्टीकरण

पूर्वसूचनाबिना फेन्सिङ तार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ।

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ। सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वसूचना नदिई फेन्सिङ तार काटेको भन्दै क्यानले महानगर प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो।

प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा काठमाडौँ–९ मा नगर प्रहरी उपरीक्षक राजु पाण्डेसहितको टोली पठाइ फेन्सिङ तार काटिदिएको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुख शाहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन्।

उक्त क्षेत्रमा नगर प्रहरी उपरीक्षक पाण्डेसहित नगर प्रहरीले मेयर शाहको आदेशअनुसार फेन्सिङ तार काट्न लागिएको भन्दै जबरजस्ती गरेकाले स्पष्टीकरण सोधिएको प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

पत्र प्राप्त भएका मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ। “म्यादभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानूनबमोजिम भई जाने बेहोरासमेत यसै पत्रबाट सूचित गरिन्छ,” लिखित स्पष्टीकरण पेस गर्ने सम्बन्धको पत्रमा भनिएको छ।