प्रधानमन्त्रीलाई ओलीको प्रश्न– छिमेकीले सीमावारि फौज राख्दा हामी बोल्न नहुने, यस्तो पनि हुन्छ र?

एमाले अध्यक्ष ओलीले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताएका छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देश तरंगित बनेको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने पहुँचका लागि कालापानी, लिम्पियाधुरा, लिपुलेक सट्टापट्टा गर्न सकिने खालका अभिव्यक्ति दिएको उल्लेख गर्दै पारवहनको विषय सट्टापट्टाको विषय नभई नेपालको अधिकार भएको बताए। “यसमा कुनै सट्टापट्टा हुन सक्दैन,” उनले भने।

उनले बंगलादेश, भुटान, भारत र नेपाल गरी चार वटा देश सम्मिलित संगठनले ढुवानी र आवागमनका लागि यसअघि नै सहमति गरिसकेको स्मरण गराए। उनले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताए।

“बंगलादेशसम्म जाने बाटो पाउनका लागि भन्ने उच्चारण भयो नि आवागमनका लागि, यो नितान्त गलत र नभएको विषयको अत्यन्त कमजोर ढंगले नेपालका तर्फबाट उठ्यो, त्यो पनि प्रधानमन्त्रीजीको भारत भ्रमणको बेला,” उनले भने, “यो आन्तरिक छलफलको विषय होइन, टेबलको विषय होइन, बौद्धिक जगत्सँगको छलफलको विषय होइन। समुद्रसम्म छुने हाम्रो अधिकारीको कुरा हो।” उनले सरकारलाई आफ्नो भूमि अरूलाई दिने अधिकार नहुने उल्लेख गर्दै यसबारे सोच्न पनि नसकिने बताए।

उनले सीमामा देखिएको समस्या समाधानका लागि तथ्य प्रमाणका साथ दृढ भएर भारतीय पक्षसँग कुरा राख्नुपर्ने बताए। सीमा विवादका विषयमा सुगौली सन्धिभन्दा ठूलो प्रमाण अरू नहुने जिकिर गर्दै उनले भने, “प्रधानमन्त्रीज्यूको भारत भ्रमण फितलो रह्यो।” उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको जमिन हो भन्नेमा विवाद नभएको तर अहिले विवादास्पद बनाउन खोजिएको उल्लेख गरे।

उनले सीमा मिचिएको बारे किन बोल्न नपाइने भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्नसमेत गरे। “भन्न नहुने यस्तो पनि कुरा हुन्छ र! सीमा मिचिने, हामी बोल्न नहुने। सीमाभन्दा वरसम्म आएर छिमेकी मित्र राष्ट्रका फौज बस्ने अनि उहाँहरूले भनेको सिमानाभन्दा वर आएर भारतीय फौज बस्यो भन्ने कुराचाहिँ हामीले भन्न नहुने। अनि त्यो कुरा हामीले गर्नका लागि हामीले अड्कली अड्कली, डराइडराई, खटाई खटाइ, सोचविचारी भन्न नसक्ने/बोल्न नसक्ने? म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु,” उनले भने।