निहारिकाका छोरा र शिवरामको डीएनए मिल्यो

शिवराज श्रेष्ठसँग नाता सम्बन्ध कायम गर्न र अंश दाबी गर्न चाहेमा त्यसका लागि कानूनी बाटो खुलेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीको भनाइ छ।

महोत्तरी जलेश्वरकी निहारिकासिंह राजपुतका छोरा र बलात्कार आरोपित शिवराज श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले पठाएको प्रतिवेदनअनुसार निहारिकाका छोरा र आरोपित श्रेष्ठको डीएनए मिलेको बताए।

रजिष्ट्रार अधिकारीका अनुसार श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेपछि राजपुतको गर्भ रहेको र पछि छोराको जन्मिएको भन्दै निहारिकाले जाहेरी दिएकी थिइन्। आरोपित श्रेष्ठले भने बच्चा आफ्नो नभएको दाबी थिए।

“अब कानूनबमोजिम जाहेरवालीले नाता सम्बन्ध कायम गर्न र अंश दाबी गर्नका लागि बाटो खुल्यो”, रजिष्ट्रार अधिकारीले भने, “बलात्कारसम्बन्धी दाबीबारे न्यायाधीशको बेञ्चले बोल्छ।”

निहारिका पक्षकी वकिल रिंकु यादवले विधि विज्ञानको रिपोर्टमा बच्चा र श्रेष्ठ डीएनए ९९.९९ प्रतिशत मिलेको उल्लेख रहेको बताइन्। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गत भदौ ८ गते निहारिकाका छोरा र आरोपित श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको थियो।

त्यसअघि जिल्ला अदालत धनुषाले २०७८ माघ २४ मा निहारिकामाथि जबरजस्ती करणी नभएको फैसला गरेको थियो। अदालतको फैसलापछि निहारिका उच्च अदालत पुगेकी थिइन्।