टस नै नभई नेपाल र भारतबीचको खेल रद्द

हङकङस्थित  मोंग कोकमा लगातार वर्षाको कारण आउट फिल्ड ओसिलो भएपछि नेपाल र भारतबीचको खेल रद्द भएको छ।

काठमाडौँ– एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल र भारत ‘ए’ बीचको खेल रद्द भएको छ।

हङकङस्थित  मोंग कोकमा बिहीबार बिहान ११:१५ बजेदेखि खेल हुने तय थियो। तर, लगातार वर्षाको कारण आउट फिल्ड ओसिलो भएपछि खेल टस नै नभई रद्द भएको हो। खेल रद्द भएसँगै दुवैले टोलीले अंक बाँडेका छन्।

समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा पकिस्तान ‘ए’सँग पराजित भएको थियो। पाकिस्तानविरुद्ध शानदार बलिङ प्रदर्शन गरे पनि ब्याटिङ नचल्दा नेपाल ९ रनले पराजित भएको थियो। यता, भारतले भने पहिलो खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको थियो।

तालिकामा भारत ३ अंकसहित पहिलो स्थानमा रहेको छ। पाकिस्तानको पनि समान अंक रहेको छ। पाकिस्तानले बिहीबार नै हङकङसँग खेल्ने तय थियो। उक्त खेल पनि वर्षाको कारण हुन सकेन। दोस्रो स्थानमा रहेको पाकिस्तान नेटरनरेटले पछाडि परेको छ।

भारतको ५.४२५ नेटरनरेट छ भने पाकिस्तानको ०.४५० छ। तेस्रो स्थानमा रहेको नेपाल र पुछारमा रहेको हङकङको समान एक अंक छ। नेपालको नेटरनरेट –०.४५० र हङकङको –५.४२५ रहेको छ। नेपालले अन्तिम खेल शनिबार हङकङसँग खेल्ने छ। यो समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।