सन्दीपलाई पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार पठाइयो

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

काठमाडौं– नाबालिका बलात्कार मुद्दामा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो।काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले थुनछेक बहस सकिएपछि शुक्रबार इजलासले थुनामा पठाउन आदेश दिएको जानकारी दिए।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको किनारा नलागेसम्म आरोपित लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले बहस गरेका थिए।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाट क्षतिपूर्ति भराउन माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो।

अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ। भदौ ५ गते राति गौशालाको तिलगंगामा रहेको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै लामिछानेविरुद्ध भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।