‘अदालतको प्रक्रिया नटुंगिएसम्म सन्दीपको विदेश भ्रमण निश्चित हुँदैन। एक साताभित्रै अदालती प्रक्रिया छ, त्यसमा उनी उपस्थित हुनुपर्छ,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने।
काठमाडौँ– लेग स्पिनर सन्दीप लामिछानेको विदेश भ्रमण अनिश्चित बनेको छ। जबरजस्ती करणीसम्बन्धी मुद्दा खेपिरहेका सन्दीपलाई जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोट र त्यसअघि दक्षिण अफ्रिकामा हुने 'वामअर्प म्याच'का लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोलीमा समेटेको छ। तर, काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दाको पेसी तोकिएको दिन उपस्थित हुनुपर्ने या २१ दिनभित्र हाजिर हुनुपर्ने बाध्यताका कारण सन्दीप नेपाली टोलीबाट खेल्न विदेश जान पाउँछन् या पाउँदैन स्पष्ट छैन।
यसै दुविधाबीच उनले सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिका प्रस्थान गर्ने नेपाली टोलीलाई शुभकामना दिएका छन्। “मलाई तपाईंहरू र तपाईंहरूको क्षमतामा विश्वास छ। तपाईंहरू सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइ सक्नुभएको छ। अब समय आएको छ कि तपाईंहरूले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने। जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला। टिमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा,” उनले लेखेका छन्।
पछिल्लो केही महिनादेखि सन्दीपविरुद्धको मुद्दा नियमित पेसीमा चढिरहेको छ। काठमाडौँ जिल्ला अदालतमा मंगलबार पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थियो। तर, जिल्ला न्यायाधीश शंकरबहादुर राईले मूल मुद्दाको सुनुवाइ गरेनन्। उनले पीडित नाबालिगका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएका थिए। त्यसपछि सुनुवाइ रोकिएको थियो।
यसअघि फागुन १५ गते अन्तरिम राहत माग गर्दै परेको निवेदनमा इजलासबाट राहत दिनु नपर्ने बताइएको थियो। इजलासले सन्दीपविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेस भइसकेको भन्दै तत्काल अन्तरिम राहत जारी गर्नु नपर्ने आदेश दिएको थियो।
सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। “अदालतको प्रक्रिया नटुंगिएसम्म सन्दीपको वैदेशिक भ्रमण निश्चित हुँदैन। एक साताभित्रै अदालती प्रक्रिया छ। त्यसमा उनी उपस्थित हुनुपर्छ। त्यसैले उनलाई यो भ्रमणमा राख्न सकिएन,” उनले भने।
नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमसँग चार वटा अभ्यास खेल खेल्ने तालिका छ। त्यसपछि नेपाली टोली जिम्बावे प्रस्थान गर्ने छ। जिम्बावेमा एक दिवसीय विश्वकप छनोटका खेलअघि नेपालले ओमान र यूएईसँग दुई 'वामअर्प' म्याच खेल्ने छ। यी खेल जेठ ३० र ३२ गते हुने छ।
त्यसपछि विश्वकप छनोटमा सहभागिता जनाउने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गत मंगलबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूह 'ए' मा वेस्ट इन्डिज, जिम्बावेसँगै नेदरल्यान्ड्स र अमेरिका छन्। छनोट प्रतियोगिता आगामी जुन र जुलाईमा जिम्बावेमा हुँदैछ। नेपालले जिम्बावेसँग पहिलो खेल असार ३ गते हरारेमा खेल्ने छ।
यस्तै, दोस्रो खेल यूएईसँग असार ५ गते ताकासिंगामा खेल्ने छ। त्यसपछि वेस्ट इन्डिजसँग हरारेमा असार ७ गते र नेदरल्यान्ड्ससँग असार ९ गते ताकासिंगामा अन्तिम खेल खेल्ने छ।
समूह 'बी'मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स'मा प्रवेश गर्ने छन्।
सुपर सिक्सका टोलीले एक अर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोली छनोट प्रतियोगिताको फाइनलमा पुग्ने छन्। ती दुई टोली आउँदो वर्ष भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
