एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट, अध्यक्ष ओली खलंगा आउँदै

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरू गर्दैछन्। बिहान ११ बजे उनले खलंगामा अभियानको उद्घाटन गर्ने भएका हुन्।

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सभालाई सम्बोधन गर्न उनी केहीबेरमा सदरमुकाम खलङ्गा आउँदैछन्। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरू गर्दै छन्। बिहान ११ बजे उनले खलंगामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए। कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुगेका छन्।

अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने कार्यक्रम छ। उनले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ। यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए।