अस्ट्रेलियाको संसद्मा सिनेटरमाथि यौन आक्रमण, आरोपी सांसद निलम्बित

अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा परेको पुष्टि गरेको थियो।

एक जना अस्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्।

बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङमा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्। लिवरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित थोर्पेको आरोप छ।

डेभिडलाई उनको दलले निलम्बन गरेको छ। उनले आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उनले उल्लेख गरेका छन्।

आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधै सर्वप्रथम विस्तारै ढोकाबाट हेर्ने, भर्‍याङ र वरपर कोही पुरुष नभएको निर्क्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन्।

संसद्बाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो। आफूले भोग्नुपरेको दुर्व्यवहारको शिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्त्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन्।

सन् २०२१ देखि अस्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ। त्यस बेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाएकी थिइन्।

अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा परेको पुष्टि गरेको थियो। अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जना यौन दुव्र्यवहार झेल्नु परेको थियो जसमा ६३ प्रतिशत महिला सांसद कुनै न कुनै रुपमा यौन हिंसाको शिकार भएका थिए।