नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अदालतमा थुनछेक बहस

सरकारी वकिल कार्यालयका तर्फबाट आठ जनाले बहस गर्ने भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस शुरू हुन लागेको हो।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि अदालतमा थुनछेक बहस शुरू हुँदैछ।

सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता अच्युतमनि नेउपानेले अदालतमा थुनछेक बहस हुन लागेको जानकारी दिए।

उनका अनुसार सरकारी वकिल कार्यालयका तर्फबाट आठ जनाले बहस गर्ने भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस शुरू हुन लागेको हो।

“हामीले बहस शुरू गर्छौं। बहस आज र भोलिसम्म जान्छ होला,” उनले भने, “त्यसपछि प्रतिवादीका वकिलले बहस गर्लान्।” यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएर मुद्दा भएको छ। अहिलेसम्म १७ जना पक्राउ परेका छन्। बाँकी फरार छन्।

प्रतिवादी धेरै रहेकाले उनीहरूका तर्फबाट पनि बहस हुने हुँदा थुनछेक बहस सकिन यो हप्ता लाग्न सक्ने अदालतको अनुमान छ। प्रतिवादीका तर्फबाट बहस भएपछि पुनः सरकारी वकिल कार्यालयका तर्फबाट बहस हुनेछ।

त्यसपछि इजलासले पक्राउ परेकालाई साधारण तारेखमा रिहा गर्ने, धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ। प्रहरीले यो प्रकरणमा दुई महिना लगाएर अनुसन्धान गरेको थियो।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जना विरुद्ध मुद्दा चलाइएको हो। चैत १२ गते यो प्रकरणमा मुख्य तीन जना समातिएपछि ‘हाइप्रोफाइल’ पनि पक्राउ परेका हुन्।