अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।
रामपुर– बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ। मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन्।
सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुसालले बताए। “केही सहकारी सञ्चालक र व्यापारीले मनपरी ढंगले अवैध रूपमा मल खरिद बिक्री गर्ने गरेको भेटिएको छ । रामपुर क्षेत्रमा रासायनिक मलको कालोबजारी बढ्न थालेको छ”, उनले भने। उनका अनुसार खेती लगाउने समयमा हरेक वर्ष मलको हाहाकार हुँदा किसानले प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य तिरेर मल खरिद गर्नुपर्ने बाध्यता छ।
“खेतबारीमा बालीनाली लगाउने बेलामा मलको समस्या सधैँ भोग्नु परिरहेको छ। कालोबजारीमा मल खरिद गरी व्यापारीले मनपरी ढंगले बिक्री गरिरहेका छन्। किसान भने चर्को मूल्यमा खरिद गर्न बाध्य छौँ” उनले भने, “पछिल्लो समय लुकिछिपी अवैध रूपमा मल खरिद बिक्री गर्ने गरेको भेटिएको छ।”
रामपुरमा हिजोआज अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।
रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारी संस्थाले सरकारको अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको प्रहरीले फेला पारेर मल फिर्ता गराएको छ। उक्त घटना सेलाउन नपाउँदै ठूलो परिमाणमा प्रहरीले रामपुरबाटै अवैध मल बरामद गरेको छ।
सहकारीले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा वडा प्रहरी कार्यालय वालिङले जेठ १८ गते राति ४० बोरा युरिया मल फेला पारेर नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको मल जेठ १९ गते साँझ रामपुर नगरपालिकालाई प्रहरीले बुझाएको थियो। सहकारीले गरिमा एग्रोलाई प्रतिबोरा रु एक हजार ५० का दरले बिक्री गरेको जनाएको छ।
यही जेठ २७ गते प्रहरीले पाल्पाबाट एक हजार २२ बोरा अवैध युरिया मल बरामद गरेको छ। जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट सो मल एकैदिन प्रहरीले फेला पारेको हो। रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले रामपुरका लागि गाडीमा लिएर आउँदै गरेको तीन सय ७२ बोरा मल जेठ २७ गते बिहान करिब सवा ८ः१५ बजे फेला पारेको थियो।
नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात् तीन सय ७२ बोरा रु दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको थियो। बिलमा क्रेता र पान नं फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ। मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।
सोही दिन दिउँसो रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठा (भाडामा दिइएको सटर) मा अवैध रूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको थियो। सो मल अझै पनि कसले भण्डारण गरेर राखेको छ खुल्न भने सकेको छैन।
रामपुर बेझाड बजारको एक सटरबाट नियन्त्रणमा लिइएको छ सय ५० बोरा (प्रतिबोरा ४५ किलो बराबरको तौल छ) अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।
गत जेठ २९ गते राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा सिल गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको हो। रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि प्रनाउ थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको थियो।
स्थानीय मल वितरण व्यवस्थापन समितिले (हराभरा कृषि सहकारीले बिक्री गरेको मल) जफत गरिएको ४० बोरा युरिया मल रामपुर नगरपालिकाका अन्य बिक्रेतालाई बिक्री गरी आम्दानी नगरपालिकाको राजस्व खातामा जम्मा गरिने निर्णय भएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए। उनका अनुसार तोकिएको कार्य क्षेत्रभन्दा बाहिर सम्बन्धित सहकारी संस्थाको अनुगमन, संयोजक र बिक्रेता कर्मचारीको मिलेमतोमा समितिलाई कुनै जानकारी नदिई मल बिक्री गरिएकाले उक्त बिक्रीमा संलग्न व्यक्तिलाई जिम्मेवारी पदबाट हटाउने र जफत मल बराबरको रकम सम्बन्धित व्यक्तिबाट असुर उपर गर्ने निर्णय समितिले गरेको छ।
चारैतिरबाट रामपुरमा सवारीसाधन भित्रिने तथा यस क्षेत्रलाई मुख्य स्थान बनाएर आवतजावत गर्ने भएकाले पछिल्लो समय अवैध रूपमा विभिन्न माल सामान लुकाएर ल्याउने कार्य बढ्न थालेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। सुरक्षा व्यवस्था कडा पार्नुपर्ने भन्दै सुरक्षाका लागि थप जनशक्ति आवश्यकता पर्ने उनको भनाइ थियो।
“रामपुर अहिले प्रमुख नाकाको रूपमा विकास भएको छ, जनघनत्व बढेसँगै व्यापार व्यवसाय फस्टाउन थालेको छ,” उनले भने, “नगर सरकारले बजार अनुगमन कार्यलाई तीव्रता दिइरहेको छ, कालीगण्डकी करिडोर सडकले जोडेकाले सुरक्षामा पनि चुनौती थपिएको छ।”
निर्माणाधीन कालीगण्डकी करिडोर सडकखण्डको बाटो हुँदै नारायणघाटसँग सिधा रामपुर जोडिएपछि अवैध रूपमा कालोबजारी बढ्न थालेको नगरप्रमुख थापाले बताए। पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको रामपुरमा बस्ती तथा व्यापार व्यवसाय बढ्दै गएको छ। बुटवल, नारायणघाट, पोखरासँग सिधा जोडिएकाले पनि लुकिछिपी अवैध रूपमा कारोबार गर्ने घटना सार्वजनिक हुन थालेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
