इन्द्रचोकको चोखाछेँ गल्लीभित्रको साँगुरो चोकमा दिनैभरिजसो भीड लाग्छ, महिलाहरूले चलाएको खाजा पसलमा ग्राहकहरू विशेषगरी योमरी, बारा, र चिया खान पुग्छन्।
काठमाडौँ– विगत १७ वर्षदेखि निरन्तर एउटै पेसा गर्दै आएकी छन् चन्द्रदेवी महर्जन। इन्द्रचोकको आकाशभैरव मन्दिरको ठीकपछाडि चोखाछेँ गल्लीमा चन्द्रदेवी प्रायः व्यस्त हुन्छिन्। उनको व्यस्तता देख्दा लाग्छ, उनी समय बितेको पत्तै पाउँदिनन्, या समयसँग मतलब नै राख्दिनन्।
आकाशभैरव मन्दिरको उत्तरतर्फबाट श्रृंगारका सामग्री बेच्ने गल्ली भएर १०० मिटर पश्चितर्फ जाँदा देब्रेपट्टि सानो ढोका छ। ढोकाभित्र साँगुरो चोक, चारैतिर घरले घेरिएको छ। चोकको आधाभन्दा बढी ठाउँ मोटरसाइकल पार्किङले ओगटेको छ। त्यहाँ पूर्व फर्किएको पुरानो जीर्ण काँचो इँटाको घरको ढोकैमा छ चुलो, दनदनी दन्किएको दाउराको आगोमाथि तावा राखेर उनी नेवारी परिकार पकाइरहेकी हुन्छिन्।
चन्द्रमाया मुढामा बसेर अनेक परिकार बनाइरहँदा तावामाथि चलिरहेका उनका हात मेसिनझैँ लाग्छ। उनको त्यही खुला पसलअगाडि याेमरी, बारा र अन्य परिकार खानेको लाइन हुन्छ। चन्द्रमायाले व्यस्तताबीच आफ्ना ग्राहक को पहिला र को पछि आए भन्ने ख्याल गरिरहेकी हुन्छिन्।

चन्द्रमाया विभिन्न किसिमका बारा बनाउँछिन्। अरू दुई महिला योमरी बनाइरहेका हुन्छन्। चन्द्रमाया विशेषगरी योमरी, बारा र नेवारी खाजा सेट तयार गर्छिन्।
हरेक दिन ११ बजेबाट यहाँ चहलपहल शुरू हुन्छ। त्यसपछि व्यस्तता बढ्दै जान्छ र साँझ ६–७ बजेसम्म यो क्रम चलिरहन्छ।
स्कुल पढ्ने विद्यार्थी, गृहणी, विभिन्न संघसस्थामा काम गर्नेहरू तथा विभिन्न ठाउँबाट शहरमा किनमेल गर्न पुगेकाहरू खाजा खान चोखाछेँ गल्ली पुग्छन्। चोखाछेँ चोकमा तीन वटा खाजा पसल छन्। बारा बेच्ने दुई वटा र एउटा चिया पसल। भुईंमा सानासाना मुढा छन्। पुराना बेञ्च मक्किसकेका लाग्छन्। त्यहाँ ग्राहकले जहाँ बसेर पनि जुनसुकै पसलबाट खानेकुरा मगाउन सक्छन्।
दिनको ठिक २ बजेतिर चन्द्रदेवीलाई बोल्ने फुर्सदसमेत थिएन। करिब ३० मिनेटको अन्तरालमा उनका छोरा आइपुगे। अनि, उनले लामो सास फेरिन् र केही फुर्सद पाएझैँ गरी कुुरा गर्न थालिन्।
डेढ दशकअघि उनले पसल चलाउन थाल्दा छोराछोरी सानै थिए। उनीहरूको लागि पालनपोषण गर्ने खर्च जुटाउन पनि नसक्ने परिस्थिति आयो। त्यसपछि पसल गर्ने निर्णय गरेको उनी बताउँछिन्।
“श्रीमानको सल्लाहअनुसार पसल सञ्चालन गर्ने निर्णय गर्यौँ। छोराछोरी स्कुल जान्थे, हामी पसलमा बस्थ्यौं। दुवै हुँदा सजिलो थियो,” उनी भन्छिन्।

माइतीको सहयोगमा उनले तीन केजी दालबाट आफ्नै घरमा बारा बनाउन शुरू गरेकी थिइन्। चोकबाट भित्र भएको कारण केही समय व्यापार भएन। तर, आफ्नो कामलाई निरन्तरता दिन छाडिनन्। केही समयपछि मासिनहरू आउन थाले। विस्तारै व्यापार राम्रो हुँदै गयो।
“हार नमानेर आफ्नो कामलाई निरन्तरता दिँदै गयांैभने एक दिन अवश्य सफल भइने रहेछ,” उनी भन्छिन् “यो मैले गरेर, भोगेर मभित्र जन्मेको विश्वास हो।”
केही समयको मेहनतपछि काममा सफलता मिल्दै थियो। त्यसैबीचमा भूकम्प गयो। घर भत्कियो। व्यापार बन्द भयो।
भूकम्प भुलेर मानिसहरूको दैनिक फर्कियो। फेरि पसलमा ग्राहक आउन थाले। तर, यही बेला अर्को बज्रपात पर्यो।
२०७४ सालमा श्रीमानको मृत्यु भयो। जीवनमा अर्काे दुःख थपियो। श्रीमानको मृत्युपछि छोरीले पढ्न छोडेर आफ्नो खुशीले विवाह गरिन्। छोराले १२ पछि पढ्न छाडे, अहिले त्यही पसलमा सहयोग गर्छन्।
“अहिले घरमा आमाछोरा छौँ। खाना बस्न कुनै गाह्रो छैन। छोराले पढ्न नमानेपछि कर गरिनँ,” चन्द्रमायाले बनाएको परिकार प्लेटमा राख्दै भनिन्, “जसलाई जे गर्दा खुशी मिल्छ, उसलाई त्यही गर्न दिनुपर्छ भन्ने सोच हो।”
भूकम्प जानुभन्दा पहिले ग्यासबाट नै बारा बनाएर बेच्ने गर्थिन्। भूकम्प लगत्तै भारतले नाकाबन्दी लगाइदियो, अनि व्यापार बन्द भयो।
ग्यास किन्ने उपाय हुनछाड्यो। त्यसपछि दाउरा बालेर बारा पकाउन थालिन्। दुई पट्टी इँटा, बीचमा गोलो आकारको फलामे ताबा राखेर बारा पकाइन्। अहिले पनि त्यसैलाई निरन्तरता दिँदै आएकी छन्।
“जबसम्म मैले काम गर्न सक्छु, त्यो बेलासम्म यसरी नै पकाउँछु,” उनी भन्छिन्, “नयाँ पुस्तालाई पनि त देखाउनु पर्याे आगो के हो चुलो कस्तो हुन्छ भन्ने कुरा।”
हाम्रा परम्परागत चलन र परिकारहरू बिस्तारै लोप हुँदै गएकोमा उनलाई चिन्ता छ। त्यसलाई जोगाउनकै लागि पनि उनी आगोको चुलो प्रयोग गरिरहेको बताउँछिन्।
दिनप्रति दिन मानिहरू बढ्दै गएको र व्यापार पनि राम्रो हुँदै गएकाले यसलाई निरन्तरता दिने सोच बनाएको चन्द्रदेवीको भनाइ छ। छोरा जोन पनि आमाले गरेको पेसालाई निरन्तरता दिने र यसैलाई अझै व्यवस्थित बनाउने सोचमा छन्।

चोखाछेँकी मन्दिरा महर्जन (३५) ले यसै गल्लीमा पसल गरेको २० वर्ष भयो। पहिले श्रीमानले, साथीहरूसँग मिलेर जमलमा पसल सञ्चालन गरेका थिए। श्रीमानले पसल छाडेपछि आफूले यसलाई निरन्तरता दिँदै आएको मन्दिरा बताउँछिन्।
शुरूमा बाराबाट शुरू गरेकी उनले अहिले योमरी पनि बेच्छिन्। पहिले दुःख गरे अनुसारको व्यापार थिएन।, अहिले चार जनाको परिवार पाल्न कुनै गाह्रो नभएको उनको भनाइ छ।
“पहिले दिनभर तातोमा बस्यो, रोगी भयो, व्यापार पनि खासै थिएन्,” उनी भन्छिन् “अहिले दिनमा २०–२५ हजारको व्यापार हुन्छ।”
उनी ७ बजे पसल बन्द गर्छिन्। त्यसपछि भोलिपल्टका लागि सामग्री तयार पार्छिन्। अनि मात्र सुत्न पाइने उनको भनाइ छ।
यहाँ पसल चलाउने चन्द्रदेवी महर्जन र मन्दिरा महर्जन एउटै परिवारका सदस्य हुन्। घर पनि जोडिएको छ। तर, पसल बेग्लाबेग्लै हो। उनीहरूबीच कुनै प्रतिस्पर्धा छैन्। दुवै आ–आफ्नो काममा व्यस्त हुन्छन्। एकअर्कासित बोल्ने फुर्सदसमेत बिरलै पाउँछन्।
सानो क्षेत्रमा रहेको योमरी र बारा पसलसँगै भूमिका रिमालको चिया पसल छ। दुई पसलको ठ्याक्कै विपरीत दिशा पश्चिमतर्फको पर्खालमा जोडिएको छ, भूमिकाको चिया पसल। उनी चाहिँ चिया, रोटी बनाउँछिन्। उनको पसल बिहान ६ बजे नै खुल्छ।
झापामा जन्मिएकी भूमिका (४०) विवाहपछि चोखाछेँ आएकी हुन्। उनको घरमा चार जना परिवार छन्।

पहिले भूमिका कुनै कार्यालयमा खाजा बनाउने काम गर्थिन्। “सधैँ अरूको काम गर्नुभन्दा जानेको काम आफैँले किन नगर्ने भन्ने सोचले सुरू गरेँ” उनी भन्छिन् “एक्लै बस्नुभन्दा यहाँ आम्दानीसँगै समयको सदुपयोग पनि भएको छ, धेरै जनासँग कुराकानी गर्न पाउँदा रमाइलो पनि लाग्छ।”
उनले चिया पसल राखेको पाँच वर्ष भयो। यहाँबाट आएको आम्दानीले घरखर्चमा केही सहयोग पुगे पनि छोराछोरीले आफैँ काम गरेर पढ्ने खर्च जुटाउने गरेको उनले बताइन्।
“सानो ठाउँ छ, तर पनि सबै मिलेर बस्छौँ। तीन वटा पसलमा जहाँ आए पनि बस्नको लागि तेरो मेरो भन्ने छैन। ग्राहकहरू आएर जहाँ बसे पनि हुन्छ,” भूमिकाले भनिन्, “यति सानो ठाउँ छ, त्यसमा पनि आधा त पार्किङ नै छ।”
लाजिम्पाटकी राममाया सुनुवार (३०) इन्द्रचोक नजिकै एउटा पसलमा काम गर्छिन्। “घरबाट खाजा बोकेर आउने कुरा हुँदैन। खाजा खाने थोरै समयमा निकालेर सधैँ यहीँ आउँछु।” राममायाले भनिन्।
भक्तपुरकी प्रमिला श्रेष्ठ (२२) कलेजको छुट्टीपछिको समय मिलाएर योमरी र बारा खानकै लागि यहाँ आउने बताउँछिन्। “म नेवार भए पनि यस्ता खाने परिकार हाम्रो घरमा पाक्दैन,” उनी भन्छिन्, “योमरी र बाराको स्वाद कस्तो हुन्छ भन्ने कुरा नै पहिलोपटक यही आएर थाहा पाएँ।”
योमरी

नेवारी भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई हो। सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको हो। यहाँ दुई किसिमको योमरी बनाइन्छ। अण्डाकार रूपमा बनाइएको पीठोभित्र चाकु, तिलको मिश्रण राखेर र खुवा हालेर।
बारा

मास वा मुगीलाई पकाउन एक दिनअघि पानीमा भिजाएर राखिन्छ। त्यसपछि सिलौटो वा ग्याण्डर मेसिनमा राखेर पिस्ने। पिसेको मास वा मुगीमा पिसेको अदुवा, स्वादअनुसार नुन राखिएको हुन्छ। त्यसपछि तावामा हल्का तेल राखेर रोटी जस्तै गरी पकाइन्छ।
बाराका प्रकारहरू चटामरी बारा ,अण्डा बारा, किमा बारा र आलु बारा जस्ता धेरै प्रकारका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
